लरेन्स बिश्नोई गिरोहसहित आपराधिक समूहविरुद्ध कारबाही गर्ने अमेरिकाको घोषणा
‘गुण्डाहरूका लागि कुनै सुरक्षित ठाउँ छैन’
अमेरिका : अमेरिकी सरकारी अभियोजकहरूले अमेरिका, क्यानडा र युरोपबाट २४ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको घोषणा गरेका छन् ।
उनीहरूमाथि भारतसँग सम्बन्धित तीन वटा संगठित आपराधिक गिरोहसँग आबद्ध रहेको आरोप लगाइएको छ । तीमध्ये लरेन्स बिश्नोई गिरोह पनि समावेश छ । यस अभियानलाई ‘अपरेसन हार्ड बल’ नाम दिइएको छ । यी अभियुक्तमाथि सन् २०२३ मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित एक गुरुद्वारा बाहिर सिख नेता हरदीप सिंह निज्जरको हत्या गर्ने षड्यन्त्र रचेको आरोप समेत लगाइएको छ ।
लस एन्जलसका संघीय अभियोजकहरूका अनुसार यी पक्राउहरू धेरै वर्षसम्म चलेको अनुसन्धानको परिणाम हुन् । अनुसन्धान भारतसँग सम्बन्धित आपराधिक गिरोहतर्फ केन्द्रित थियो, जसलाई लक्षित हत्या, फिरौती असुली र लागूऔषध तस्करी जस्ता गतिविधिमा संलग्न रहेको आरोप छ ।
निज्जर हत्या प्रकरण
४५ वर्षीय हरदीप सिंह निज्जरको तीन वर्षअघि गोली हानी हत्या गरिएको थियो । दुई जना मुख छोपेका आक्रमणकारीले भ्यानकुभरबाट करिब ३० किलोमिटर पूर्वमा रहेको सरे सहरको गुरु नानक सिख गुरुद्वाराको व्यस्त पार्किङ क्षेत्रमा उनको गाडीमै गोली प्रहार गरेका थिए । निज्जर प्रमुख सिख पृथकतावादी नेता थिए र उनले सार्वजनिक रूपमा खालिस्तानको मागलाई समर्थन गर्दै आएका थिए ।
संघीय अभियोजकहरूले भारतका ३३ वर्षीय लरेन्स बिश्नोई र ३२ वर्षीय सतिन्दरजीत सिंह उर्फ गोल्डी बरारमाथि निज्जरको हत्या गर्न आदेश दिएको आरोप लगाएका छन् । अभियोजकहरूले निज्जरलाई अभियोगपत्रमा ‘एचएसएन’ नामले उल्लेख गरेका छन् । गोल्डी बरार अझै फरार छन् भने लरेन्स बिश्नोई सन् २०१५ देखि भारतको जेलमा छन् । गत वर्ष क्यानडाले बिश्नोई गिरोहलाई आतंकवादी संगठनको सूचीमा राखेको थियो ।
यससँगै क्यानडाको संघीय सरकारले उक्त समूहको सम्पत्ति जफत गर्ने र आर्थिक स्रोत रोक्ने अधिकार प्राप्त गरेको थियो ।
सन् २०२४ मा यस हत्या प्रकरणमा चार जना भारतीय नागरिक पक्राउ परेका थिए । त्यसपछि भारत र क्यानडाबीच ठूलो कूटनीतिक विवाद सुरु भएको थियो । मंगलबार अभियोजकहरूले बिश्नोई गिरोहका सदस्यहरूले प्रमुख धार्मिक तथा राजनीतिक नेताहरूलाई हिंसाको निशाना बनाएको र त्यसपछि समुदायका मानिसहरूसँग फिरौती असुल्ने प्रयास गरेको आरोप पनि लगाए ।
उनीहरूका अनुसार बिश्नोई, गोल्डी बरार र अन्य अभियुक्तहरूले क्यालिफोर्नियामा एक व्यक्तिसँग डिसेम्बर र जनवरी महिनामा ५० लाख अमेरिकी डलर फिरौती मागेका थिए । अनुसन्धानका क्रममा कानून कार्यान्वयन निकायहरूले करिब १,००० किलोग्राम कोकिन, १ किलोग्राम हेरोइन, ४० हजार अमेरिकी डलर नगद र करिब एक दर्जन हतियार बरामद गरेको बताएका छन् । यस अनुसन्धानमा एफबीआई, लस एन्जलस प्रहरी, रोयल क्यानेडियन माउन्टेड पुलिस तथा अमेरिकी कस्टम्स एन्ड बोर्डर प्रोटेक्सनका अधिकारीहरू सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस !