इरान युद्धमा अमेरिकाको खर्च ३७.५ अर्ब डलर पुग्यो

इरान युद्धमा अमेरिकाको खर्च ३७.५ अर्ब डलर पुग्यो
सुन्नुहोस्

वालिङ्टन डीसी : इरानसँगको युद्धका लागि अमेरिकाको खर्च हालसम्म करिब ३७.५ अर्ब अमेरिकी डलर (करिब २८ अर्ब पाउन्ड) पुगेको छ। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले मङ्गलबार सेनेट विनियोजन समितिमा उपस्थित हुँदै गत मे महिनामा गरिएको अनुमानभन्दा युद्धको खर्च झन्डै ८ अर्ब डलरले बढेको जानकारी दिएका हुन्। 

अमेरिका र इरानबीच पुनः सैन्य द्वन्द्व चर्किएपछि पहिलोपटक संसदीय सुनुवाइमा पुगेका रक्षामन्त्री हेगसेथले कंग्रेस संसदले तत्काल थप बजेट स्वीकृत नगरे अमेरिकी सेनाको तालिम कार्यक्रमहरू कटौती गर्नुपर्ने स्थिति आउने चेतावनी दिएका छन् । उनले पेन्टागनका लागि ८७ अर्ब डलरको थप बजेट माग गरेका छन्, जसमध्ये ६७ अर्ब डलर मध्यपूर्वमा सञ्चालित सैन्य कारबाहीका लागि छुट्याइने बताइएको छ।

आफ्नो भनाइ राख्दै रक्षामन्त्री हेगसेथले विश्व परिस्थिति खतरनाक मोडमा पुगेकाले अमेरिकाले साहसिक र द्रुत कदम चाल्नुपर्ने तर्क गरे । बजेट अभाव भएमा सैनिकहरूको नियमित तलब भुक्तानी, हतियार तथा गोलाबारुदको द्रुत आपूर्ति र सैन्य कारबाही सञ्चालनमा गम्भीर सङ्कट आउने उनको भनाइ थियो।

यसैबीच, ह्वाइट हाउसले आगामी आर्थिक वर्षका लागि पेन्टागनको कुल बजेट १.५ ट्रिलियन (१५ खर्ब) डलर पुर्‍याउन कंग्रेससमक्ष प्रस्ताव गरेको छ। यो आधुनिक इतिहासकै सबैभन्दा उच्च अमेरिकी सैन्य बजेट हुनेछ।

  • गत मे महिनाको अनुमानभन्दा युद्धको खर्च करिब ८ अर्ब डलरले वृद्धि
  • संसदीय सुनुवाइमा अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्ध प्रदर्शनकारीको नाराबाजी
  • बजेट पारित नभए सैनिक तालिम कटौती गर्नुपर्ने पेन्टागनको चेतावनी

सुनुवाइक्रममा सत्तारूढ रिपब्लिकन पार्टीकै सिनेटर सुसान कलिन्सले बजेट नमिलेमा पर्ने प्रभावबारे प्रश्न गरेका थिए । जवाफमा हेगसेथले पूर्वराष्ट्रपति जो बाइडेन प्रशासनका कारण सेनामा बजेटको कमी भएको आरोप लगाउँदै थप रकम नपाए तालिमहरू कटौती हुने बताए ।

विपक्षी डेमोक्र्याट सांसदहरूले भने यो बजेट मागको विरोध गरेका छन्। विनियोजन समितिकी वरिष्ठ डेमोक्र्याट सिनेटर प्याटी मरेले ट्रम्प प्रशासनले सामान्य बजेट प्रक्रियालाई मिच्न खोजेको आरोप लगाईन् ।

त्यस्तै, न्युयोर्ककी डेमोक्र्याटिक सिनेटर किर्स्टेन गिलिब्राण्डले सामान्य नागरिकले परिवार पाल्न धौ-धौ भइरहेका बेला प्रशासनले 'बमका लागि असीमित बजेट' मागिरहेको भन्दै आक्रोश व्यक्त गरे। राष्ट्रपति ट्रम्पले युद्ध जितिसकेको दाबी गरिरहेको सन्दर्भ जोड्दै उनले अर्बौँ डलर थप माग्नुको औचित्यमाथि प्रश्न उठाए।

कंग्रेसको तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) बिहीबारदेखि बिदामा जाने र सेप्टेम्बर अघि दुवै सदनको संयुक्त बैठक नबस्ने भएकाले पेन्टागनले तत्काल यो बजेट पाउने सम्भावना न्यून देखिन्छ। यसैबीच, अमेरिकी रक्षा मन्त्रालयले इराक र जोर्डनमा भएका सैन्य कारबाहीका क्रममा थप तीन अमेरिकी सैनिकको मृत्यु भएको पुष्टि गरेको छ। गत फेब्रुअरी २८ मा इरानसँग युद्ध सुरु भएयता हालसम्म १८ जना अमेरिकी सैनिकले ज्यान गुमाइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.