कर्मनाशा खोलामाथि अपार्टमेन्ट
ललितपुर : दक्षिणबाट उत्तरतिर बग्ने ललितपुरस्थित कर्मनाशा खोलाको बहाव परिवर्तन गरी भूमाफियाले विभिन्न संरचना बनाएपछि जनप्रतिनिधिहरू ‘कर्मनाशा करिडोर’ खुलाउने प्रयासमा जुटेका छन् । ललितपुर महानगरपालिका-१५ का अध्यक्ष सुदर्शन मिश्रले कर्मनाशा करिडोर खुलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
०२१ सालको नापीअनुसार यो जग्गा २८ नम्बर वडामा भए पनि हाल २३ वडामा परेको छ । ‘पहिला कर्मनाशा खोला बांगोटिंगो बग्थ्यो । तर, भूमाफियाहरूले खोला नै सीधा बनाए’, उनले भने । मेरो सिटी अपार्टमेन्टको पूर्वतिर बिनाअनुमति खोलामा तीन फिट उचाइमा बनाइएको पुल र पर्खालका कारण सहज ढंगले पानी निस्कासन नहुँदा गत वर्ष साउन २८ मा आएको बाढीले आइजे पायोनियर स्कुल, काठमाडैां विश्वविद्यालयसहितका संरचना डुबानमा परेका थिए । बाढीले यो क्षेत्रमा तीन करोड रुपैयाँबराबरको क्षति पुर्याएको २३ नम्बर वडाअध्यक्ष भाइकाजी महर्जनले जानकारी दिए ।
तीन महिनाअघि कर्मनाशा करिडोर अध्ययनका लागि ‘कर्मनाशा करिडोर सहजीकरण समिति’ गठन गरिएको थियो । वडाध्यक्ष मिश्र आफैं सहजीकरण समितिका अध्यक्ष हुन् । समितिले अधिकारसम्पन्न बाग्मती आयोजनासँग समन्वय गरिरहेको छ । समितिले कर्मानाशाको दायाँ-बायाँ १० मिटर छाड्नुपर्ने तथा १५ मिटर बहाव क्षेत्र निर्धारण गरेको छ ।
समितिकै अगुवाइमा कर्मनाशा करिडोरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइरहेको छ । डीपीआर आएलगत्तै करिडोरभित्र पर्ने संरचना हटाउन पत्राचार गर्ने समितिको योजना छ ।
हात्तीवनदेखि बालकुमारीसम्म कर्मनाशाको दायाँ-बायाँका सबै संरचना हटाइने मि श्रले बताए । लिटिल एन्जल्स स्कुल परिसरमा पनि कर्मनाशाको धेरै जग्गा अतिक्रमण गरेको स्थानीयको दाबी छ । विद्यालयले विद्यार्थी आउजाउ गर्ने बाटो यही क्षेत्रमा भएको जनाउँदै संरचना हटाउन समय मागेको छ ।
संरचना बनाउँदा पाँच फिट ‘सेटब्याक’ छाड्नुपर्ने महानगरको मापदण्ड छ । कर्मनाशा करिडोरमा सबैभन्दा ठूलो समस्या हात्तीवनमा बन्दै गरेको ‘मेरो सिटी अपार्टमेन्ट’ भएको वडा नम्बर २३ का अध्यक्ष महर्जनले बताए । यो अपार्टमेन्टले महानगरपालिकाको मापदण्ड बेवास्ता गर्दै कर्मनाशा खोलामा सटाएर ‘मेरोसिटी अपार्टमेन्ट’ बनाएको हो । यो अपार्टमेन्ट गणेश अग्रवालको स्वामित्वमा छ ।
हात्तीवन क्षेत्र डुबानमा परेपछि गत वर्ष वडा कार्यालयले अग्रवालले बिनाअनुमति बनाएको पुल भत्काउने निर्णय गरेको थियो । यो मुद्दा अझै नसकिएको महानगरपालिकाको मुद्दा प्रशासन शाखाले जनाएको छ । ‘पुलबाहेक पर्खाल निर्माणका विषयमा वैशाख ११ गते रोयल अर्किड डेभलपर प्रालिका निर्मल अग्रवालविरुद्ध रोक्का पुर्जी दिइएको थियो । उनी हाजिर भएका छैनन्’, प्रशासन शाखाका प्रमुख खगेन्द्र वस्तीले भने ।
यो जग्गा पहिला हरिसिद्धि गाविसअन्तर्गत पास भएको उनको भनाइ छ । खोला भएको ठाउँमा व्यक्तिको जग्गा छ । त्यस्तै, महालक्ष्मी नगरपालिकामा होन्डा कम्पनीको सोरुम र किस्ट अस्पतालले पनि कर्मनाशा करिडोरलाई बाधा पुर्याएको छ ।