यस वर्षको मनसुन सुरु
काठमाडौं : यस वर्षको मनसुन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन सक्रिय भएको जानकारी दिएको हो । नेपालमा शुक्रबार (जुन ८) देखि यस पटकको मनसुन सुरु भएको र उच्च जोखिम रहेकाले सबैलाई सचेत रहन विभागका महानिर्देशक ऋषिराम शर्माले आग्रह गरेका छन् । बाढीपहिरोबाट ठूलो क्षति हुन सक्ने भएकाले त्यसको न्यूनीकरण गर्न सरकारी संयन्त्रको सार्थक पहल जरुरी रहेको उनको भनाइ छ ।
गत वर्ष १२ जुनदेखि सुरु भएको मनसुन यो वर्ष चार दिनअघि सुरु भएको हो । यसपटक मनसुन १ सय १५ दिनसम्म सक्रिय हुने शर्माले जानकारी दिए । मनसुन ओक्टोबरको पहिलो सातासम्म कायम रहनेछ । सरकार र विभिन्न गैरसरकारी संस्थाले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीको काम प्रभावकारी रूपमा अघि बढाउन नसक्दा मनसुनको समयमा विपद्ले भयावह रूप लिने गरेको छ । विपद्बाट बर्सेनि औसतमा ६ सय जनाको मृत्यु हुने गरेको गृह मन्त्रालयको तथ्यांक छ ।
प्रि–मनसुनकै समयमा वैशाख र जेठको तेस्रो सातासम्म विपद्बाट १ सय ७५ जनाको मृत्यु भइसकेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ । मनसुनको समयमा हुन सक्ने विपद् र त्यसले निम्त्याउने जोखिम न्यूनीकरणसम्बन्धी राज्य र गैरसरकारी संस्थाको प्रयास प्रभावकारी हुन नसकेको विपद् व्यवस्थापन महाशाखा प्रमुख सहसचिव केदार न्यौपानेले स्विकारे । विपद् जोखिम न्यूनीकरणमा कसैको चासो नगएकाले समस्या थपिँदै गएको र बर्सेनि मृत्यु हुनेको संख्या बढ्दै गएको उनले बताए ।
विकास प्रयास र विपद् जोखिम न्यूनीकरणबीच सन्तुलन कायम गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन विभागका कार्यक्रम संयोजक भोजराज घिमिरेले पनि विपद् जोखिमको पूर्वतयारीमा धेरै कमजोर रहेको बताए । ‘मनसुनको समयमा राज्य र अन्य संस्थाले अपनाउनुपर्ने तयारी र व्यवस्थापन पक्ष कमजोर हँदा धेरै नागरिकले अकालमै मृत्युवरण गर्नुपरेको छ’, उनले भने ।
विपद् जोखिम न्यूनीकरणमा सबै पक्षको तयारी पर्याप्त नभएकाले बर्सेनि मानवीय एवं भौतिक क्षति बढ्ने गरेको विपद् व्यवस्थापन शाखाका उपसचिव शंकरहरि आचार्यको भनाइ छ ।
मन्त्रालयले एक वर्षअघि मात्रै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ जारी गरेको छ । तर पनि ऐनका प्रावधानको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । ऐन बने पनि कार्यान्वयन गर्ने नियमावली बनाउन नसक्दा प्रभावकारी काम हुन नसकेको हो।
पछिल्लो सात वर्ष (२०६८ देखि २०७४) सम्म मात्रै विपद्का कारण १२ हजार २ सय ३३ ले ज्यान गुमाएको र २६ हजार ४ सय ५३ जना घाइते भएको गृह मन्त्रालयको तथ्यांक छ । सोही अवधिमा बेपत्ता भएका १ हजार जना अहिलेसम्म बेखबर छन् । २०७२ भूकम्पमा ९ हजार २ सय ७९ जनाले ज्यान गुमाएका छन् । बाँकी ३ हजारको भने बाढीपहिरोका कारण मृत्यु भएको छ ।
२०७४ मा बाढीपहिरोलगायत विपद्बाट मात्रै ५ सय ९७, २०७३ मा ४ सय ८३, २०७२ मा ९ हजार २ सय ७९, २०७१ मा ५ सय ३९, २०७० मा ४ सय १७, २०६९ मा ३ सय ९९ र २०६८ सालमा ५ सय १९ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
जोखिम उच्च छ, सर्तक रहौं : विभाग
जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय भएसँगै पहाडी र तराई क्षेत्रमा बाढीपहिरोको जोखिम उच्च रहेको बताएको छ । त्यसैले सोहीअनुसार सतर्कता अपनाउन जरुरी रहेको विभागका महानिर्देशक शर्माले बताए । विशेषगरी पहाडी क्षेत्रमा लगातार ६० मिलिमिटर वर्षा भएमा त्यस्तो ठाउँ पहिरोको उच्च जोखिममा रहने उनको भनाइ छ । भूकम्पपछि १४ अतिप्रभावित र ४० जिल्ला प्रभावितको सूचीमा छन् ।