भगवान् भरोसामा आँप

भगवान् भरोसामा आँप

लहान : सिरहाको लहान नगरपालिका वडा नम्बर २४ झुटकीका रामपरीक्षण महतोलाई आँप बेच्न भ्याइनभ्याइ छ। उनी आँप बेच्न दिनहुँ लहान बजार पुग्छन्। २५ हजार रुपैयाँको आँप बेचिसकेका उनले अझै २५–३० हजारको बोटमै रहेको अनुमान सुनाए।

‘यो वर्ष त आधा आँप हुरीले क्षति पुर्‍यायो नत्र १ लाखभन्दा बढी आम्दानी हुन्थ्यो’, उनले भने, ‘हुरीका कारण आँप उत्पादन घटे पनि अन्य वर्षको तुलानमा बढेकै छ।’ सबैभन्दा स्वादिष्ट मानिने मालदह आँप प्रतिकिलो ३० र अन्य आँप २० देखि २५ रुपैयाँका दरले मात्र बिक्री हुँदा कम आम्दानी भएको उनको भनाइ छ।

झुटकीकै लालबहादुर महतोले चार बिघामा आँपको खेती गरेका छन्। ३ बिघाको आँप तीन वर्षका लागि उनले एकै पटक बेचिसकेका छन्। एक बिघाको आँप भने आफैं खान राखेको उनले सुनाए। ‘तीन बिघाको आँप साढे ५० लाखमा एकमुष्ठ बेचें’, उनले भने, ‘फलोस् वा नफलोस्, घाटा होस् वा नाफा, मलाई कुनै मतलब छैन। जसले किनेको छ उसले नै सबै थोक गर्छ।’ आँप बोटमै खरिद गर्न व्यापारी आइपुग्ने गरेको उनले सुनाए। भने, ‘भारतीय व्यापारी पनि आउँछन् तर मैले नेपालकै व्यापारीलाई बेचेको छु।’ बजार लगेर बिक्री गर्न झन्झट हुने भएकाले तीन वर्षका लागि जिम्मा दिएको उनको भनाइ छ।

उनले १५ वर्षअघि प्रतिगोटा ३० रुपैयाँमा किनेर १० हजार लगानीमा ४ बिघामा आँप रोपेको सुनाए। ‘आँप रोपेको चार वर्षमै फल्न थाल्यो’, उनले विगत सम्झिए, ‘पुँजी त पहिलो वर्षको फलबाटै असुलउपर भयो। अहिले बिनालगानी बर्सेनि केही न केही आम्दानी भइहाल्छ।’

उनका अनुसार यहाँ उत्पादित आँप काठमाडौं, पोखरा, बुटवल, झापा, इलामलगायत जिल्ला र भारत बिहारका विभिन्न सहर पुग्ने गरेको छ। आँप बिक्रीबाट हुने आम्दानीले नै परिवार चल्ने गरेको उनको भनाइ छ। ‘परिवारका सबै सदस्यको इच्छा आँप बिक्रीबाट हुने आम्दानीबाटै पूरा भइरहेको छ’, उनले भने, ‘आँप खेती नगरेको भए नुन, तेल र लत्ताकपडा किन्न गाह्रो हुन्थ्यो।’

अर्का किसान मि श्री यादवका अनुसार आँप एक वर्ष बिराएर फल्ने गरे पनि फाइदा नै हुन्छ। तीन बिघा जग्गामा आँपको खेती गरेका उनले यो वर्ष ५०–६० रुपैयाँ हजार आम्दानी हुने सुनाए। ‘अहिलेसम्म बेचेको त छैन तर दिनहुँ व्यापारी आउँछन्’, उनले भने, ‘कसैले ५० त कसैले ६० हजार भनिरहेका छन्।’ अहिले आँप एकदमै सस्तोमा बिक्री भइरहेकाले केही समय पर्खिने र त्यसपछि बिक्री गर्ने उनको योजना छ। बम्बई, मालदह, सपेता, दसहरी र कलकतिया प्रजातिको आँपको खेती लगाएको सुनाउँदै उनले भने, ‘यहाँको मालदह र सपेता आँप प्रसिद्ध छ। यी प्रजातिका आँप सबैभन्दा स्वादिष्ट हुन्छन्।’

बोटमा मञ्जरी लागेदेखि आँप पाकेसम्म के–के गर्ने भनेर सरकारले प्राविधिक ज्ञान दिए उत्पादन दोब्बर हुने विश्वास।

