पर्दामा माओवादी द्वन्द्वकाल

पर्दामा माओवादी द्वन्द्वकाल

काठमाडौं : दसवर्षे माओवादी द्वन्द्वको पेरिफेरीमा रहेर थुप्रै फिल्म बने । लालसलाम, जनयुद्ध, उमा, तान्द्रो, कालो पोथी, सेतो सूर्य, आवाज, जलजला लगायतका फिल्म द्वन्द्वकालको वरिपरि घुमेका कथा हुन् । यीमध्ये कतिपय द्वन्द्वमा मात्र केन्द्रित छन् भने कतिपयमा त्यसले सिर्जना गरेका विभिन्न परिघटना छन् । कालो पोथी, तान्द्रो, उमा, सेतो सूर्य लगायतका फिल्ममा हिंसात्मक द्वन्द्वले निम्त्याएको सामाजिक, पारिवारिक विखण्डन र त्यसबाट नेपाली समाजले भोग्नु परेको दर्दनाक पीडा छ ।

यी यस्ता चलचित्र हुन् जसले नेपाली भूमिको कथा र व्यथा स्क्रिनमा निकै प्रभावकारी रूपमा उतार्न सफल भए तर प्रायः फिल्म व्यावसायिक रूपमा सफल हुन सकेनन् ।

२०१७ मा रिलिज भएको फिल्म ‘तान्द्रो’ कमर्सियल प्याटर्नभन्दा अलग धारको थियो । १० वर्ष चलेको सशस्त्र द्वन्द्वभित्र एक माओवादी योद्धाले पाँच दिनसम्म मृत्युसँग गरेको संघर्ष फिल्ममा छ । त्योभन्दा पनि ज्यादा युद्ध र आमजनताबीच मित्रताको नभई घृणाको सम्बन्ध बन्न पुगेको छ फिल्म तान्द्रो । माओवादी योद्धा गंगाबहादुर राणा (कमरेड कोसिस)को वास्तविक कथा हो तान्द्रो । तान्द्रो अर्थात् झिनो आश । खुट्टामा सेनाको गोली लागेपछि उनी भाग्न सक्दैनन् । बाँच्नका लागि स्थानीय जनतासँगको उनको गुहार फिल्ममा निकै दर्दनाक रूपमा प्रस्तुत गरिएको छ ।

आफ्नो वास्तविक भोगाइ फिल्ममार्फत देखेपछि गंगाबहादुरका आँखा रसाए । ‘घाइते हुँदा पनि समाजवाद र साम्यवादको सपना देख्न मैले छाडेको थिइनँ’, उनी भन्छन्, ‘तर जुन आन्दोलन र सपना मैले देखेँ, त्यो आज सेलाउँदै गएकोमा दुःख लाग्छ ।’

द्वन्द्वकालमा बनेको अर्को फिल्म ‘सेतो सूर्य’ (ह्वाइट सन) सन् २०१६ मा रिलिज भयो । माओवादी द्वन्द्व र १० वर्षसम्म माओवादीद्वारा चलाइएको राज्य संघर्षको कथा चलचित्रमा छ । पछि शान्ति सम्झौतासँगै साम्य भएको परिस्थितिबीच जब माओवादी प्रतिशन चन्द्र (दयाहाङ राई) आफ्नो घर फर्कन्छन्, तब उनले जनयुद्धले निम्त्याएको कहर महसुस गर्छन् । उनको परिवारका सदस्यबीच माओवादी द्वन्द्वका हिंसात्मक गतिविधिले ल्याएको फाटो र कटुता प्रस्ट देखिन्छ । दीपक रौनियार निर्देशित यो फिल्ममा मुख्य पात्रले द्वन्द्वकालमा भोगेका शारीरिक, मानसिक र राजनीतिक संघर्ष छ ।

फिल्म तान्द्रोका निर्देशक साम्तेन भुटिया दसवर्षे सशस्त्र द्वन्द्व नेपालको इतिहास भएको बताउँछन् । ‘युद्धमा जनमानसमा त्रास, भय, घृणा हुन्छ’, उनी भन्छन्, ‘जीवन र मृत्युबीचको संघर्ष पनि हुन्छ । यस्तोमा युद्धभित्रका पात्र र त्यसका सानासाना कथा अझै महŒवपूर्ण हुन्छ ।’ समग्र द्वन्द्वकालको कथा भने लगानी र प्रविधिको हिसाबले फिल्ममा उतार्न कठिन भएको उनी बताउँछन् ।

ओस्कर अवार्डका लागि समेत मनोनयनमा परेको फिल्म ‘कालो पोथी’ पनि द्वन्द्वकालको कथा हो । मीनबहादुर भामद्वारा निर्देशित यो फिल्ममा सशस्त्र द्वन्द्वताका मुगुमा संकटकाल लाग्दा त्यहाँका जनताले भोगेको कथा छ ।

सन् २०१३ मा रिलिज भएको माओेवादी द्वन्द्वको विषयमा आधारित अर्को फिल्म हो ‘उमा’ । माओवादी विद्रोहको प्रभाव र झुकाव उक्त फिल्मको कथावस्तु हो । छिरिङ रितार शेर्पाद्वारा निर्देशित फिल्ममा कसरी नेपालका ग्रामीण भेगमा बसोबास गर्ने मानिस र त्यहाँका गाउँले द्वन्द्वपीडित भए भन्ने कथा छ ।

समाजशास्त्री मधुसूदन सुवेदी द्वन्द्वमाथि बनेका फिल्ममा नेपाली समाजको भोगाइ समेट्न खोजेकोमा खुसी व्यक्त गर्छन् । ‘फिल्महरू घटनाविशेष र मन छुने बनेका छन’,  उनी भन्छन्, ‘यी फिल्म हलमा खासै चल्दैनन् तर दर्शकले मन नपराई बस्न पनि सक्दैनन् ।’ कहिलेकाहीँ निर्देशकको कुनै विचारप्रतिको झुकावले फिल्म पूर्वाग्रही हुने गरेको उनी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.