विराटनगर आगजनीका मुख्य अभियुक्त रिहा

विराटनगर आगजनीका मुख्य अभियुक्त रिहा
सुन्नुहोस्

विराटनगर : जेनजी आन्दोलनको आवरणमा २०८२ साल भदौ २४ गते विराटनगरमा भएको आगजनी, तोडफोड र लुटपाट घटनाका मुख्य अभियुक्त ताजिम अन्सारी उच्च अदालत विराटनगरको आदेशपछि रिहा भएका छन्। 

जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि मोरङ कारागार चलान भएका अन्सारीलाई उच्च अदालत विराटनगरले उक्त आदेश बदर गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो। उच्च अदालतका न्यायाधीश ध्रवराज नन्द र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले असार २५ गते दिएको आदेशअनुसार उनी सोमबार रिहा भएका हुन्। जिल्ला अदालत मोरङका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले असार १२ गते अन्सारीलाई नापी कार्यालयमा भएको आगजनी तथा तोडफोडसम्बन्धी मुद्दामा थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो। त्यसविरुद्ध अन्सारीले उच्च अदालतमा थुनछेक आदेशविरुद्ध निवेदन दिएका थिए। 

उच्च अदालतका सूचना अधिकारी सन्तोष पोखरेलका अनुसार उच्चले जिल्लाबाट भएको थुनाको आदेश बदर गर्दै नापी कार्यालयसँग सम्बन्धित मुद्दामा ३ लाख रुपैयाँ धरौटी माग गरेको छ। साथै, जिल्ला अदालतले जिल्ला सरकारी वकिल कार्यालयमा भएको आगजनी तथा तोडफोडसम्बन्धी मुद्दामा यसअघि नै तोकेको ३ लाख रुपैयाँ धरौटीको आदेश भने सदर गरेको छ। यससँगै दुवै मुद्दामा ३–३ लाख गरी कुल ६ लाख रुपैयाँ बराबरको धरौटी कायम भएको पोखरेलले बताए।

जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार अन्सारीले नगद धरौटी बुझाएका होइनन्। ६ लाख रुपैयाँ बराबरको जेथाजमानी राखेपछि सोमबार उनी रिहा भएका हुन्। बुढाथोकीका अनुसार उच्च अदालतको आदेश असार २५ गते भएको भए पनि त्यसको चार दिनपछि सोमबार जेथाजमानी पेस गरेपछि अन्सारी कारागारबाट छुटेका छन्। 

प्रहरीको अनुसन्धानले अन्सारी आगजनी तथा तोडफोड घटनाको नेतृत्वकर्ता रहेको पत्ता लागेको थियो। उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मोरङले नापी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयमा भएको आगजनी तथा तोडफोडसँग सम्बन्धित दुईवटा छुट्टाछुट्टै आपराधिक उपद्रवका मुद्दा जिल्ला अदालतमा दर्ता गरेको थियो। 

नापी कार्यालयसँग सम्बन्धित मुद्दामा थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतले सरकारी वकिल कार्यालयसँग सम्बन्धित मुद्दामा भने ३ लाख रूपैयाँ धरौटी माग गरेको थियो। उच्चले थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरे पनि धरौटी माग गर्ने अर्को आदेश भने सदर गरेको हो। उच्चकै आदेशपछि उनको धरौटीबापत ६ लाख रूपैयाँ कायम भयो। 

जेनजी आन्दोलनको आवरणमा विराटनगरस्थित कोशी प्रदेशसभा सचिवालय, प्रदेशसभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश प्रमुखको कार्यालय तथा निवास, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, उच्च अदालत, नापी कार्यालय, आन्तरिक राजस्व कार्यालय, विराटनगर महानगरपालिका, वडा कार्यालयहरू, विभिन्न सरकारी कार्यालय, निजी घर तथा भाटभटेनी सुपरमार्केटमा आगजनी, तोडफोड र लुटपाट गरिएको थियो। 

केही सरकारी कार्यालयमा भएको आगजनी र तोडफोडको नेतृत्व अन्सारीले गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ। प्रहरीले अन्सारीसहित ६ जनालाई २०८२ साल मंसिर १४ गते पक्राउ गरेको थियो। तर, अदालतमा मुद्दा दर्ता हुनुअघि उनीहरू हाजिरजमानीमा छुटेका थिए। 
पछि मुद्दा दर्ता हुँदाका समयमा अन्सारीलगायतका अभियुक्तहरू अदालतमा उपस्थित नभएकाले जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूलाई फरार प्रतिवादी कायम गर्दै मुद्दा दर्ता गरेको थियो। अदालतले अन्सारीविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरेको थियो। 

लामो समय फरार रहेका अन्सारी अन्ततः आफैं अदालतमा उपस्थित भएपछि बयान र थुनछेक बहस भएर कारागार चलान भएका थिए। आगजनी, तोडफोड र लुटपाट घटनामा संलग्न अभियुक्तहरुविरुद्धको आपराधिक उपद्रव मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.