झुटकी गाउँका प्रायः स्थानीयले आफ्ना अधिकांश जग्गामा आँप खेती लगाएका छन्। पानी नलाग्ने भिठ जग्गाका कारण आँप खेती लगाएको किसान बताउँछन्। आँप खेतीका लागि भिठ जग्गा उपयुक्त मानिन्छ। किसान तथा अधिकारकर्मी राजकुमार राउतका अनुसार पानी नलाग्ने तथा सिँचाइ अभाव हुने भएकाले भिठ जग्गामा धान र गहुँजस्ता अन्न बाली उब्जाउ हुँदैन।

यहाँका किसानले आँप बेचेरै परिवारको गुजारा चलाउनुका साथै अन्य आवश्यकता पनि पूरा गर्ने गर्छन्। कतिपय स्थानीय आँप बेचेर छोराछोरीलाई उच्च शिक्षा दिन सफल भएका छन् भने कतिपयले करोडौंको धन जोडेका छन्। लहान बजारमा अहिले यही ठाउँमा उत्पादित करिब ८० प्रतिशत आँप पुग्छ। यहाँका सपेता र दसहरी आँप खोजेर कोसेलीका रूपमा टाढाका आफन्तकहाँ पुर्‍याउँछन्। पूर्वबाट काठमाडौं जाने अधिकांश यात्रुले पनि मालदह र सपेता आँप खरिद गरेर लैजाने गरेका छन्।

आँपको अचार

आँपको अचार बनाएर बिक्री गरी यहाँका किसानले मनग्य आम्दानी गर्ने गरेका छन्। हुरीले चैत २६ गते झारेका आँपका चिचिला सानो भएर किसानले सदुपयोग गर्न सकेनन्। त्यसपछिका हुरीले झारेका आँपको चिचिला ठूल्ठूला भएका कारण स्थानीयले त्यसको आमिल (अचार परिकार) बनाए। यहाँको बजारमा प्रतिकिलो ४० देखि ६० रुपैयाँमा आमिल खरिदबिक्री हुने गरेको छ।

आमिल भारतीय बजारसम्म पनि पुग्ने गरेको छ। लहान नगरपालिका वडा नम्बर १४ बस्तीपुरका सफिजा खातुनले आँपको चिचिला चिरी सुकाएर बनाएकाले आमिल भारतीय बजार लौकहामा नुनसँग साटेको बताइन्। भनिन्, ‘आँपको चिचिलाबाट बनाएको एक किलो आमिलमा चार किलो नुनमा साटें।’ आमिल बनाएर राख्दा तरकारीका रूपमा पनि उपभोग गर्ने गरेको उनले सुनाइन्। उनका अनुसार आमिलबाट विभिन्न कम्पनीले अमिलो खानेकुरा पनि बनाउँछन्।

प्राविधिक ज्ञान अभाव

आँप खेती सम्बन्धमा प्राविधिक ज्ञान नभएर उत्पादन कम हुने गरेको किसान बताउँछन्। ‘यो ठाउँ आँप उत्पादनको पकेट क्षेत्र हो। यहाँ सबैले आँप खेती गर्छन्’, स्थानीय किसान रामपरीक्षण महतोले भने, ‘तर, प्राविधिक ज्ञान कसैलाई छैन।’ आँप खेती भगवान् भरोसामा भइरहेको उनले सुनाए। सरकारले आँपको बोटमा मञ्जरी लागेदेखि आँप पाकेसम्म के–के गर्ने भनेर प्राविधिक ज्ञान दिए उत्पादन दोब्बर हुने उनको विश्वास छ।

अर्का किसान मि श्री यादवले पनि प्राविधिक ज्ञान नहुँदा आँप उत्पादन बढाउन नसकेको बताए। सरकारले हरेक वर्ष कृषिमा लगानी बढाएको समाचार सुनिए पनि आजसम्म कसैबाट सहयोग नपाएको उनको गुनासो छ। आवश्यक जानकारी नपाउँदा बर्सेनि लाखौं रुपैयाँबराबरको क्षति हुने गरेको उनले बताए। ‘कहिले चिचिलामै किरा लाग्न थाल्छ त कहिले पाक्ने बेला सर्न थाल्छन्’, उनले भने, ‘आँप उत्पादन बढाउन किसानका लागि तालिमको व्यवस्था सरकारले गरिदिनुपर्‍यो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.