नारायणी अस्पतालका उपकरण आविष्कार केन्द्रले मर्मत गरिदिने
वीरगन्ज : वीरगन्जस्थित नारायणी अस्पतालमा बिग्रिएर वर्षौंदेखि प्रयोगमा नआई थन्किएका उपकरण र औजारहरू राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरिदिने भएको छ।
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार नारायणी अस्पतालमा भेन्टिलेटर, मनिटर, फोटोथेरापी मेसिन, एक्सरे मेसिन, ईसीजी मेसिन, डायलसिस मेसिन, पल्स अक्सिमिटर, सक्सन मेसिन, बेबी वार्मर, अडियोग्राम, एन्स्थेसिया मेसिन, ल्याबकुली मेसिनलगायतका करिब ४ करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण र औजारहरू बिग्रिएर वर्षौंदेखि थन्किएका छन्।
ती उपकरण र औजारहरू महावीर पुन अध्यक्ष रहेका राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरिदिने भएको नारायणी अस्पतालको विकास समितिका अध्यक्ष धीरज गुप्ता रौनियारले जानकारी दिए।
अध्यक्ष रौनियारका अनुसार अस्पतालका उपकरण र औजारहरू मर्मतका लागि बिहीबार अस्पताल प्रशासन र केन्द्रबीच लिखित सम्झौता गरिएको छ। उक्त सम्झौतापत्रमा अस्पताल प्रशासनका तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास र केन्द्रका तर्फबाट बायोमेडिकल इन्जिनियर उमेश किरान्तले हस्ताक्षर गरेका छन्।
अध्यक्ष गुप्ताका अनुसार बिहीबार भएको सम्झौतापत्रमा अस्पतालमा बिग्रिएर थन्किएका उपकरण र औजारहरू मर्मतका लागि केन्द्रका तीन जना इन्जिनियरसहितको टोली खटिने उल्लेख छ। त्यसबापत केन्द्रलाई अस्पताल प्रशासनले सुरुको एक हप्ताका लागि १ लाख ५० हजार रुपैयाँ शुल्क तिर्ने र एक हप्तामा काम नसकिएमा त्यसपछिको प्रतिदिन १५ हजार रुपैयाँ दरले अस्पतालले केन्द्रलाई दिने सम्झौतापत्रमा उल्लेख छ।
उपकरण र औजारहरू मर्मतका क्रममा आवश्यक पर्ने स्पेयर पार्ट्सका सामान भने अस्पताल प्रशासनले बजारबाट खरिद गरेर केन्द्रलाई उपलब्ध गराउनु पर्ने सम्झौतापत्रमा उल्लेख रहेको अध्यक्ष गुप्ताले जानकारी दिए।
केन्द्रका बायोमेडिकल इन्जिनियर किरान्तले अस्पतालमा बिग्रिएर थन्किएका उपकरण र औजारहरू आफूहरूले मर्मत गरी पुनः प्रयोगमा ल्याउन सक्ने अवस्थामा पु¥याएर अस्पताललाई हस्तान्तरण गरिने बताए। त्यसका लागि बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेलगत्तै केन्द्रको प्राविधिक टोलीले बिग्रिएका उपकरण र औजारहरूको अवस्था र लगत संकलनको काम सुरु गरिसकेको उनले जानकारी गराए।
प्रतिक्रिया दिनुहोस !