बुढेसकालमा छोरो खोज्दै बुवाआमा

बुढेसकालमा छोरो खोज्दै बुवाआमा

बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका–३ पाटुका ७७ वर्षीय डम्बरबहादुर कार्की दम्पत्तीको छोरा रामबाबु हराएको १६ वर्ष भयो। त्यसबेला रामबाबुको उमेर २१ वर्ष थियो। तर, उनीहरूले छोरो घर फर्किने आस मारेका छैनन्।

कार्की दम्पत्ती घरमा आउने जोकोहीलाई छोरा खोजी दिन आग्रह गर्छन्। ‘छोरो खोजीमा कहाँ पुगिएन्’, डम्बर बहादुरकी ७७ वर्षीय श्रीमती दुर्गाले भनिन्, ‘मरेको भए लास, जिउँदो भए सास पाउनुपर्ने हो।’ कार्की दम्पत्तीका कान्छा छोरा रामबाबु २०५९ साल जेठ २० गते घरबाट काठमाडौं परीक्षा दिन भनी हिँडेका थिए। उनको अहिलेसम्म पत्तो लागेको छैन। तत्कालीन सरकार र माओवादी पक्षबीच सशस्त्र द्वन्द्व चलिरहेको थियो। आन्दोलन चरम उत्कर्षमा पुगेका बेला उनी काठमाडौं गएका थिएका थिए। ‘छोरोले तीन सय रुपैयाँ गाडी भाडा, कालो झोलामा कपडा र किताब बोकेर गयो’, आमा दुर्गाले भनिन्, ‘परीक्षा सकेर आउँछु भनेको छोरो अहिलेसम्म आएन।’

कालो झोला बोकेको कोही घरतिर आइरहेको देख्दा दुर्गाले छोरो आएको झलझली सम्झिन्छन्। उनी भन्छिन्, ‘गाउँका छोराका साथीहरू देख्दा मेरो छोरा पनि आउँछ जस्तो लाग्छ।’ विद्युत् प्राधिकरणका जागिरे दाइ गोविन्दले लमजुङबाट पढाइ खर्च दिई गाडी चालकको हातमार्फत पाँच हजार पठाएका थिए। ती गाडी चालकले गोविन्दका भाइ बसेको ठाउँमा उनलाई भेटेनन्। गोविन्द खर्च फर्काएर फेरि लमजुङ गए। त्यसपछि रामबाबुलाई खोजी गर्न उनी धेरै ठाउँ पुगे। संकटकाल थियो। फोन गर्ने र चिठ्ठी पु¥याउने अवस्था थिएनन्। ‘खोजी गरेको पनि एक÷दुई वर्ष हो र’, रामबाबुकी भाउजू सानुमैयाले भनिन्, ‘१६ वर्ष पुगिसक्यो, अझै भेटिन्छ कि भन्ने लागेर आउँछ।’

गाउँमा नयाँ मान्छे देख्यो कि दुर्गाको मानसपटलमा छोराको सम्झना आइहाल्छ। रामबाबु ०३८ कात्तिक ६ गते जन्मिएका थिए। छोरो अहिलेसम्म नभेटिएको र उसको याद हरपल आइरहेको भन्दै आमा दुर्गाले अन्नपूर्णसँग भनिन्, ‘छोरोको मुख हेरेर मर्न पाऊँ, अब मेरो अन्तिम इच्छा यही छ।’ बेपत्ता रामबाबुका आमाबुवाले उनका सबै लुगा बाकसमा सुरक्षित राखेका छन्। उनका तस्बिर अझै पनि सजाएर राखिएका छन्। कोही घरमा आए भने दुर्गाले छोराको तस्बिर देखाउँदै उसको एक एक लुगा निकाल्छिन्।

गत स्थानीय चुनावमा भोट माग्न आएका नेताहरूसँग सबैले विकास मागे। तर यी दम्पत्तीले छोरो खोजिदिन १० औंला जोडेर आग्रह गरे। संविधानसभा, स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनावमा उठेका नेताहरूलाई भोट दिएर जिताए। तर, कसैले छोरो खोजीमा चासो नदेखाएको उनीहरू बताउँछन्। पीडित बुवाआमाले छोरा खोजिदिन स्थानीय शान्ति समिति जलेश्वरमार्फत बेपत्ता तथा छानबिन आयोगमा उजुरी दिएका छन्। त्यो पनि एक वर्ष बितेको बेपत्ता रामबाबुकी दिदी लक्ष्मी कार्कीले सुनाइन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.