गोरखामा भेटियो गोरखा दरबारभन्दा पुरानो मल्लकालीन मन्दिरको भग्नावशेष

गोरखामा भेटियो गोरखा दरबारभन्दा पुरानो मल्लकालीन मन्दिरको भग्नावशेष
सुन्नुहोस्

गोरखा : गोरखामा गोरखा दरबारभन्दा पुरानो(मल्लकालीन) मन्दिर फेला परेको छ। गोरखा नगरपालिका-१० छेपेटारमा पुरातत्व विभागले दुईवर्ष अघि र यो वर्ष गरेको उत्खननबाट त्यहाँ भेटिएको भग्नावशेष मल्लकालीन महादेव मन्दिरको पुष्टि भएको हो। 

भग्नावशेषमा भेटिएका तथ्य र प्रमाणका आधारमा सो मन्दिर मल्लकालको अन्तिमतिरको भनेर पुष्टि भएको पुरातत्वविद यमुना महर्जनले जानकारी दिइन्। इँटाको आकार तथा बनोट, मन्दिरको छानेशैली, घेराबार र मन्दिरको गर्भगृह, पेटीढुंगा आदिका आधारमा मल्लकालीन मन्दिर हो भनेर किटान गरिएको महर्जनले जानकारी दिइन्। 

महर्जनको नेतृत्वको टोलीले यहाँ नौ दिनसम्म उत्खनन गरेको थियो।स्थानीय महादेवस्थान संरक्षण तथा विकास समितिले सो क्षेत्रमा लट्टेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि जग खन्ने क्रममा पुरातात्विक संरचनाको भग्नावशेष फेला परेको थियो। ‘यहाँ मन्दिर निर्माण गर्न जेसिबी लगाएर जग खन्दा पुरानो खालको इँटाको गारो फेला पर्‍यो’, समितिका अध्यक्ष कमल पोखरेलले भने, ‘त्यसपछि काम रोकेर हामीले पुरातत्व विभागलाई खबर गर्‍यौँ। पुरातत्व विभागले त्यसको एक वर्षपछि अनुसन्धान टोली खटाएर स्थलगत अध्ययन गरेको थियो। त्यो चरणको अध्ययनपछि बाँकी अध्ययन यो वर्ष गरिएको छ।’ उत्खननबाट रोचक तथ्यहरू भेटिएको उनले जानकारी दिए।

अहिले सबै भग्नावशेषको उत्खनन भएको विभागले जनाएको छ। ‘हामीले ९ दिन लगाएर उत्खनन गर्‍यौँ’, विभागकी अधिकृत यमुना महर्जनले भनिन्, ‘यहाँ सात मिटर लम्बाइ, सात मिटर चौडाइ भएको गारोभित्र ७.१० मिटर लम्बाइ, १८ इन्च चौडाइ भएको अर्को गर्भगृह भेटियो। यहाँ प्रयोग भएको इँटाको साइज, थाम राख्न प्रयोग भएका बेस ढुङ्गा तथा पेटीका ढुङ्गाको अध्ययन गर्दा यो छाने शैलीको मन्दिर मल्लकालीन भएको हाम्रो निष्कर्ष छ।’ 

यहाँ केही वर्षअघिसम्म लट्टेश्वर(लाटा महादेव)मन्दिर थियो। त र यो भग्नावशेष लट्टेश्वर वा कुन महादेव मन्दिरको हो भनेर किटान गर्न नसकिने पुरातत्वविदहरुको भनाइ छ। ‘कुन महादेवको मन्दिर हो भनेर चिन्न लिखित अभिलेख चाहिन्छ। अहिलेसम्म त्यस्तो कुनै अभिलेख नभेटिएकाले किटान गर्न सकिएको छैन’, यमुना महर्जनले बताइन्। 

अघिल्लो वर्ष र यो वर्ष गरिएको उत्खनन्पछि अब उत्खननको काम सम्पन्न भएको पुरातत्व शाखा प्रमुख भाष्कर ज्ञावलीले जानकारी दिए। ‘अब यो उत्खननको रिपोर्ट तयार हुन्छ। त्यसपछि यसको संरक्षण गर्ने प्रक्रिया अघि बढाउँछौँ’, उनले भने, ‘उत्खनन गरिएको भग्नावशेषमा नयाँ निर्माण गर्ने काम पुरातत्व विभागले गर्दैन।’ संरक्षण मात्र गरिनेमा उनले जोड दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.