सुस्ता गाउँपालिका अध्यक्षलाई मोसो
परासी : नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेलाई कालोमोसो लगाएका छन् । बिहान १०.३० बजे चार जनाको समूहमा पुगेका विप्लव कार्यकर्ताले अध्यक्ष पाण्डेलाई कालो मोसो लगाएका हुन् ।
कामको बहाना बनाएर पुगेका उनीहरुले अध्यक्ष पाण्डेलाई आफूले लगेको फाइल हेर्न लगाएर कालो मोसो दलिदिएका थिए । अध्यक्ष पाण्डेले स्थानीय तहमा चर्को कर लगाएको, कमिशन लिएर प्राकृति स्रोत (ढुंगा, गिट्टी र बालुवा) को दोहन गर्न लगाएको, आफैले विद्यालय चलाएर शिक्षाका नाउँमा व्यापारिकरण गरेको लगायतका आरोप लगाएर कालो मासो लगाएको नेकपाको जनपरिषद्ले जनाएको छ ।
नेकपाको जनपरिषद्ले सबै स्थानीय तहका जनप्रतिनिधिले राजीनामा गर्न पत्रचार गरेपनि वास्ता नगरेकाले कारबाही गर्न सुरु गरिएको जनाएको छ । तीन महिना अघि नेकपाको जनपरिषद्को नाउँबाट नगरपालिका र गाउँपालिकाका प्रमुखहरुलाई पत्र पठाएर राजीनामा गर्न उर्दी जारी गरिएको थियो । लामो समयसम्म पनि पत्रचारलाई बेवास्ता गरेको भन्दै पहिलो चरणको ‘जनकारबाही’ कालो मोसोबाट सुरु गरिएको जनपरिषद्ले जनाएको छ ।