अरिहन्त कार्टुन उद्योगमा आगलागी
विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित अरिहन्त अटो कोरोगेसन कार्टुन फ्याक्ट्रीमा बुधबार राति भीषण आगलागी भएको छ। उद्योगमा लागेको आगो नियन्त्रणका लिनका लागि मात्रै १६ घण्टा बढी लागेको थियो।
राति १० बजेबाट सुरु भएको आगो बिहीबार दिउँसो २ बजे मात्रै नियन्त्रणमा लिन सकिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए। 'आगो नियन्त्रणका लागि ठूलै मेहनत गर्नु परेको थियो,' उनले भने, 'कार्टुन फ्याक्ट्रीमा लागेको आगो भित्रभित्रै सल्किएका कारण निभाउन समय लागेको हो।' केसीले विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने बताए। उक्त उद्योग पारस लुनियाले संचालन गरेका थिए।
आगो नियन्त्रणका लागि मात्रै झापा, मोरङ, सुनसरी र सप्तरीदेखिका १० वटा दमकल परिचालन गरिएको थियो।दमकल, स्थानीय बासिन्दा, नेपाल र सशस्त्र प्रहरी एवं नेपाली सेना आगो नियन्त्रणमा खटिएका थिए।
उद्योगका मेनेजर कपिल रेग्मीका अनुसार आगोमा जलेर गोदाममा भएका तयारी सामानहरु, उद्योगका मेसिनहरु, वेस्टेज पेपर पूर्ण रुपमा नष्ट भएको छ। उनले उद्योगका चारवटा गोदाममा आगोले क्षति पुर्याएको जानकारी पनि दिए।
रेग्मीले कार्टुन बनाउने कच्चा पदार्थमा आगो लागेका कारण निभाउन धेरै मुस्किल परेको बताए। आगोले पुर्याएको क्षतिको विवरण प्राप्त हुन नसकेको र विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ।