तीन लाख घुससहित वन अधिकृत पक्राउ
कपिलवस्तु (चन्द्रौटा) : कपिलवस्तुको पश्चिमी क्षेत्रमा अवस्थित इलाका वन कार्यालय जवाबैराठका इन्चार्ज सहायक वन अधिकृत ब्रम्हदेव महतो अख्तियारको फन्दामा परेका छन्। सेवाग्राहीबाट तीन लाख घुस लिएका महतोलाई अख्तियारको टोलीले शिवराज नगरपालिका ५, कटनीमा रहेको डेराबाट नियन्त्रणमा लिएको हो।
गौतम बुद्ध साझेदारी वन उपभोक्ता समितिका सदस्य सचिव रहेका महतोले ठेकेदारबाट गोलिया काठ कटानी, निकासी अनुमतिका लागि घुस रकम लिएको बताइएको छ। महतोले काठको काम गर्ने एक ठेकेदारसँग विजयनगर गाउँपालिका ६, उज्ज्वलपुरमा शुक्रबार बिहान सो रकम लिएका हुन्।
घुस रकम दिएका सेवाग्राहीले अख्तियार टोलीलाई खबर गरी आफूले बुझाएको रकमको फोटोकपीसहित उपलब्ध गराएका थिए। विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बुटवलको टोलीले महतोलाई ३ लाख रकमसहित डेराबाट पक्राउ गरेको हो।
महतोको डेरामा छापा मार्दा महतोको डेराबाट ३ लाख रकम बरामद गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ। घुससहित पक्राउ परेका महतोमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको अख्तियार टोलीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !