सशक्त पुनरागमनको प्रतीक्षा : नेमारको प्रदर्शनमा ब्राजिलको भविष्य

सशक्त पुनरागमनको प्रतीक्षा  : नेमारको प्रदर्शनमा ब्राजिलको भविष्य

मस्को : चार वर्षअघि ब्राजिलले आफ्नै घरमा विश्वकप इतिहासकै लज्जास्पद नतिजा बेहोर्‍यो । सेमिफाइनलमा जर्मनीसँग ७-१ गोलले पराजित भएपछि पाँच पटकको विश्वकप विजेता ब्राजिल अघि बढ्न सकेन । त्यसपछि तेस्रो स्थानका लागि भएको खेलमा समेत ब्राजिल नेदरल्यान्डसँग ३-० गोलले पराजित भयो ।

छनोट चरण पार गर्दै विश्वकप फुटबलको प्रत्येक संस्करण खेल्ने मात्र एक्लो टोली ब्राजिलले विश्वकप फुटबलमा त्यसअघि कुनै पनि टोलीविरुद्ध कहिल्यै यो नतिजा बेहोरेको थिएन । त्यसको चार वर्षपछि फेरि रुस विश्वकप सुरु हुँदा ब्राजिल त्यही पराजयको पीडाबाट मुक्त हुँदै आफ्नो पुरानै गर्विलो छवि पछ्याउने प्रयासमा जुटेको छ । त्यसअघि ब्राजिल कम्तीमा स्विट्जरल्यान्डविरुद्ध आइतबार हुने समूहगत चरणको आफ्नो पहिलो खेलमा ठूलो जितसहित सशक्त पुनरागमन गर्न चाहन्छ ।

ब्राजिलले रुस विश्वकपअन्तर्गत आइतबार रोस्तोभ एरेनामा नेपाली समयअनुसार ११:४५ बजे स्विट्जरल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दै छ । यो खेल सर्वाधिक सफल टोलीवरुद्ध सधैं मध्यम प्रदर्शन गरिरहने टोलीबीचको प्रतिस्पर्धा पनि हो । ब्राजिलले पाँचपटक उपाधि जित्दा स्विट्जरल्यान्ड क्वार्टरफाइनलभन्दा माथि जान सकेको छैन ।

धेरैलाई यही खेलको प्रतीक्षा पनि छ, ब्राजिलको नयाँ अवतार हेर्न । वास्तवमा चार वर्षअघि आफ आयोजक हुँदा जर्मनी र नेदरल्यान्ड्ससँग बेहोरेको पराजयपछि ध्वस्त देखिएको ब्राजिल अहिले धेरै फेरिएको छ । युरोपेली फुटबलमा स्थापित एकसेएक राम्रा खेलाडीले भरिएको ब्राजिल मुख्य खेलाडी नेमारबिना पनि सशक्त देखिने गर्छ ।

ब्राजिल दक्षिण अमेरिकी क्षेत्रबाट रुस विश्वकपका लागि छनोट पक्का गर्ने पहिलो टोली हो । ब्राजिलले दक्षिण अमेरिकी छनोटको १८ मध्ये कुनै पनि खेलमा पराजय बेहोरेन । त्यसपछि रुस विश्वकपका लागि खेलिएको पछिल्लो ६ खेलमा पनि ब्राजिलले पाँच जितसहित आफूलाई अपराजित राखेको छ । यही प्रदर्शनले ब्राजिललाई रुस विश्वकपमा उपाधिकै दाबेदार पनि बनाएको हो ।

यद्यपि ब्राजिलले स्विट्जरल्यान्डलाई कमजोर आँक्ने गल्ती गर्न हुँदैन । स्विट्जरल्यान्डलाई रुस विश्वकपको छनोट पक्का गर्न केही मुस्किल देखियो । प्लेअफमा नर्दन आयरल्यान्डविरुद्ध दुवै लेगको खेलमा गरी १-० को जितपछि मात्रै स्विट्जरल्यान्ड रुस विश्वकपमा पुगेको हो । यद्यपि युरोपेली राम्रा लिगमा स्थापित खेलाडीको साथ रहेको स्विट्जरल्यान्डले कुनै पनि टोलीविरुद्ध अप्रत्याशित नतिजा निकाल्न सक्नेछ । त्यसैले उपाधिसम्म पुग्नुअघि ब्राजिलले यो सत्यतामा पनि ख्याल पुर्‍याउनु पर्नेछ ।

