ट्रम र किमको भेट नि:शस्त्रीकरणको प्रयास

ट्रम र किमको भेट नि:शस्त्रीकरणको प्रयास

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ ऊनबीच मंगलबार ऐतिहासिक वार्ता हुँदैछ । यो वार्तापूर्व कोरियाली प्रायद्विपलाई निःशस्त्रीकरण गर्न केही प्रयास गरिएका थिए ।

सन् १९५० मा सुरु कोरियाली युद्ध सन् १९५३ मा ३८ प्यारालल लाइनको घोषणा गरी युद्धविराम भएको थियो । ३८ प्यारालल लाइनलाई तत्कालीन सोभियत संघ समर्थित उत्तर कोरिया र अमेरिका समर्थित दक्षिण कोरियाबीच सीमा निर्धारण गर्ने रेखाका रूपमा लिइन्छ ।

युद्धविराम भए पनि दुवै कोरियाबीच सम्बन्ध तनावपूर्ण नै रह्यो । स्थिति सामान्य बनाउन अनेकौं प्रयत्न भए पनि यथास्थितिमै रह्यो । युद्धविरामपछि दक्षिण कोरिया अमेरिकाको सुरक्षा छातामुनि रह्यो भने अमेरिकाले विश्वको सुरक्षामा उत्तर कोरिया प्रमुख खतराका रूपमा चित्रित गर्दै आएको छ । विशेषगरी उत्तर कोरियाको युरेनियम प्रशोधन र आणविक शस्त्र विकास सुरक्षा चुनौती बनेको दाबी अमेरिकालगायत पश्चिमी देशहरूले गर्दै आएका छन् ।

पछिल्लो समय उत्तर कोरियाले आणविक शस्त्र विकास कार्यक्रम तीव्र पारेपछि उसको एकमात्र समर्थक र छिमेकी चीन, अमेरिकासहित संयुक्त राष्ट्र संघले आर्थिक नाकाबन्दी लगाएका छन् । यसैबीच कोरियाली समस्या समाधान गर्न विभिन्न चरणमा वार्ता पनि भए ।

- सन् १९८५: उत्तर कोरियाले आणविक अप्रसार सन्धीलाई सम्बोधन गरे पनि कुनै पनि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सम्बन्धी सुरक्षा सम्झौता पालना गरेन ।

- सन् १९९१: अमेरिकी राष्ट्रपति जर्ज एच डब्लू बुस र तत्कालीन सोभियत संघका नेता मिखाइल गोर्वाचेवले विदेशमा तैनाथ गरेका आआफ्ना आणविक शस्त्र फिर्ता गर्ने निर्णय गरे जसमा कोरियाली युद्धताका दक्षिण कोरियामा तैनाथ गरिएका शस्त्र पनि थिए । त्यसको केही महिनापछि दक्षिण कोरियाली राष्ट्रपतिले आफ्नो देशले कुनै पनि आणविक हतियार उत्पादन र भण्डारण नगर्ने बताए ।

- सन् १९९२: उत्तर र दक्षिण दुवै कोरियाले कोरियाली प्रायद्विपलाई आणविक हतियारमुक्त क्षेत्रका रूपमा संयुक्त घोषणापत्रमा हस्ताक्षर गरे । आणविक हतियार परीक्षण, उत्पादन, आविष्कार गर्न वा अन्यत्र तैनाथ गर्न आपसी प्रमाणीकरण गर्नुपर्ने सहमति गरे ।

- सन् १९९३: उत्तर कोरियाले आफू आणविक अप्रसार सन्धीबाट बाहिरिने जानकारी संयुक्त राष्ट्र संघ र अमेरिकालाई दियो । अमेरिकी अनुसन्धान एजेन्सीहरूले उत्तर कोरियासँग धेरै मात्रामा प्लुटोनियम (आणविक शस्त्र निर्माणको कच्चा पदार्थ) भण्डारण भएको अनुमान गरे ।

- सन् १९९४: अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरले उत्तर कोरियाको भ्रमण गरे । उनी उत्तर कोरियाको भ्रमण गर्ने पहिलो पूर्वराष्ट्रपति हुन् । कार्टरले उत्तर कोरियासँग कूटनीतिक वार्ताको वातावरण निर्माण गरे । त्यही वर्ष अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको प्रशासनले उत्तर कोरियासँग आणविक हतियार निःशस्त्रीकरण कार्यविधि सम्झौता ग¥यो ।

