खामेनीको अन्त्यसँगै इरानमा एउटा युग समाप्त, ध्वस्त निवासको भिडियो सार्वजनिक

खामेनीको अन्त्यसँगै इरानमा एउटा युग समाप्त, ध्वस्त निवासको भिडियो सार्वजनिक
तस्बिर एआई
सुन्नुहोस्

तेहरान : इरान सरकारले आफ्ना दिवंगत सर्वोच्च नेता (सुप्रिम लिडर) आयातोल्लाह अली खामेनीको आवासीय परिसरमा भएको मिसाइल आक्रमण र त्यसबाट पुगेको क्षतिको आधिकारिक भिडियो पहिलो पटक सार्वजनिक गरेको छ। 

बुधबार राति सार्वजनिक गरिएको ३५ सेकेन्डको उक्त भिडियोमा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणका कारण खामेनीको निवास भग्नावशेषमा परिणत भएको देखिन्छ। राजधानी तेहरानमा खामेनीको अन्तिम संस्कारको औपचारिक कार्यक्रम चलिरहेका बेला सरकारले यो भिडियो जारी गरेको हो। दिवंगत सर्वोच्च नेता खामेनीलाई आज (बिहीबार) इरानको पवित्र सहर मशहदमा समाधिस्थ (दफन) गरिँदै छ।

३५ मिसाइल प्रहार, परिवारसहित ४० अधिकारीको मृत्यु

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको संयुक्त हवाई आक्रमणको पहिलो दिन नै आयातोल्लाह खामेनी मारिएका थिए। उक्त भीषण आक्रमणका क्रममा एकैसाथ ३५ वटा मिसाइल खसालिएका थिए। सोही आक्रमणमा खामेनीकी १४ महिने नातिनीसहित उनको परिवारका पाँच सदस्य र इरानका ४० जना उच्च अधिकारीहरूले समेत ज्यान गुमाएका थिए।

सत्ताको केन्द्र 'बैत-ए-रहबरी' ध्वस्त

तेहरानको केन्द्रभागमा अवस्थित अत्यधिक सुरक्षित र कडा सुरक्षा घेराभित्र रहेको खामेनीको उक्त निवासलाई 'बैत-ए-रहबरी' भनिन्थ्यो। बाहिरबाट हेर्दा साधारण देखिने यो परिसर केवल एउटा आवास मात्र नभएर इरानको सत्ता, शक्ति र राजनीतिको मुख्य केन्द्र (कार्यालय) समेत थियो।

परिसरभित्र हजारौँ कर्मचारी कार्यरत रहने प्रशासनिक भवन, बैठक कक्ष र एउटा ठुलो ऐतिहासिक सभा हल थियो, जहाँ खामेनीले धार्मिक नेता, विदेशी प्रतिनिधि र सर्वसाधारणलाई सम्बोधन गर्ने गर्दथे। सार्वजनिक भिडियोमा उक्त मुख्य सभा हल पूर्ण रूपमा क्षतिग्रस्त भएको देखाइएको छ। अग्ला पर्खाल र बहु-तहको सुरक्षा प्रणालीका कारण यसलाई इरानकै सबैभन्दा सुरक्षित क्षेत्र मानिन्थ्यो।

क्रान्तिदेखि सर्वोच्च सत्तासम्मको यात्रा

सन् १९७९ को इस्लामिक क्रान्तिमा इरानका शाह मोहम्मद रजा पहलवीलाई सत्ताच्युत गर्न आयातोल्लाह खामेनीले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। क्रान्तिपछि सन् १९८१ मा उनी इरानको राष्ट्रपति निर्वाचित भएर ८ वर्षसम्म कार्यभार सम्हाले। सन् १९८९ मा तत्कालीन सर्वोच्च नेता रुहोल्लाह खोमेनीको निधन भएपछि खामेनी नयाँ सर्वोच्च नेता घोषित भएका थिए। त्यसयता उनी निरन्तर इरानको सर्वोच्च पदमा आसिन रहँदै आएका थिए।

मोजतबा खामेनीको नेतृत्वमा नयाँ युग 

आयतोल्लाह अली खामेनीको अन्त्यसँगै इरान अब आफ्ना तेस्रो सर्वोच्च नेता, ५६ वर्षीय मोजतबा खामेनीको नेतृत्वमा नयाँ युगमा प्रवेश गर्दैछ। मोजतबा आफ्ना पिता मारिएको सोही हवाई आक्रमणमा गम्भीर घाइते भएका थिए। इजरायलबाट अझै पनि सुरक्षा थ्रेट (ज्यानको धम्की) रहेका कारण उनी अहिलेसम्म सार्वजनिक रूपमा देखा परेका छैनन्। पिताको अन्त्येष्टिमा समेत उनका तीन भाइ मात्र उपस्थित थिए।

लामो समयदेखि सर्वोच्च सत्ता सम्हालेका नेताको अवसान र नयाँ नेतृत्वको आगमनसँगै इरानको आगामी बाटो अत्यन्तै चुनौतीपूर्ण र अनिश्चित बनेको छ। इरानका अगाडि अब एकातिर सम्भावित युद्धको सङ्कट टार्नुपर्ने दबाब छ भने अर्कोतिर ध्वस्त भएको अर्थव्यवस्था सुधार्न र अन्तर्राष्ट्रिय प्रतिबन्धहरू हटाउन अमेरिकासँग वार्ता गर्नुपर्ने बाध्यता आइलागेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.