हिमाल चढ्न प्रयोग हुने अक्सिजन नै गुणस्तरहीन

हिमाल चढ्न प्रयोग हुने अक्सिजन नै गुणस्तरहीन

काठमाडौं : उच्च हिमाली क्षेत्रको आरोहण यसै पनि जोखिमपूर्ण हुन्छ । त्यसमाथि आरोहणमा जाँदा प्रयोग गरिने अक्सिजन गुणस्तरहीन भइदियो भने अवस्था कस्तो होला ?       तर यहाँ भइरहेको छ यस्तै । हिमाल आरोहरणमा जाँदा प्रयोग गरिने अक्सिजन बिक्रीवितरणमा ठगी गर्ने गरेको पाइएको छ ।

उचाइमा लाग्ने ‘लिक्विड अक्सिजन’को सट्टा कम गुणस्तरका मेडिकल अक्सिजन प्रयोग गर्दै आरोहीसँग अधिक मूल्य लिइँदै आएको छ । मापदण्डबिना अक्सिजन कारोबार गर्ने कम्पनीसँग मिलेर ट्रेकिङ कम्पनीले आरोहीलाई लिक्विड अक्सिजनको सट्टा मेडिकल अक्सिजन सिलिन्डर प्रयोग गर्न लगाउने गरेको पाइएको छ ।

गुणस्तरहीन अक्सिजन प्रयोग गरी आरोहीसँग ट्रेकिङ कम्पनीहरूले चारदेखि पाँच सय डलरसम्म असुल गर्दै आएका छन् । मेडिकलमा पाइने सामान्य अक्सिजन हिमालमा प्रयोग गरिने लिक्विड अक्सिजनको बोतलमा भरेर ठगी गर्ने गरेको पाइएको हो । हिमालमा प्रयोग हुने लिक्विड अक्सिजनको ड्यू पोइन्ट मोइस्चर माइनस ६० डिग्री हुनुपर्छ । त्यो मेडिकल अक्सिजनमा नपाइने लिक्विड अक्सिजन व्यवसायी एवं एसडी ग्यासका प्रमुख डा. दिवश अमात्यले बताए । ‘हिमालको बाहिरी तापक्रम पनि चिसो हुँदा सिलिन्डरमा प्रेसर बढी भएर सीमित मात्रामा काम दिने भएका कारण आरोहीको जीवनमाथि नै एजेन्सीहरूले खेलवाड गर्दै आएका छन्’, एक आरोहीले नाम नबताउने सर्तमा भने । ६० प्रतिशतभन्दा बढी गुणस्तरहीन अक्सिजन प्रयोग गरेर ठगी हुने गरेको उनको दाबी छ । गुणस्तर नभएपछि अक्सिजनले ‘क्याम्प-२’ भन्दा माथि कामै नदिने गरेको उनको आरोप छ ।

लिक्विड अक्सिजनको मापदण्ड पूरा हुन माइनस १ सय ८३ डिग्री हुनुपर्ने डा. अमात्यले बताए । एसडी ग्यास कम्पनीले अहिले रसियन सर्भिस सेन्टरसँग सहकार्य गरेर ४० डलरमा लिक्विड अक्सिजन सिलिन्डर भर्दै आएको छ । तर ट्रेकिङ कम्पनीहरूले भने आरोहीलाई गुणस्तरहीन अक्सिजनकै लागि चारदेखि पाँच सय डलरसम्म असुल गर्दै आएका छन् । एक आरोहीले प्रयोग गरेको सिलिन्डर पुनः फर्काएर अर्को वर्ष आरोहीलाई बिक्री गरिँदै आएको छ । त्यसमा पनि राज्यले अनुगमन गर्न सकेको छैन ।

मापदण्डबिनाका पुराना सिलिन्डर प्रयोग गरेर आरोहीको स्वास्थ्यमाथि गम्भीर खेलवाड हुने गरे पनि नियमन नहुँदा बर्सेनि सयौं आरोहीले सास्ती खेप्न बाध्य छन् । विदेशीले आरोहणका क्रममा ल्याएका अक्सिजनका सिलिन्डर नै नेपालमा प्रयोग हुँदै आएका छन् । अहिले टोपआउट, पोइक्स, समिटलगायत नामका ६ हजारभन्दा बढी सिलिन्डर प्रयोगमा छन् । त्यसमा पनि तीन हजारभन्दा बढी २० वर्ष पुराना सिलिन्डर छन् ।

केही वर्षदेखि नेपालमै सस्तो पर्ने भन्दै विदेशबाट अक्सिजन ल्याउन छाडिएको छ । तर नेपालमा प्रयोग भए पनि सरकारले करको दायरामा नल्याउँदा मनलाग्दी मूल्य तोकेर लुट मच्चाउने गरेको पाइएको हो ।

