वर्खा लागेसँगै पहिरोको त्रास
ओखलढुंगा : स्थानीय तहका वडामा जथाभावी खनिएका सडकका कारण बस्ती नै पहिरोको जोखिममा परेका छन् । धेरै वडामा अहिले धमाधम सडक खन्ने काम भइरहेको छ ।
वडाको केन्द्रबाट टोल–टोलसम्म सडक पुर्याउन प्राविधिक परीक्षण र मापदण्डबिनै सडक खन्ने काम भइरहेको हो । घरनजिकै सडक आयो भनेर खुसी भएका स्थानीय बर्खा लागेपछि पहिरो जाने त्रासमा पर्न थालेका छन् । ‘पहिरोको त्रासले गर्दा पानी पर्न थालेपछि निद्रा पर्दैन’, खिजीदेम्बा गाउँपालिका–४ खिजीकातिका नानीबहादुर खड्काले भने, ‘पोहोर पनि घरमाथि खनिएको सडकका कारण पहिरो जाँदा घर छाडेर बारीमा टहरा बनाएर बस्नुपर्यो ।’
मानेभञ्ज्याङ गाउँपालिका–९ तिल्पुङडाँडाका नरबहादुर श्रेष्ठले सडक खनिएपछि घर नै सारे । ‘पहिरो आउने डरले साबिकको घडेरी छाडेर अन्तै घर बनाउनुपर्यो’, उनले भने ।
स्थानीय तहका धेरै वडामा सरकारी बजेटबाट सडक खन्ने काम भएको छ । यसले हिउँदमा विकास गरेको देखिए पनि वर्षायाममा विनास निम्त्याउने अवस्था आएको स्थानीयको आरोप छ । ओखलढुंगाका आठै स्थानीय तहले चालू आर्थिक वर्षमा वडा र टोल–टोलमा सडक खन्न बजेटको ६० प्रतिशतभन्दा बढी खर्च गरेका छन् ।
‘विकास गरियो भनेको त विपत्ति निम्याउने काम पो भएछ’, मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष मोतीराज राईले भने, ‘वडामा सबैले सडक मात्र मागे, हिउँदभरि खनिएका सडक अहिले पहिरो बनेर विपत्ति निम्त्याउने डर भयो ।’ मानेभञ्ज्याङ गाउँपालिकाले चालू अािर्थक वर्ष बजेटको ७५ प्रतिशत सडकमै विनियोजन गरेको थियो ।
मोलुङ गाउँपालिकाले पनि सडकमा ६० प्रतिशत बजेट खर्च गरेको छ । सबैको माग सडक नै भएकाले बढी सडक खन्न विनियोजन भएको अध्यक्ष मणिराज राईले बताए ।
चालू वर्ष खनिएका सडक जेठमा परेको पानीले नै अवरुद्ध बनेका छन् । ‘असार र साउनभरि झरी पर्दा सडकबाटै बाढी आएर गाउँ बगाउने अवस्था छ’, सोच नेपालका ओखलढुंगा प्रतिनिधि बीएन श्रेष्ठले भने, ‘गाउँमा अहिले सडकभन्दा तल र माथि परेका घरपरिवार पहिरोबाट पीडित भइयो भन्ने गुनासो गर्न थालेका छन् ।’
सडककै कारण सिद्धिचरण नगरपालिका–५ वर्णालु, मोलुङ गाउँपालिकाका हर्कपुर, प्राप्चा, खिजीदेम्बाको खिजीकाति खिजीफलाटेलगायत विभिन्न बस्ती जोखिममा रहेको जनाइएको छ । चम्पादेवी र लिखु गाउँपालिकाले ७० प्रतिशतभन्दा बजेट सडक खन्न खर्च गरेका छन् । यी गाउँपालिकामा पनि पानी पर्दा बाढी गाउँ पस्न थालेको गाम्नाङटारका मनोजबहादुर भट्टराईले बताए ।