विश्वकप फुटबलमा यी दुई टोलीबीच यसअघि भएको प्रतिस्पर्धाको नतिजाले पनि त्यही तथ्यलाई संकेत गरेको छ । यी दुई टोलीले विश्वकप फुटबलमा मात्र एकपटक सन् १९५० मा भेट हुँदा २-२ गोलको बराबरी खेलेका थिए । त्यसयता भएका सात मैत्रीपूर्ण खेलमा भने ब्राजिलले तीनमा जित हात पार्दा दुई खेलमा पराजय बेहोरेको छ ।

हेड टु हेड

कुल खेल : ८

ब्राजिल विजयी : ३

स्विट्जरल्यान्ड विजयी : २

बराबरी : ३

ब्राजिल

विश्वकप सहभागिता : २१औं पटक

उपलब्धि : उपाधि पाँचपटक

फिफा वरीयता : २

स्विट्जरल्यान्ड

विश्वकप सहभागिता : ११औं पटक

उपलब्धि : क्वार्टरफाइनल तीनपटक

फिफा वरीयता : ६

 

प्रभाव पार्न सक्ने खेलाडी 

नेमार, ब्राजिल

प्राविधिक रूपमा निकै छरिता नेमार उत्कृष्ट फुटबलर उत्पादन गर्ने ब्राजिलको विरासत थाम्ने खेलाडी हुन् । फुटबलमा पेले, रोनाल्डो, रोनाल्डिन्होलगायत महान् ब्राजिलियन खेलाडीको विरासत उनै नेमारले बोकेका छन् । यी २६ वर्षीय स्ट्राइकरले आफ्नो उदयको छोटो अवधिमै अन्तर्राष्ट्रिय फुटबलमा तहल्का मच्चाएका छन् ।

गत सिजन स्पेनी क्लब बार्सिलोना छाडेर विश्वकीर्तिमानी रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) पुगेका नेमार अहिलेका सर्वाधिक महँगा खेलाडी हुन् । मैदानमा निकै सशक्त देखिने नेमारसँग फुटबलको भरपूर कला छ । खेलप्रतिको उनको ‘भिजन’, त्यही भिजनअनुसार बलसँग खेल्ने क्षमता र शैली विलक्षणको छ । उनको खुट्टामा बल हुँदा कुनै पनि टोलीका रक्षापंक्तिलाई मुस्किल पर्छ । दुईभन्दा बढी विपक्षी रक्षकलाई उनी सहजै छक्काएर बल अघि बढाउन सक्छन् ।

सन् २०१४ मा आफ्नै देशले आयोजना गरेको विश्वकपको क्वार्टरफाइनलमा नेमार चोटग्रस्त बनेपछि ब्राजिल सेमिफाइनलभन्दा माथि जान सकेन । बरु ब्राजिलले सेमिफाइनल खेलमा जर्मनीसँग ७–१ गोलको अहिलेसम्मकै लज्जास्पद हार बेहोरेको थियो । ब्राजिल अहिले हारको त्यो पीडा भुलेर रुस विश्वकपको तयारीमा छ । पछिल्लो केही समययता टोलीका महŒवपूर्ण सदस्य रहँदै आइरहेका नेमारले ब्राजिलले रुस विश्वकपमा तय गरेको उपाधिको योजनालाई अघि बढाउन महŒवपूर्ण भूमिका निर्वाह गर्नेछन् । उनको त्यही भूमिका रुस विश्वकपमा हेर्नलायकको हुनेछ । सन् २०१० मा ब्राजिलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका नेमारले त्यसयता ८५ खेलबाट ५५ गोलसमेत गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.