नेपाल प्रहरीका पाँच एसएसपी डीआइजी बढुवाका लागि सिफारिस
काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका ५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएपी)हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ। गृह मन्त्रालयमा बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरूलाई डीआइजी पदमा बढुवा लागि सिफारिस गरेको हो।
बढुवा सिफारिस हुनेहरूमा ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोबिन्द थपलिया छन्। बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहका अनुसार कार्कीले ७२.५२२४ अंक प्राप्त गरेका थिए। उनी प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयको जिम्मेवारीमा छन्।
त्यस्तै कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रको जिम्मेवारीमा रहेका भट्टले ७२.०२२४ अंक प्राप्त गर्दा लागुऔषध नियन्त्रण व्युरोमा रहेका आचार्यले ७१.९४०२ अंक प्राप्त गरे। त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका पौडेलले ७१.८५४६ र प्रहरी प्रधान कार्यालयमै रहेका थपलियाले ७१.६०८५ अंक प्राप्त गरे।
यसअघि गृह मन्त्रालयले मंगलबार कुबेर कडायत र रबिन्द्र केसीलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको थियो।
प्रतिक्रिया दिनुहोस !