- सन् २०००: दक्षिण कोरियासँग उत्तरको वार्ता सकारात्मक भएपछि उत्तर कोरियाली सेनाका वरिष्ठ अधिकारी जो म्याङ रोले वाशिङटनमा अमेरिकी राष्ट्रपति क्लिन्टनसँग भेट गरे । अमेरिकी विदेश सचिव मेडेलिन अलब्राइटले केही समयपछि प्योङयाङ भ्रमण गरिन् । उनले अमेरिकी राष्ट्रपति क्लिन्टनको सम्भावित उत्तर कोरिया भ्रमणको वातावरण बनाउने प्रयास गरे पनि असफल भइन् ।

- सन् २००२: क्लिन्टन प्रशासन र उत्तर कोरियाबीच भएको आणविक निःशस्त्रीकरण कार्यविधि भंग । अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले प्योङयाङप्रति कडा र फरक दृष्टिकोण प्रकट गरे । उनले उत्तर कोरियाले गोप्य रूपमा युरेनियम संवद्र्धन गरेको आरोप लगाए भने उत्तर कोरियाले अमेरिका आफ्नो प्रतिबद्धताबाट पछि हटेको आरोप लगायो ।

- सन् २००३: आणविक हतियार निःशस्त्रीकरण कार्यविधि पतन र आणविक अप्रसार सन्धी उत्तर कोरियाले बहिष्कार गरेपछि चीनले अमेरिका, जापान, दक्षिण कोरिया र रसिया सम्मिलित वार्ता आयोजना ग¥यो । वार्तामा उत्तर कोरिया पनि सहभागी थियो । वार्ता अवधिभर उत्तर कोरियाले आफ्नो आणविक हतियार विकास कार्यक्रम बन्द नगर्ने अडान लियो ।

- सन् २००६: उत्तर कोरियाले पहिलो आणविक परीक्षण सफलतापूर्वक सम्पन्न ग¥यो । यसले उसको कूटनीतिक संकट अझ बढ्यो ।

- सन् २००९: अन्तर्राष्ट्रिय आणविक पर्यवेक्षकलाई उत्तर कोरिया आफ्ना आणविक भट्टीहरू पर्यवेक्षण गर्न दिन सहमत भयो । अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनले उत्तर कोरियाको भ्रमण गरी त्यहाँ कैद दुई अमेरिकी पत्रकारलाई मुक्त गराउन सफल भए ।

- सन् २०११: अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रशासनले उत्तर कोरियासँग गरेको वार्ता प्रयासबीच सन् १९९४ मा उत्तर कोरियाको शासनमा आएका किम जोंग इलको निधन भयो र उनका छोरा किम जोंग उन सत्तामा आए ।

- सन् २०१२: नाकाबन्दी हटाएर भए पनि अमेरिकी राष्ट्रपति ओबामाले उत्तर कोरियालाई वार्तामा ल्याउने प्रयास । उत्तर कोरियाले राखेका न्यूनतम सर्त अमेरिकाले अस्विकार गर्दा र उत्तर कोरियाले आणविक परीक्षण जारी राख्दा वार्ता हुन सकेन ।

- २०१६÷१७: नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई उत्तेजित पार्ने गतिविधि बन्द नगरे उत्तर कोरियामाथि आक्रमण गर्ने चेतावनी दिए । चीनलाई उत्तर कोरियाको समस्या समाधान गर्न दबाव दिँदै उसले नसघाए अमेरिका एक्लै उत्तर कोरियाली समस्या समाधान गर्न तत्पर रहेको चेतावनी दिए । तनावपूर्ण स्थितिबीच उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल र छैटौं तथा उसले गरेकामध्ये सबैभन्दा शक्तिशाली आणविक परीक्षण गर्‍यो ।

- सन् २०१८: दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनले ट्रम्प-उन वार्ता आयोजनामा सहयोग गरे । गत महिना दक्षिण कोरियाली राष्ट्रपति र उत्तर कोरियाली नेताबीच दुवैको सीमामा पर्ने पाङमाजोममा ऐतिहासिक वार्ता भएको थियो । यसैबीच अमेरिका र दक्षिण कोरियाका राष्ट्रपतिसँग भेट्नुअघि उत्तर कोरियाका नेता चीन पुगेर चिनियाँ राष्ट्रपति सि चिनफिङसँग भेट गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.