निःसन्तान दम्पतिको घाउमा वचनको ‘नुनचुक’

निःसन्तान दम्पतिको घाउमा वचनको ‘नुनचुक’

काठमाडौं : सन्तान किन नजन्माएको ? चिनेजानेका, आफन्त, साथीभाइलगायत सयौंले सोधेको यो प्रश्नले नीता भट्टराईलाई झन्डै १० वर्ष कुनै बिसालु सर्पले डसेझैं डसिरह्यो । निःसन्तान हुनुको पीडाले आँखामा आँसु टल्पलाएका बेला बारम्बार सोधिने यो प्रश्नले उनको घाउमा नुनचुक छर्केझैं चहर्‍याउँथ्यो, उनी नाजवाफ बन्थिन् ।

बिहेको १० वर्षसम्म पनि सन्तान नहुँदा गरिने यस्ता प्रश्नबाट उम्किन भट्टराई पतिसहित भारतको नयाँदिल्ली र मुम्बईका विभिन्न स्वास्थ्य क्लिनिक चहारिन् । ‘जे कमजोरी छ त्यसैमा हाम्रो समाजले औंला ठड्याउँछ र बारम्बार पीडा दिइरहन्छ’, काठमाडौंकी उनी भन्छिन्, ‘यस्ता कुराविरुद्ध उभिन दम्पतिबीच आपसी विश्वास आवश्यक हुन्छ । यसका लागि शिक्षा अत्यावश्यक छ ।’

आफू शिक्षक भएको र पति पनि फिल्म क्षेत्रमा भएकाले समाजका यस्ता प्रश्नको सामना आफूहरू अलिक सहज रूपमा गरेको उनी सगर्व सुनाउँछिन् । अरूको भावनामा चोट पुर्‍याउँदा आनन्द महसुस गर्ने परपीडकहरूले तनाव दिने अधिकांश निःसन्तान दम्पति आक्रोश व्यक्त गर्छन् । आफैं पीडामा रहेका बेला अनेक प्रश्न गरेर झन् पीडा थप्नुहुँदैन भन्ने सोच अत्यन्त न्यून व्यक्तिमा मात्र भएको दाबी भट्टराईको छ ।

०६१ सालमा उनको खुसी फर्कियो । आमा बनेर सन्तान जन्म दिँदाको पल उनी अत्यन्त खुसी थिइन् । ०४९ सालमा फिल्म निर्माता केशवसँग लगनगाँठो कसेकी उनले १२ वर्षपछि टेस्टट्युब प्रविधिबाट छोरा जन्माएकी थिइन् । दाम्पत्य जीवन अब अझै सुमधुर हुँदै जाने विश्वासमा उनी पुलकित भइन् ।

टेस्टट्युब प्रविधिबाट छोरा पाउनुअघि सन्ध्या स्याङ्बो तामाङले पनि यस्तै धेरै मानसिक पीडा खेप्नुपर्‍यो । ‘प्रविधिको सहायताले सन्तान जन्माउँदा अरूले के सोच्लान्, के भन्लान् भन्ने डर र चिन्ता लागिरह्यो । मिडियालाई यसबारे केही नबताउन डाक्टरहरूसँग अनुरोध गरिरहन्थें’, उनले भनिन् ।

मनोविद् करुणा कुँवर समयमा सन्तान नहुँदाको पीडा पुरुषले भन्दा पनि महिलाले बढी भोग्नुपरिरहेको बताउँछिन् । उनी भन्छिन्, ‘आफ्नै कमजोरीले सन्तान नभएको ठानेर महिलाहरू आफूलाई नै दोषी ठानिरहेका हुन्छन् । त्यसमाथि छिमेकी, इष्टमित्र वा समाजले पनि महिलामाथि नै औंला ठड्याइरहेको हुन्छ ।’ लामो समय सन्तान नभएको भन्दै धार्मिक कार्यक्रममा पानी नचलाउने प्रवृत्तिले महिलालाई मानसिक प्रताडना दिइरहेको हुन्छ ।

सन्तान नहुँदा पतिपत्नीबीच पनि संवाद घट्दै जाने र आक्रामक मनस्थितिमा एकले अर्कोमाथि दोष लगाउने प्रवृत्तिसमेत देखिएको छ । ‘त्यसमाथि भेटघाट वा अन्य अवसरमा पनि मान्छेमै फोकस गरेर प्रतिक्रिया दिने प्रवृत्ति तथा व्यक्तिगत मनोवृत्ति छ । यसले पनि महिलालाई झन् डिप्रेसन (तनाव)र एन्जाइटी (चिन्ता)ग्रस्त पार्न सहयोग पुर्‍याउँछ’, मनोविद् कुँवरले भनिन् ।

‘१५ देखि २० प्रतिशत दम्पति निःसन्तान भएर बाँच्नु परेको छ । तीमध्ये ८५ प्रतिशतलाई साधारण उपचार गरेर सन्तानको खुसी दिन सकिन्छ’, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल भन्छन् । सन्तान नहुँदा महिलामाथि अनेकौं लाञ्छना लगाइने संकुचित सोच र        श्राप वा पापका रूपमा हेर्ने अन्धविश्वास अझै नेपाली समाजमा कायमै रहेकोमा उनी चिन्ता व्यक्त गर्छन् ।

विश्वमा टेस्टट्युब सुरुवात भएको करिब २५ वर्षपछि नेपालमा यसको सुरुवात भएको हो । नेपालले यो प्रविधि अपनाएको १६ वर्ष भइसकेको छ । काठमाडौंमा विभिन्न सरकारी तथा निजी अस्पतालले टेस्टट्युब प्रविधिद्वारा सन्तान पाउन सकिने सुविधा उपलब्ध गराएका छन् । राजधानीबाहिर विराटनगरस्थित विराट अस्पतालमा पनि टेस्टट्युब प्रविधिबाट निःसन्तानलाई सेवा दिन थालिएको छ । हाल काठमाडौं र विराटनगरमा यो प्रविधि उपलब्ध भए पनि सन्तान नभएका दम्पतिमध्ये कतिपय अझै पनि भारतका अस्पताल पुग्ने गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.