पेलेको निष्कर्श: विश्वकप जित्न ब्राजिललाई सजिलो छैन
काठमाडौँ: ब्राजिलले यसअघि पाँच पटक विश्वकप फुटबलको उपाधि उचालिसकेको छ । ब्राजिलको टिम छैटौँ पटक उपाधि उचाल्ने लक्ष्यका साथ रसियाको यात्रामा निस्केको छ ।
तर महान फुटबलर पेलेले भने ब्राजिलको टिम विश्वकप उपचाल्नका लागि सन्तुलित नरहेको बताएका छन् । उनले टिम च्याम्पियन हुनका लागि अझै बढी सन्तुलित हुनुपर्ने बताए ।
तीन पटक विश्वकप विजेता खेलाडी पेलेले ब्राजिल टिमको आलोचना समेत गरेका छन् । 'एउटा टिमले मात्रै विश्वकप जित्न सक्छ । नेमार एक्लैले विश्वकप जिताउन त सक्दैनन् । मेरा लागि उनी विश्वका सर्वश्रेष्ठ खेलाडीमा एक हुन् । उनी अहिले अझै परिपक्व र अनुभवी खेलाडी भइसकेका छन् ।'
नेमार चोटबाट मुक्त हुँदै मैदानमा फर्किएपछि ब्राजिललाई राहत मिलेको छ। ब्राजीलले रूसमा हुन लागेको विश्वकपका लागि समूहमा ई मा कोस्टारिका, स्विट्जरल्यान्ड र सर्बियासँग प्रतिस्पर्धा गर्नेछ ।
पेलेले प्रशिक्षक टिटेप्रति भरोसा देखाउँदै भनेका छन्, 'मलाई प्रशिक्षकप्रति पूरा भरोसा छ ।' टिटेलाई प्रशिक्षक बनाएपछि ब्राजिलले दुई वर्षयता खेलिएका २० खेलमा केबल एकमा मात्रै हारको सामना गरेको छ।
फिफा विश्वकप सुरु हुन अब केबल केही दिन मात्रै बाँकी छ । पेलेका अनुसार ब्राजिलसँग अझै सही टिम छैन । 'हामीसँग अहिले पनि सही टिम छैन । व्यक्तिगत रूपमा सारा खेलाडी सही छन् । तर हामी अझै एउटा टिम भइसकेका छैनौँ ।'