बजेटका प्राथमिकता छान्दै स्थानीय तह

बजेटका प्राथमिकता छान्दै स्थानीय तह

ओखलढुंगा : गाउँ तथा नगरसभाबाट बजेट सार्वजनिक गर्ने तयारीमा रहेका ओखलढुंगाका स्थानीय तहले आफ्ना बजेटमा लगानीका क्षेत्र प्राथमिकीकरण गर्न थालेका छन्।

चालु आर्थिक वर्षका बजेट जता मागियो उतै बाँडेका जनप्रतिनिधिले यस पटक भने स्थानीय तहको प्राथमिकता निर्धारण गर्न थालेका हुन्। चालु आवको अधिकांश बजेट सडकमा खर्चिएका स्थानीय तहले आगामी वर्षमा भने सामाजिक विकासका क्षेत्रलाई बजेटको प्राथमिकतामा समेट्ने बताएका छन्। ओखलढुंगाका आठ स्थानीय तहमध्ये चार वटाले आगामी वर्षको बजेटका प्राथमिकता छानेका हुन्। अन्य स्थानीय तहले अहिले कानुन निर्माण गाउँसभाको तयारीलगायत काममा व्यस्त रहेको जनाएका छन्।

चिसंखुगढी गाउँपालिकाले सर्वपक्षीय भेला बोलाएर सुझाव लिएपछि आगामी वर्षका लागि लगानीका मुख्य तीन क्षेत्र पहिचान गरेको छ। कृषि, शिक्षा र खानेपानीलाई प्राथमिकतामा राखिएको गाउँपालिकाका प्रवक्ता उषक कटुवालले बताए। कच्ची सडकहरू गाउँगाउँ पुगेकाले अब सडकसँगै नागरिकको जीवनस्तर सुधार गर्नेतर्फ ध्यान दिइने उनले बताए। ‘प्राथमिकता निर्धारण गरिएका क्षेत्रलाई फोकस गरेर बजेट ल्याउँछौं’, कटुवालले भने।

त्यस्तै सुनकोसी गाउँपालिकाले पनि आगामी वर्षको बजेटका प्राथमिकता निर्धारण गरेको छ। बजेट निर्माण गर्दा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकास र ग्रामीण विद्युतीकरणलाई प्राथमिकता दिइने गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारीले बताए। विकट गाउँहरू भएको, सबै क्षेत्रमा सडक नपुगेकाले सबै वडामा स्वास्थ्य युनिट स्थापना र सञ्चालन गर्न बजेटले पहिलो प्राथामिकता स्वास्थ्यलाई दिने अधिकारीले बताए।

गाउँपालिकाले विद्युतीकरण शिक्षालाई पनि सँगै लैजाने उनले बताए। सुनकोसीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अदुवा पकेट क्षेत्रमा परियोजना चले पनि प्रभावकारी देखिएको छैन। आयोजनालाई प्रभावकारी बनाएर व्यावसायिक कृषिमा सुधार गर्ने योजना रहेको वडा नं ६ का अध्यक्ष गोविन्दराम तामाङले बताए।

मोलुङ गाउँपालिकाले बजेटका प्राथमिकता निर्धारण नगरे पनि वडा तहमा योजना छनोट गरिरहेको छ। एक वडाबाट बढीमा २० वटा मात्र योजना ल्याउन सीमा तोकेको छ। वडाबाट आएका योजना अध्ययन गरेर कुन क्षेत्रको बढी माग छ, सोहीअनुसार बजेट निर्धारण गरिने गाउँपालिकाका अध्यक्ष मणिराज राईले बताए। उनले सबै वडाबाट आएका विषय हेरेर मागअनुसार प्राथमिकीकरण हुने जनाए।

ओखलढुंगाका आठ स्थानीय तहमध्ये चार वटाले आगामी वर्षको बजेटका प्राथमिकता छानेका हुन्।

सिद्धिचरण नगरपालिकाले आगामी वर्ष पनि पूर्वाधार विकासमै प्राथमिकता दिने जनाएको छ। जिल्लाको सदरमुकामसहित साविकका ११ गाविसबाट बनेको नगरपालिकाले सबै वडाको केन्द्रबाट सदरमुकामसम्म बाह्रै महिना चल्ने सडक बनाउने लक्ष्य राखेको छ। अहिले ट्र्याक खोलिएर पनि बर्सातमा अधिकांश सडक बन्द हुन्छन्।

आगामी बजेटमा सडक, विद्युतीकरण, खानेपानी, शिक्षा, स्वास्थ्य र कृषिलाई क्रमशः बजेटले प्राथमिकता दिने नगरपालिकाका पूर्वाधार विकास समितिका संयोजक केदारबाबु बस्नेतले बताए। अहिले प्राथमिकताका आधारमा वडामा योजना छनोटका काम सुरु भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.