श्रीमतीलाई बलात्कार गर्ने श्रीमानलाई तीन वर्ष कैद
ताप्लेजुङ : श्रीमतीलाई जवर्जस्ती करणी गर्ने श्रीमानलाई जिल्ला अदालत ताप्लेजुङले तीन बर्ष कैदको सजाय सुनाएको छ । आफू भन्दा ८ वर्ष जेठी श्रीमतीलाई जबरजस्ती गर्ने ३५ वर्षीय श्रीमानलाई जिल्ला न्यायाधीष्श कुपासुर कार्कीको इजलासले बुधबार उक्त फैसला गरेको हो ।
पीडक श्रीमानले बयानका क्रममा आफ्नो जायजेथा नभएको बताएकोले पीडितलाई सरकारबाट ५० हजार क्षतिपूर्ति भराउने फैसलामा उल्लेख रहेको जिल्ला अदालतका श्रेष्तेदार गोपाल थापाले जानकारी दिए । पीडक फक्ताङलुङ गाउँपालिका घर भई हाल फुङलिङ नगरपालिकामा बस्दै आएका छन् ।
अदालतले दुवैको नाम गोप्य राखेको छ । २०७१ साउन ३० गते प्रहरीमा दर्ता भएको जाहेरी भदौ ३० गते अदालतमा पुगेको थियो । जाहेरी परेको ४ वर्षपछि अदालतले पीडकविरुद्ध कैद सजाय र क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
जाहेरीमा पीडितले श्रीमानले कान्छी श्रीमती लिएर भागेको र केही समयपछि फर्केर आफुमाथि जवर्जस्ती करणी गरेको उल्लेख गरेकी थिइन् । पीडक भने हालसम्म फरार छन् ।