सरकारले अक्सिजन प्रयोगको नियमन एवं मापदण्डसमेत निर्धारण गर्न सकेको छैन । अक्सिजन प्राविधिक विषय भएको र आधारशिविरभन्दा माथि प्रयोग हुने गरेकाले स्थलगत अनुगमन हुन नसकेको पर्यटन विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले बताए । अक्सिजन प्रयोगमा कानुनी मापदण्डभन्दा बाहिर रहेको पाइए तत्काल छानबिन गरी कारबाही थाल्ने उनको भनाइ छ । विभागले प्रत्येक आरोहीलाई अक्सिजन लिएर जान ब्रिफिङमै निर्देशन दिने गरेको छ । तर एजेन्सीहरूले आरोहीलाई कस्ता अक्सिजन प्रयोग गर्न लगाएका छन् भन्ने विषयमा अनुगमन गर्नुपर्ने आरोही लाक्पा शेर्पाको माग छ ।

काठमाडौंमा टोपआउट र शंकर अक्सिजन बालाजुले पनि अवैध रूपमा अक्सिजन भर्दै आएको पाइएको छ । रसियामा मात्र निर्माण हुने लिक्विड अक्सिजन विदेशी आरोहीहरूले नेपाल आउँदा लिएर आउने गरेका छन् । यसरी ल्याइएका सिलिन्डर नै नेपालमा पुनः भरेर प्रयोग गरिँदै आएको एजेन्सीहरूको भनाइ छ । केही वर्षदेखि नेपालमै सस्तो पर्ने भन्दै विदेशबाट अक्सिजन ल्याउन छाडिएको छ । तर नेपालमा प्रयोग भए पनि तिनलाई सरकारले करको दायरामा नल्याउँदा मनलाग्दी मूल्य तोकेर लुट मच्चाउने गरेको पाइएको हो । यसरी प्रयोग हुने सिलिन्डरलाई एसडी ग्यास कम्पनीले मर्मतसहित ग्यास भरेर दिने गरेको कम्पनीका प्रमुख अमात्यले बताए । आफ्नो कम्पनीले बर्सेनि चार सयभन्दा बढी सिलिन्डर मर्मत गरेर अक्सिजन भरी पठाउने गरेको उनको भनाइ छ ।

हिमालमा पथप्रर्दशक भएर काम गर्ने सरदार, शेर्पा, गाइड र अन्य आरोहण दलका सदस्यलाई अक्सिजनसम्बन्धी तालिम दिनु मुख्य चुनौती भएको अमात्यले बताए । अक्सिजन कस्तो प्रकृतिको हो, यसका फाइदा÷बेफाइदा नचिन्दा र एजेन्सीले मनलागी गर्दा आरोहीको ज्यान खतरामा पर्ने गरेको छ । मेडिकल अक्सिजनको ठूलो सिलिन्डरबाट बोस्टिङ गरेको हिमालमा प्रयोग गरिने सानो सिलिन्डर भरेर प्रयोग गर्दा गुणस्तरहीन हुने र लिक्विड अक्सिजन जस्तो नहुने आरोही ओङ्छु शेर्पाको अनुभव छ ।

सस्तो र बोस्टिङ गरेको मेडिकल अक्सिजनबाट शक्ति नआउने, अक्सिजन खाए पनि कुनै अनुभूति नहुने, मुख सुक्खा हुने, फोक्सो सुक्खा भएर खोकी बढी लाग्ने, स्वर सुक्ने र अक्सिजन प्रयोग भएको मुखको भाग कालो हुने गरेको छ । मुखमा चिसो मात्र नभई फोक्सोमा समस्या र क्यान्सरसम्म हुने खतरा बढेको छ ।

यस वर्ष मात्र तिब्बततर्फ पाँच दर्जनभन्दा बढी समिट नामको अक्सिजन सिलिन्डरको रेगुलेटरले काम नदिएर आरोहीहरू बीचबाटै फर्कन बाध्य भएका थिए । अक्सिजन प्रयोगमा एजेन्सीको चरम लापरबाही भएको भन्दै आरोहीहरूले अनुगमन गरी कारबाही माग गरेका छन् । ‘अक्सिजनमा ट्रेकिङ कम्पनीले सिन्डिकेट चलाएका छन् । अक्सिजनबाट वार्षिक करोडांै रुपैयाँको कारोबार हुने गरे पनि राज्यलाई एक पैसा नबुझाएको एक आरोहीको दाबी छ ।

आरोहणमा कम्पनीले एक आरोहीलाई कम्तीमा पाँच र कामदारलाई तीनवटा सिलिन्डर हिमालमा प्रयोग गर्न दिँदै आएको छ । यी अक्सिजन कारोबारमा राजस्व नलिँदा पनि जथाभावी प्रयोग बढेको छ । सरकारले सिलिन्डरमा कर लगाएर नियमन गरेर मात्र प्रयोग गर्न दिनुपर्ने आरोहीहरूको माग छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.