अरुण तेस्रोको बाँधमा चार जना बेपत्ता
खाँदबारी : अरुण तेस्रो परियोजनाको बाँध निर्माणस्थलमा पहिरो खस्दा दुई भारतीयसहित चार जना सुरुङभित्रै थुनिएर बेपत्ता भएका छन्।मकालु गाउँपालिका-५ को फ्याक्सिन्दा दोभानमा शुक्रबार राति करिब ८ः४० बजे पहिरो खसेको हो।
पहिरोले पुरिएर चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी श्याम सारु मगरले जानकारी दिए। मगरले भने, ‘जलविद्युत् परियोजनाको बाँध निर्माणस्थलमा सुरुङ निर्माण क्रममा उत्तरतर्फको पहाड खस्दा पुरिएर पाँच जना बेपत्ता भएका छन्।’
बेपत्ता हुनेमा कालिकोटका कामदारहरू ३२ वर्षीय प्रदीप शाही, जुम्ला चन्द्रनगर नगरपालिका-१ का ४४ वर्षीय प्रेम परियार, भारत झारखण्डका अपरेटर ५५ वर्षीय बुधन मुण्डा र भारत विहारका पम्प सहयोगी ४५ वर्षीय नन्द किशोर रहेका छन्।
सुरुङ मार्ग निर्माण प्रयोग गरिएको बुमरसहित सुरुङभित्र चार जना कामदार फसेको र उनीहरू सुरक्षित रहेको हुन सक्ने उद्धारमा सक्रिय नेपाली सेनाले जनाएको छ। बाहिरी भाग मात्र पहिरोले पुरिएको हुनाले बेपत्ताको तत्काल उद्धार गर्ने हो भने जीवितै बाहिर निकाल्न सकिने स्थानीय बताउँछन्। मकालु-५ मा रहेको बाँध निर्माण स्थलमा हाल सुरुङ मार्गसहित अन्य आयोजनाको निर्माण कार्य सञ्चालन भइरहेको थियो।
पहिरो नरोकिँदा र वर्षा पनि भइरहँदा उद्धारमा समस्या देखिएको छ। सुरुङमार्ग निर्माण भइरहेको स्थानमा माथिबाट पहिरो खसेको थियो। शनिबार दिनभरि ४ वटा स्काभेटरले पहिरो पन्छाएका थिए। तर, फसेकालाई निकाल्न सकिएको छैन। वर्षाले उद्धारमा अवरोध भएको छ।
प्रहरीका अनुसार सुरुङमा कति कामदार थिए भन्ने यकिन हुन सकेको छैन। बेपत्ताको खोजी भइरहेको डीएसपी मगरले जानकारी दिए। उनले भने, ‘निरन्तर पहिरो खस्ने क्रम जारी रहेकाले उद्धारमा निकै समस्या भएको छ।’ उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी पनि खटिएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै मोदीको नेपाल भ्रमणका क्रममा परियोजनाको संयुक्त रूपमा काठमाडौंबाट शिलान्यास गरेका थिए। २५ मिटर निर्माण भइसकेको सुरुङ निर्माणका लागि मेसिन प्रयोग गरिएको परियोजनाले जनाएको छ।