रसुवागढी र तातोपानीमा चीनको लगानीमा नयाँ पुल
काठमाडौँ: चीन सरकारको आर्थिक सहयोगमा नेपालसँगका दुई वटा नाकामा नयाँ पक्की पुल बन्ने भएका छन् । २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त भएर बन्द सिन्धुपाल्चोकको तातोपानी नाका र हाल सञ्चालनमा रहेको एक मात्र रसुवागढी-स्याफ्रुबेँसीमा चीनले पक्की पुल बनाइदिने भएको हो ।
आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले यी दुई स्थानमा पुल निर्माणका लागि ची सरकारले दिने भनिएको आर्थिक तथा प्राविधिक सहयोग स्वीकार्ने निर्णय गरेको हो ।
सरकारले रसुवागढी—स्याफ्रुबेँसीबाट चीनको च्याङ्बु जोड्ने र सिन्धुपाल्चोकको तातोपानी नाकाको मितेरी पुल चीन सरकारको पूर्ण आर्थिक एवं प्राविधिक सहयोगमा पुनःनिर्माण गर्न स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
चीन सरकारले उक्त पुल निर्माण गर्न नेपाल सरकारसमक्ष प्रस्ताव गरेको थियो । सरकारले नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा ऊर्जा मन्त्रालय र चीनको सम्बन्धित क्षेत्रका समकक्षीबीच सहमतिपत्रमा हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय भएको पनि जानकारी दिइयो ।
भूकम्पका कारण सिन्धुपाल्चोकको मितेरी पुल तथा त्यस आसपासको बजार क्षेत्र क्षतिग्रस्त भएपछि चीन सरकारले त्यस नाकालाई बन्द गरिदिएको छ।