अमेरिका-इरान युद्धविराम अन्त्य भएको ट्रम्पको घोषणा
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अन्त्य भएको घोषणा गरेका छन्। दुई देशबीच हालै भएका शृङ्खलाबद्ध आक्रमण र प्रत्याक्रमणपछि राष्ट्रपति ट्रम्पले अमेरिका-इरान युद्धविराम 'अन्त्य भएको' औपचारिक घोषणा गरेका हुन् ।
नेटो शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्प इरानी नेतृत्वप्रति निकै आक्रामक रूपमा प्रस्तुत भए। उनले सञ्चारकर्मीहरूसँगको कुराकानीमा इरानसँग अब कुनै पनि संवादको औचित्य नरहेको दाबी गरे ।
उनले भने,'मेरो विचारमा यो (युद्धविराम) अब समाप्त भइसकेको छ। म अब उनीहरूसँग कुनै कुराकानी गर्न चाहन्नँ, उनीहरू घटिया मानिस हुन् । जहाँसम्म मेरो सवाल छ, यो मामिला अब सकियो । उनीहरूसँग कुरा गर्नु समयको बर्बादी मात्र हो, उनीहरू ढाँट्छन् ।'
ट्रम्पले दुवै पक्षका वार्ताकारहरूले चाहेमा कुराकानी अगाडि बढाउन सक्ने भए तापनि त्यसले समयको बर्बादी मात्र गराउने टिप्पणी गरे ।
इरानी वार्ताकारहरूप्रति थप टिप्पणी गर्दै राष्ट्रपति ट्रम्पले भने,'उनीहरू वास्तवमै मानसिक रूपमा अस्वस्थ छन् । उनीहरूका नेताहरू मानसिक रूपमा बिरामी मानिसहरू हुन् । मेरो नजरमा उनीहरूसँग डिल गर्नु समय बर्बाद गर्नु मात्र हो ।'
उनले यस विषयमा आफूले निकटवर्ती सहयोगीहरू स्टिभ विट्कफ र जेराल्ड कुश्नरसँग थप कुराकानी गर्ने बताए । तर, वार्ताको टेबलमा फर्किने वा नफर्किने भन्ने कुराको अन्तिम निर्णय अब तेहरान (इरान) कै हातमा रहेको कुरामा उनले जोड दिए ।
प्रतिक्रिया दिनुहोस !