सुन तस्करीमा मुछिएका गोरे, भुुजुङ् र छिरिङ सम्पत्ति शुद्धीकरण विभागमा

सुन तस्करीमा मुछिएका गोरे, भुुजुङ् र छिरिङ सम्पत्ति शुद्धीकरण विभागमा

विराटनगरः सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेती सहित तीन जनालाई सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि सोमबार काठमाडौं लागिएको छ । 

विराटनगर विमानस्थलबाट विहान ९ बजे गोरे, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ र नातामा भुजुङका सालो पर्ने छिरिङ वाङदेल गुरुङलाई काठमाडौंतर्फ लगिएको हो । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार नेपाल एअरलाइन्सबाट गोरे र छिरिङ तथा बुद्ध एअरलाइन्सको जहाजबाट भुजुङलाई पठाइएको छ । 

उनीहरुलाई अनुसन्धानका लागि ललितपुरस्थित सम्पत्ति शुद्धीकरण विभागमा सोमबारै उपस्थित गराइएको छ । तीनैजनाले गैरकानुनी रुपमा जोडेको सम्पत्तिबारे भिावगले अनुसन्धान थालेको हो । 

त्रिभुवन विमानस्थलबाट पटक पटक भएको ३८ क्वीन्टल सुन तस्करी तथा पछिल्लो पटक गत फागुन ९ मा भित्र्याइएको साढे ३३ किलो सुन तस्करीमा पनि उनीहरु तीनैजनाको संलग्नता भएको अुसन्धानबाट खुलेको हो । 

जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राखेर मुद्धाको अनुसन्धान अघि बढाउनका लागि आदेश दिइएका उनीहरु मध्ये गोरे र छिरिङ विराटनगरको हाटखोला स्थित मोरङ कारागार र भुजुङलाई क्षेत्रीय कारागार झुम्कामा राखिएको थियो । 

सम्पत्ति शुद्धीकरण मुद्धामा अनुसन्धान अघि बढाउने तयारी गरिएपछि उनीहरुलाई लैजान जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले आइतबार अनुमति दिएको थियो । 

अभियुक्तहरु विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सम्पत्ति शुद्धीकरण अभियोगमा छानविनका लागि पनि अदालतमा अभियोग पत्र दायर गरेको थियो । 

विभागले सरकारी वकिल कार्यालयको अभियोग पत्रका आधारमा तीन जनालाई झिकाउन जिल्ला अदालत मोरङसंग अनुमति माग गर्दै पत्र पठाएको थियो । पत्रमा प्रतिवादीहरुसँग कसुरको गाम्भीर्यताको आधारमा तत्काल केही कुरा बुझेर जाँचबुझ अगाडि बढाउनुपर्ने भएकाले उनीहरुसँग बुझ्नु पर्ने कुरा बुझेपछि फिर्ता पठाइने उल्लेख छ । 

मुद्दाको अनुसन्धान र छानविन सकेर कारागार नै फिर्ता पठाउने सर्तमा अदालतले आइतबार नै अनुमति दिइएको भए पनि समय अभावलाई कारण देखाउँदै उनीहरुलाई सोमबार मात्रै काठमाडौंतर्फ लगिएको छ । 

सम्पत्ति शुद्धीकरण मुद्धामा अनुसन्धान गर्ने क्रममै तीनै जनासंग सुन तस्करी छानविनका लागि बनेको गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेत्रृत्वको समितिले समेत थप अनुसन्धान गर्ने स्रोतले बतायो । 

काठमाडौंमा पक्राउ गरेर गत जेठ ८ गते विराटनगर ल्याइएका गोरेलाई जेठ १३ गते न्यायाधीश शर्माकै इजलासले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । बयानका क्रममा उनले विमानस्थलमा कार्यरत एसएसपी श्यामबहादुर खत्रीले सुन तस्करीका लागि सुरक्षा चाँजोपाँजो मिलाउने जिम्मा लिएको र भुजुङ तथा एमके भनिने मोहनकुमार अग्रवालले सुनमा लगानी गर्ने गरेको बताएका थिए । 

गोरेले छिरिङको ‘अण्डर’ मा बसेर आफूले तस्करीको सुन व्यवस्थापनमा सहयोग गर्ने गरेको अदालतमा दिएको बयानमा स्वीकारेका छन् । अन्य लगानीकर्ताका बारेमा भने उनले मुख खोलेका छैनन् । 

भुजुङ घटना अनुसन्धानै क्रममा परेका परेका हुन् भने तस्करीको सुनका लगानीकर्ता भनिएका अग्रवाल भने अझै फरार छन् । फरार रहेका छिरिङ भने मुद्दा चलिरहेका बेला जेठ २० गते जिल्ला अदालत मोरङमा सुटुक्क उपस्थित भएका थिए । 

छिरिङ वाङदा गुरुङ वास्तविक नाम भए पनि छिरिङ वाङ्गेल घलेका नाममा उनका विरुद्ध अदालतमा मुद्धा दायर भएको थियो । अदालत उपस्थित भएपछि मात्रै उनको वास्तविक नाम खुलेको हो । 

उनले अदालतमा बयान दिँदा तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । ३८ क्वीन्टल सुन तस्करी र सनम हत्या काण्डमा पक्राउ परेका र अदालत उपस्थित भएका प्रतिवादीहरुले एकअर्कामा फरक–फरक बयान दिएका थिए । 

गत शुक्रबार अग्रवालको घरमा छानविन समितिले छापा मारेर केही महत्वपूर्ण कागजपत्र बरामद गरेको थियो । त्यसका विषयमा पनि काठमाडौं लगिएका तीनै जनासंग सोधपुछ गरिने भएको छ । 

दुवईबाट तस्करी गरेर गत माघ ९ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै ल्याइएको साढे ३३ किलो सुन हराएपछि खोजी गर्ने क्रममा गोरे समूहले मोरङको उर्लाबारी १ स्थित सोल्टी खोलाको किनारमा रहेको जंगलमा करेन्ट लगाउँदै यातना दिएर फागुन १८ गते सनमको हत्या गरेको थियो । 

सनमको शव गोरेका चालक एवं विश्वासपात्र काभ्रेका टेकराज मल्ल ठकुरीले चलाएको स्कोरपिओ भित्र फागुन १९ गते विराटनगर ३ को गोधुली मार्गमा प्रहरीले बरामद गरेको हो । 

सुन तस्करी र सनम हत्या काण्डमा ६३ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत मोरङमा अपराधिक समूह स्थापना तथा संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा गत बैशाख १९ गते मुद्धा दर्ता गरेको थियो । 

१७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ ९० पैसा बराबरको सुन तस्करी भएको अनुसन्धानबाट खुलेको भन्दै सरकारी वकिल कार्यालयले प्रतिवादीसंग सो बराबरको माग दावी पनि गरेको छ । 

प्रतिवादीमध्ये ३० जना अझै फरार छन् । ३१ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । प्रतिवादी मध्ये प्रहरी जवान विष्णुबहादुर खड्का १५ हजार धरौटी र हवल्दार अम्बरबहादुर थापामगर साधारण तारेखमा छुटिसकेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.