प्रस्तावित निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तबारे संसदीय सुनुवाइ सुरु
काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरुको सुनुवाई प्रक्रिया सुरु गरेको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको सुनुवाई प्रक्रिया अघि बढाएको हो ।
प्रस्तावित व्यक्तिहरुको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उनले बताए । आगामी साउन ५ गते बस्ने समिति बैठकमा प्राप्त भएका उजुरी खोलिने र अध्ययनका लागि सदस्यहरुलाई बितरण गरिने उनले जानकारी दिए ।
बैठकमा बिपक्षी दलका सांसदहरुले सुनुवाई प्रक्रिया हतारमा नभइ प्रक्रिया पुराएर अघि बढाउन आग्रह गरेका थिए । समिति सदस्य पद्मा अर्यालले एकै दिन सुनुवाइ प्रक्रिया अघि बढाउँदा प्रभावकारी नभएको भन्दै प्रक्रियागत रुपमा नै सुनुवाई गर्नुपर्ने धारणा राखे । त्यस्तै समिति सदस्य बर्षमान पुनले संसदीय सुनुवाईको बिगतको अभ्यास अनुसार अघि बढाउनु पर्ने बताए ।
सांसदहरुको सुझावपछि समितिका सभापति श्रेष्ठले प्रक्रियागत रुपमा नै पर्याप्त छलफल गर्दै सुनुवाई प्रक्रिया अघि बढाइने बताए । संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले निर्वाचन आयोगको रिक्त पदमा तीन जनाको नाम सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !