महासचिव पौडेल भन्छन्ः दलाल पुँजीलाई निरुत्साहित गर्छौँ
काठमाडौः नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन व्यवसायीका समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन् ।
नेपाल राष्ट्रिय वाणिज्य संघले काठमाडौंमा आयोजना गरेको विस्तारित बैठकलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पूर्वअर्थमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव पौडेलले यस्तो बताएका हुन् ।
विभिन्न २६ बुँदे माग राखेर संघले पेश गरेको ज्ञापनपत्र बुझ्दै उनले भने, ‘नीतिगत र प्रसाशनिक झन्झट फुकाउँदै व्यवहारिक पक्षलाई आत्मसाथ गरी देशको बढ्दो व्यापार घाटा कम गर्न निर्यातजन्य बस्तुहरुको उत्पादनमा जोड दिँदै अब हाम्रो पार्टी उत्पादन र उत्पादकत्व बढाउने, रोजगारी सृजना गर्ने र आत्मनिर्भर अर्थतन्त्रको यात्रामा अघि बढ्नेछ, त्यसकारण दलाल पँुजीलाई निरुत्साहित गरिनेछ ।’
त्यसैले व्यापारी व्यवसायीहरुको हकहितका निम्ति कृयाशिल नेपाल राष्ट्रिय वाणिज्य संघ सरकारको सहयोगी अंगको रुपमा आफ्नो भुमिका बदल्दै व्यवसायिक क्षेत्रका सबै नीति निमार्णका लागि महत्वपूर्ण सल्लाहकारको रुपमा आफूले पाएको महासचिव पौडेलले बताए ।
विस्तारित बैठकमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, उद्योग व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष भरतकुमार श्रेष्ठ, महासंघकै उपाध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य एलपी सावाँ लिम्बू लगायतले शुभकामना मन्तव्य दिएका थिए ।