प्रतिनिधि सभा बैठक
कर्णालीलाई भाषण र नारामा सीमित गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : सांसद शाही
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले कर्णालीलाई भाषण र नारामा मात्र सीमित गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले विकासका अधिकांश सूचकमा कर्णाली अझै पनि पछाडि रहेको बताए।
उनले कर्णालीमा गरिबी, अशिक्षा, बेरोजगारी, खाद्य असुरक्षा तथा स्वास्थ्य सेवाको अभावका कारण नागरिकहरू संविधानले सुनिश्चित गरेका आधारभूत अधिकारबाट समेत वञ्चित हुनुपरेको उल्लेख गरे।
बहुआयामिक गरिबीको दर देशकै उच्च रहेको र मानव विकासका सूचक राष्ट्रिय औसतभन्दा निकै तल रहेको भन्दै उनले यसलाई विडम्बनापूर्ण अवस्था भएको बताए।
सांसद शाहीले हरेक सरकारले नीति तथा कार्यक्रममा कर्णालीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए पनि बजेट विनियोजन,कार्यान्वयन र प्राप्त परिणामले त्यसको पुष्टि नगरेको जिकिर गरे। अहिलेको सरकारले पनि कर्णालीलाई न्याय गर्न नसकेको उनको भनाइ छ।
वर्षायाम सुरू हुनासाथ कर्णालीका सडकको अवस्था दयनीय बन्ने गरेको उल्लेख गर्दै उनले सडक दुर्घटनामा परेर हरेक वर्ष दर्जनौं परिवार शोकमा पर्ने गरेको र सयौंले ज्यान गुमाइसकेको बताए।
कर्णालीका सडक पूर्वाधारलाई पर्याप्त प्राथमिकता नदिएको भन्दै उनले बजेटमा त्यसतर्फ सरकारले आवश्यक ध्यान नदिएको आरोप लगाए।
प्रतिक्रिया दिनुहोस !