मार्क्सवाद र जनवाद सम्बन्धी प्रवचन दिएर फर्किए माधव नेपाल
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल १० दिने ब्राजिल भ्रमण पूरा गरेर मंगलबार स्वदेश फर्किएका छन्।
ब्राजिलको फ्लोरेस्टन फर्नाण्डेज नेशनल स्कूलको अध्ययन भ्रमणमा गएका नेता नेपाल त्यहाँ मार्क्सवादको सिर्जनात्मक प्रयोग र जनताको जनवादसम्बन्धी प्रवचन दिएका थिए। त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले नेपालमा वामपन्थीको एकताप्रति अन्तर्राष्ट्रिय समुदायले खुशी व्यक्त गरेको जानकारी दिए।
‘नेपालमा कम्युनिस्ट पार्टीको एकता देखेर संसारका कम्युनिस्ट पार्टीहरु चकित परेका छन्’, नेता नेपालले पत्रकारसँगको कुराकानीमा भने, ‘नेपालका कम्युनिस्ट पार्टीका विषयमा बताउँदा सबै चकित परे। हामीले नेपालमा कम्युनिस्ट पार्टी शक्तिशाली बनेको जानकारी सबैलाई गराउने एउटा अवसर पाएका छौँ।’
विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता नेपालले ब्राजिल भ्रमणमा दुई देशको कम्युनिस्ट आन्दोलनका बारेमा अनुभव आदान–प्रदान भएको जानकारी नेता नेपालले दिए।
भ्रमणका क्रममा त्यहाँका कम्युनिस्ट पार्टीका नेता, सांसद तथा विभिन्न संस्थाका प्रतिनिधिसँग छलफल गरेका थिए। नेपालले त्यहाँको शिक्षा र स्कुल सञ्चालनको विषयमा समेत जानकारी दिएको बताए।
पार्टी प्रवक्ता नारायणकाजी नेता बलराम बास्कोटा, प्रवेश पोखरेललगायत नेताका साथ ब्राजिल गएका नेता नेपालले ब्राजिलमा वामपन्थी पार्टी निकट ‘थिङ्क ट्याङक’संस्था-भूमिहिन श्रमिक आन्दोलन (एमएसटी) लामो समयदेखि सञ्चालन गरिरहेको फल्लोरेस्टन फर्नान्डेज नेशनल स्कुलका प्रशिक्षार्थीलाई गत बिहीबार प्रवचन दिएका थिए।
एमएसटीका दुई लाख सदस्य रहेका छन्। एमएसटीले सञ्चालन गरेको फल्लोरेस्टन स्कुलबाट विश्वका विभिन्न देशका ४२ हजार नेता कार्यकर्ता दीक्षित भइसकेका छन्। उक्त स्कुलमा यो वर्षबाट पाँचजना नेपाली विद्यार्थी अध्ययनका लागि पुगेका छन्। यस्तो स्कुल सञ्चालनका लागि नेपालमा कति सम्भावना छ भन्ने विषयमा समेत भ्रमण केन्द्रित रहेको नेता नेपालले जानकारी दिए।
यो भ्रमणको लक्ष्य भने आगमी वर्ष फेब्रुअरीमा भेनेजुएलामा हुने १५ सय भन्दा बढी कम्युनिस्ट नेताको भेलाको तयारीस्वरुप भएको हो। यही भेलाको तयारीका लागि केही महिनाअघि मात्र नेता नेपाल बंगलादेश गएका थिए।