ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु
राजविराज : सप्तरीमा बालुवा बोकेको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ। सुरुङ्गा नगरपालिका ६ स्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स.१त ५४५६ नम्बरको बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सहचालकले ज्यान गुमाएका हुन्।
ट्याक्टर आइतबार राति करिब ९ बजे पुलमा ठोक्किदा ट्याक्टरका सहचालक खडक नगरपालिका ४ बस्ने १५ वर्षीय किरणकुमार रामको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
एसपी मुकेशकुमार सिंहका अनुसार घाइते सहचालक रामको उपचारका क्रममा सिरहाको लहानस्थित सप्तऋषी अस्पतालमा मृत्यु भएको हो।त्यस्तै ट्याक्टरमा रहेका खडका नगरपालिका ३ का ३५ वर्षीय संजयकुमार चौधरीको दाहिने हात भाँचिएको छ।घटनालगत्तै ट्याक्टर चालक फरार भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।
यसअघि जेठ ३ गते खडग नगरपालिका ४ स्थित पूर्व-पश्चिम राजमार्गमा ढुंगा बोकेको स.१ त ५५५९ नम्बरको ट्याक्टरबाट लडेर उदयपुरगढी गाउँपालिका ५ का १६ वर्षीय बालमजदुर दिलिप तामांगको मृत्यु भएको थियो।
बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्यविरुद्ध मंगलबार विश्वभर १७औं बालश्रम विरुद्धको दिवस मनाइँदैछ।निकृष्ठ प्रकारको बालश्रमविरुद्ध अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि र श्रममा संलग्न हुने न्यूनतम उमेरसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको स्मरणमा १२ जुनलाई बालश्रम विरुद्धको विश्व दिवसका रुपमा संसारभरी मनाइने गरिन्छ।
नेपालको संविधान २०७२ को धारा ३९ को उपधारा १० ले कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउने कार्य कानुन बमोजिम दण्डनीय हुने र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनेर प्रावधान राखेको छ।