नयाँ शक्तिका प्रवक्ता भन्छन् : सरकार जेट विमान होइन, थोत्रो साइकलजस्तो
काठमाडौं : नयाँ शक्ति नेपालका प्रवक्ता डम्बर खतिवडाले वर्तमान सरकार थोत्रो साइकलजस्तो भएको बताएका छन्। शुक्रबार राजधानीमा युवा शक्ति नेपालको नयाँ कार्यसमिति र कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले भने ,‘अहिलेको सरकारले आफूलाई जेट विमान ठान्छ तर हामीले हेर्दा थोत्रो साइकल जस्तो लाग्छ ।’
उनले थोत्रो साइकलको समृद्धि र सुशासनको दुवै पाङ्ग्रा पञ्चर भएजस्तो रहेको बताए । उनले वर्तमान सरकारले ल्याएको बजेटले विकास र समृद्धिको कुरा गरे पनि यसले व्यवहारिक रुपान्तरण गर्न नसक्ने बताए । प्रवक्ता खतिवडाले सरकारको बजेटप्रति आलोचना गर्दै भने, ‘सरकारको बजेट विकास र समृद्धि लक्षित छैन । सामाजिक न्यायलाई सम्बोधन गर्न सक्ने छैन । परम्परागत शैलीमा छ ।’
प्रशिक्षण विभाग प्रमुख समेत रहेका खतिवडाले कांग्रेस र कम्युनिस्ट लोकतन्त्रका लागि लडेपनि विकास, समृद्धि र सुशासनमा चुकेको टिप्पणी गरे । उनले कांग्रेस र कम्युनिस्टले पछिल्लो ३० वर्षमा देशलाई कंगाल बनाएको बताए । उनले,‘पछिल्लो ३० वर्षमा गरिब भनिएका देश धनीको सूचीमा सामेल भए तर कांंग्रेस र कम्युनिस्टको शासनकालमा यो देश गरिब र कंगाल भएको छ ।’
६४ प्रतिशत चालु खर्च र २४ प्रतिशतको विकास खर्च समावेश गरिएको बजेटले मुलुक समृद्ध नहुने प्रवक्ता खतिवडाको भनाइ छ । उनले सरकारले सुशासनको कुरा गरेपनि देशमा भ्रष्टाचार बढिरहेको उल्लेख गर्दै अहिलेको सरकारको अवस्था हेर्दा यसको नेतृत्व नयाँ शक्तिले लिनुपर्ने अवस्था आएको बताए । उनले नयाँ शक्ति नेपालको युवा संगठनले नयाँ शक्तिको रुपमा रचनात्मक भूमिका निर्वाह गर्ने उल्लेख गरे ।