शेखर कोइराला भन्छन् : कांग्रेसलाई कार्यकारी राष्ट्रपतीय प्रणाली अस्वीकार्य
काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री ओलीले सातै प्रदेससभामा गएर सम्बोधन गरी दिन खोजेको सन्देशको बारेमा प्रश्न गरेका छन् । शैलजा आचार्यको नवौं स्मृति दिवसमा ‘शैलजा आचार्य आदर्श समाज’ ले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै नेता कोइरालाले कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा मुलुकमा अधिनायकवादको खतरा बढेको बताए ।
उनले कांग्रेस गुट–उपगुटमा रुमल्लिरहेको फाइदा सरकारले लिइरहेकोले मुलुक अधिनायकबादमा जाने खतरा बढेको संकेत गरे । नेता कोइरालाले बालकृष्ण ढुंगेललाई आममाफीका विषयमा प्रभावकारी ढंगले कुरा नराखेर कांग्रेसले गल्ती गरेको बताए ।
उनले मुलुक निरंकुशतातर्फ अगाडि बढेकाले लोकतन्त्र र संघीयता धरापमा पर्न सक्ने खतरा रहेको बताए । उनले कांग्रेसलाई कार्यकारी राष्ट्रपतीय प्रणाली कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।
कांग्रेस नेता कोइराला भन्छन्,‘बहुमत तपाईसँग छ , सरकार जसरी चलाउन मन लाग्छ चलाउनोस तर दुईतिहाई बलको आडमा मुलुकको शासन ब्यवस्था नै परिवर्तन गर्न लाग्ने हो त्यसविरुद्ध कांग्रेस जस्तोसुकै आॅधीबेरी ल्याउन तयार छ।'