छुरा प्रहार गरी बाबुले गरे छोराको हत्या
भक्तपुर : भक्तपुरमा एक बाबुले आफ्नै छोराको छुरा प्रहार गरी हत्या गरेका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका ५ खरिपाटी घर भई हाल भक्तपुर नपा १० भत्क्यापाटी बस्ने ३५ वर्षीय पहलमान गिरीले आइतबार १२ वर्षीय आफ्नै छोरा प्रतीक गिरीको छुरा प्रहार गरी हत्या गरेका हुन्।
परिसरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेका अनुसार मानसिक अवस्था ठीक नभएका बाबु पहलमानले छोरामाथि छुरा प्रहार गरेका थिए। बावुको छुरा प्रहारबाट घाइते प्रतीकलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो।
भक्तपुरमा उपचार सम्भव नभएपछि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज रिफर गरिएकोमा त्यहीं उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए। उनले घटनाबारे अनुसन्धान भइरहेको बताए।पहलमानलाई नियन्त्रणमा लिएर परिसरमा राखिएको प्रहरी जनाएको छ।