महिला सांसदले भने,‘मिडियामा हाम्रा मुद्दा ओझेल परे’
काठमाडौं : संसदमा महिला सांसदले पठाएका मुद्दालाई मिडियाले प्राथमिकता नदिएको भन्दै महिला सांसदले असन्तुष्टि पोखेका छन्। संसद सचिवालयद्वारा शुक्रबार आयोजित पत्रकार र महिला सांसद अन्र्तक्रियामा सांसदले सञ्चार क्षेत्र महिलामैत्री हुनुपर्ने बताएका हुन्। उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले प्रेसले महिला सांसदलाई उचित स्थान दिनुपर्ने धारणा राखिन्।
नेकपाका नेतृ पम्फा भूसालले संसदमा महिलाले महत्वपूर्ण नीतिगत र विकास निर्माणबारे आवाज उठाए पनि सञ्चार माध्यममा उचित स्थान नपाएको बताइन। कांग्रेसकी उमा रेग्मीले महिला सांसदलाई पनि राष्ट्रिय नीति निर्माणका मुद्दामा सञ्चार जगतले स्थान दिनुपर्नेमा जोड दिइन्।
रामकुमारी झांक्री, प्रमिला राई, हिरा गुरुङ्गलगायत सांसदले सञ्चार माध्यममा महिला सांसदको पहुँच नहुँदा उनीहरुले उठाउने मुद्दा पनि ओझेलमा पर्दै गएको गुनासो पोखे। कार्यक्रममा पत्रकार टंक पन्त र अन्नपूर्ण पोष्टका वरिष्ठ संवाददाता नरेन्द्र साउदले महिला सांसदका मुद्दा र प्रेसको भूमिकाबारे सांसदलाई जानकारी गराएका थिए।