विश्वशान्तिमा नयाँ कदम
सिंगापुरमा सम्पन्न संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड जे. ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राज्य मामिला आयोगका प्रमुख किम जोङ उनबीच सम्पन्न शिखर वार्ता विश्वशान्तिका आकांक्षीका लागि खुसीको सन्देश लिएर आएको छ । शिखर वार्ताबाट दुवै देशका नेताले गरेको चारबुँदे सहमतिले भावी शान्तिको मार्गचित्र कोरेको छ । त्यसैले यो वार्ता र दुई देशका शीर्ष नेताबीचको सम्झौता स्वागतयोग्य छ ।
न युद्ध न शान्तिको अवस्थामा रहेको सन् १९५०–५३ को तीन बर्षे कोरियाली युद्धको यस वार्ताले औपचारिक अन्त्य गरेको छ । तत्कालीन जापानी उपनिवेशविरुद्ध संघर्षरत कोरियाली कम्युनिस्ट पार्टी र दोस्रो विश्वयुद्धपछि जापानको सुरक्षा आफ्नो हातमा लिई पूर्वीएसियामा प्रभाव विस्तार गर्दै गरेको अमेरिकाबीच भएको सो युद्ध शीतयुद्धका दुई ध्रुवको शक्ति प्रदर्शनमा परिणत भएको थियो ।
परिणाम, कोरियाली प्रायद्वीप दुई देशमा विभाजित भयो । साझा भाषा, साझा इतिहास र साझा संस्कृति बोकेको मानव समुदाय ६ दशकभन्दा बढी समयसम्म दुस्मनीको काँडेतारले बाँधिएर बस्न बाध्य भए । ट्रम्प–किम वार्ताले त्यो वैमनश्यताको अन्त्य सँगसँगै फुटेका घरहरू फेरि जोडिने सम्भावना निर्माण गरिदिएको छ । साथसाथै पूर्वीएसियामा सधैँ मडारिइरहने युद्धको कालो बादल अब इतिहासका पानामा सीमित हुने आशा पलाएको छ ।
जारी वक्तव्यको सबैभन्दा महत्वपूर्ण पाटो हो, उत्तर कोरियाले गरेको पारमाणविक निःशस्त्रीकरणको प्रतिबद्धता । ‘शान्ति हतियारले सुनिश्चित गर्छ’ भन्ने सन्गुन नीति बोकेको देश पारमाणविक निःशस्त्रीकरणसम्म आइपुग्नु सामान्य घटना होइन । यसले विश्वव्यापी रूपमै पारमाणविक निःशस्त्रीकरण सम्भव छ भन्ने पुष्टि गरिदिएको छ ।
तथापि, पारस्परिक अन्तर्राष्ट्रिय सम्बन्धको सर्वस्वीकार्य सिद्धान्त हो । पारमाणविक निःशस्त्रीकरणको मार्गले लिबियाको बाटो नसमाओस् भनेरै उत्तर कोरियाले सुरक्षासुनिश्चितताको माग गरेको हुनुपर्छ । पारमाणविक निःशस्त्रीकरणको बाटो अवलम्बन गर्दैगर्दा तत्कालीन लिबियाली शासक गद्दाफीलाई उत्तर कोरियाले दिएको चेतावनी कोरियाली पृष्ठभूमिमा अनूदित नहोस् भन्ने कामना विश्वशान्तिका आकांक्षीको सचेतनामा भर पर्छ ।
विश्व राजनीतिमा अर्को उत्तर कोरियाको जन्म नहुनका लागि संयुक्त राज्य अमेरिकाले खेल्ने भूमिका पनि महत्व पूर्ण हुने चार बुँदा अमूर्त तर दीर्घकालीन महत्वका शब्दहरूले अभिव्यक्त गर्छन् । पारमाणविक निःशस्त्रीकरणले विश्वव्यापी रूपमा पारस्परिकता ग्रहण गरोस् र सुरक्षा सुनिश्चितता अनाक्रमणको हदसम्म मात्र सीमित नहोस् भन्ने चाहना अनुचित अवश्य हुनेछैन ।
शान्ति र समृद्धिको आधारमा नयाँ मित्रता सम्झौताको अर्को पेटबोली हो । यो शब्दावलीले भावी दिनका सम्भावनाहरूबारे धमिलो चित्र प्रस्तुत गर्छ । वैदेशिक सम्बन्धमा उदारवादी अर्थनीति अवलम्बन गरिरहेका तर आन्तरिक रूपमा फरक राजनीतिक प्रणाली भएका अमेरिका र चीनको समझदारीबिना पूर्वीएसियामा यो उचाइको सम्झौता सम्भव थिएन ।
यसले अन्तरसम्बन्धको जटिल जालोले अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण हुन्छ भन्ने उदारवादी मान्यतालाई प्रमाणित गर्छ । लामो समयसम्म एक्लै बस्ने नीति लिएको उत्तर कोरिया अन्तर्राष्ट्रिय जगतका लागि विस्मयकारी रहँदै आएको छ । यो वार्तापछि उत्तर कोरिया पनि विश्व रंगमञ्चमा उपस्थित हुने देखिइसकेको छ ।
यद्यपि, उत्तर कोरियाले अवलम्बन गर्ने आर्थिक मार्ग के हुन्छ भन्ने अनुमान गर्न गाह्रो छ । यसले समाउने शान्ति र समृद्धिको बाटो अमेरिकी मोडलको उदारवादी हुन्छ वा चिनियाँ मोडलको बजार अर्थतन्त्रमुखी हुन्छ भन्नेमा दुई देशको प्रभावले काम गर्ने आशा गर्न सकिन्छ । तर, विश्वस्त केमा हुन सकिन्छ भने अहिलेको एक्लोपनको आर्थिक नीति उत्तर कोरियाले अवश्य लिने छैन ।
शिखर वार्ताको यो उचाइले उत्तर कोरियाली नेता किम जोङ उनलाई विश्वको कूटनीतिक क्लबका नयाँ सदस्यका रूपमा उभ्याएको छ । वंश राजनीतिका कारण स्थान पाएको र राजतन्त्रजस्तै किम कुलको वंश निरन्तरता रहेको भनी आलोचित उत्तर कोरियाली शासन व्यवस्थालाई यस उपस्थितिले गलत सावित गर्ने मौका दिनेछ । त्यो सम्भावनाको सफलता वा असफलता किम जोङ उनका आगामी कूटनीतिक कदमले निर्णय गर्नेछन् ।