ललितपुरमै पुगेन खानेपानी
ललितपुर : ललितपुर जिल्लाका ११ प्रतिशत बासिन्दा मात्र खानेपानी सुविधाबाट वञ्चित रहेको पाइएको छ । राजधानीसँग जोडिएको जिल्लाका बासिन्दा खानेपानीबाट वञ्चित भइरहँदा सरकारको आँखा भने त्यसतर्फ गएको छैन ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को ललितपुर कार्यालयले पूरै जिल्ला आफ्नो अधिकार क्षेत्रमा नपरेकाले सबैलाई खानेपानी नपुगेको हुन सक्ने भन्दै सकेसम्म आफूले सबैलाई खानेपानी सुविधा उपलब्ध गराएको दाबी गरेको छ ।
जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति प्रमुख हरिदत्त पौडेल भन्छन्, ‘जिल्लाका उच्च भेगका बासिन्दा आधारभूत सेवाबाट वञ्चित भएका हुन्, भूकम्पपछि समस्या अझ बढेको हो ।’ दक्षिण भेगका गाउँपालिकामा पानी ट्यांकीहरू चर्किएका, एकीकृत बसोबास व्यवस्थापन गर्न नसक्दा खानेपानी सुविधाबाट वञ्चित भएको उनले बताए ।
पौडेलले यस्ता ठाउँमा खानेपानी पुर्याउन ‘लिफ्ट प्रविधि’ अत्यावश्यक भएको जानकारी दिए । डाँडामाथि पाइपबाट सजिलै पानी पठाउन नसकिने भएकाले यो प्राविधिक र आर्थिक रूपमा जटिल र महँगो हुन्छ । लिफ्ट सिस्टममा विद्युत्को सहायताले पानी माथि पठाउनुपर्ने हुन्छ । ३ वर्षभित्र सबै ठाउँमा खानेपानीको पहुँच पुर्याउने लक्ष्य भए पनि अहिलेसम्म ५ प्रतिशत पनि पूरा नभएको उनले जानकारी दिए।
केयूकेएलका ललितपुर प्रमुख विश्वराज जोशीले यी समस्या खानेपानी संस्थान हेर्दै आएको बताए । संंस्थाको निर्णयअनुसार भ्याली बोर्डले क्षेत्र निर्धारण गरे मात्र केयूकेएलले हेर्न सक्ने जानकारी दिए । ललितपुर महानगरपालिका, गोदावरी नगरपालिकाका र कोन्ज्योस्योम गाउँपालिकाका केही भाग मात्र केयूकेएलको क्षेत्रमा पर्ने उनको भनाइ थियो । उनी भन्छन्, ‘ललितपुरमा ४५ हजार धाराबाट दैनिक ९० लाख लिटर पानी वितरण हुँदै आएको छ तर यो आधा मात्र हो ।’
अहिले फर्पिङमा खेतीका लागि सिँचाइ गर्न सोही पानी प्रयोग हुने भएकाले अझै डेढ महिना पानीको समस्या रहने बताए । फर्पिङबाट जेठ २० देखि साउनको पहिलो सातासम्म १२ घन्टा पानी आउँदैन र ललितपुरमा पानीको हाहाकार हुन्छ ।
जोशीका अनुसार उपत्यकामा दैनिक ४६ करोड लिटर पानीको माग छ । तर सुक्खा याममा ८ करोड लिटर पानी मात्र फर्पिङबाट आउँछ । पाइप पुराना भएकाले ३० प्रतिशत पानी चुहिएर खेर जान्छ । केयुकेएल ललितपुर, वितरण विभागका कर्मचारी श्यामहरि थापाले ललितपुरको सातदोबाटो, लगनखेल, सिँचाइहिटी, ग्वार्को, खुमलटारलगायत क्षेत्र समस्याग्रस्त भएको बताए ।
फर्पिङमा खेती सुरु भएपछि यस क्षेत्रमा १२ दिनमा एकपल्ट पानी दिन थालिएको छ । ‘अरुबेला ६ दिनमा एकपल्ट वितरण गरिन्थ्यो’, उनले भने । ललितपुरको नल्लु, मूलडोल र चारघरेमा पानी जम्मा गरेर अर्को सिजनदेखि चौबिसै घन्टा पानी वितरण गर्न सकिने उनले जानकारी दिए ।