बैंककको बार आगलागी : मृतकको संख्या ३० पुग्यो, थालियो सुरक्षा कमजोरीबारे अनुसन्धान
थाइल्यान्ड : थाइल्यान्डका अधिकारीहरूले आइतबार राति बैंककको एक बारमा भएको भीषण आगलागीमा लापरवाहीका कारण घटना भएको हो कि होइन भन्ने विषयमा अनुसन्धान थालेका छन् । घटनाबाट बाँचेकाहरूले ढोका बन्द गरिएको र आपतकालीन निकास देखाउने संकेतहरू नरहेको बताएका छन् ।
प्रहरीका अनुसार सजावटका लागि प्रयोग गरिएका सजिलै बल्ने सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको हुनसक्छ । आगो स्टेज नजिकबाट सुरु भएको बताइएको छ । प्रहरी प्रमुख जनरल कित्तिरात फानफेतले भने, ‘यसले ग्राहकहरूको सुरक्षाप्रति सावधानी नअपनाइएको र बेवास्ता गरिएको देखाउँछ ।’
यस आगलागीमा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका छन् । उद्धारकर्मीहरूले धेरै मृतकहरू बारको अन्तिम भागमा रहेको शौचालय क्षेत्रमा फेला पारेका थिए । विशेषज्ञहरूका अनुसार उनीहरू आगोबाट बच्न त्यतातिर भागेका थिए, तर बाहिर निस्कन सकेनन् ।
अधिकारीहरूका अनुसार मंगलबार बिहानसम्म मृत्यु भएका २७ जनाको पहिचान भइसकेको छ । ७० भन्दा बढी मानिस घाइते भएका छन्, जसमध्ये २४ जनाको अवस्था गम्भीर छ । प्रारम्भिक अनुसन्धानले एयर कन्डिसनरमा भएको सर्ट सर्किटका कारण आगो लागेको हुनसक्ने देखाएको छ, जसले बारभित्रको विद्युत् आपूर्ति तुरुन्तै बन्द गराएको थियो ।
प्रतिक्रिया दिनुहोस !