रंगमञ्चमा जंगबहादुरको मृत्यु
काठमाडौं : राजधानीमा शनिबारबाट सेलो नाट्य महोत्सव २०७५ सुरु भएको छ। मोहत्सवको पहिलो दिन सोनाम लामा मोक्तानद्वारा निर्देशित ‘सोनाम ग्याल्मो’ नाटक मञ्चन गरियो। फूलमान वलद्वारा लिखित उक्त नाटक जंगबहादुरको मृत्युसम्बन्धी तामाङ समुदायमा प्रचलित किंवदन्तीमा आधारित छ।
किंवदन्तीअनुसार सिकार खेल्न पत्थरघट्टा पुगेका तत्कालीन श्री ३ जंगबहादुरले एक सुन्दर तामाङ युवती देख्छन्। युवतीको रूप र यौवन देखेर जंगबहादुर लोभिन्छन् र युवतीलाई रखौटे बनाउन पुग्छन्। त्यसको केही समयपछि एक युवक जंगबहादुर अघिल्तिर उभिन आइपुग्छ र ‘जार काट्न मिल्ने कि नमिल्ने ? ’ भन्दै प्रश्न सोध्छन्। आफैंले बनाएको जार काट्ने कानुन जंगबहादुरले हुँदैन भन्ने ठाउँ थिएन। उनी भन्छन्, ‘यति जाबो कुरा सोध्न तँ यहाँसम्म आएको ? किन नमिल्नु मिल्छ।’ लगत्तै युवकले जंगबहादुरमाथि खुकुरी प्रहार गर्छन् र जंगबहादुर घाइते हुन पुग्छन्। किंवदन्ती यत्ति हो।
यसैलाई आधार बनाएर विवाहको धूमधाम तयारीको साथ ‘सोनम ग्याल्मो’ नाटक मञ्चन हुन्छ। तामाङकी छोरी चेलीलाई पराईघर अन्माउँदै गर्दा तामाङ विवाह विधिलाई पूर्ण रूपमा देखाइन्छ। टीकाटालो चलिरहँदा बटुकामा जाँड खाँदै केटा र केटी पक्षका आफन्त लामो समयसम्म दोहोरी खेल्छन्। डम्फुको तालमा लासो गीत र नाच चल्छ। केटा र केटी विवाहबन्धनका बाचा गर्न थाल्छन्। टीकाटालो लामो हुने भएपछि केटी पक्षबाट समय बिताउन कथा सुनाउने कुरा उठ्छ। अनि सुरु हुन्छ, जंगबहादुरको रहस्यमय मृत्युमा आधारित किंवदन्ती। किंवदन्तीमा सोनाम र ग्याल्मोको भर्खरभर्खरै विवाह भएको छ। तर, सिकारको समय जंगबहादुरको आँखा ग्याल्मोको यौवनमा परेपछि कथाले अर्कै मोड लिन्छ। जंगबहादुरले ग्याल्मोको सर्वस्व हरण गरिसकेका हुन्छन्। उता आफ्नी श्रीमती श्री ३ सरकारको कब्जामा परेको थाहा पाएपछि सोनाम जंगबहादुरलाई मार्ने निर्णयका साथ घरबाट निस्कन्छन्। सोनामले जंगबहादुरकै सहमतिमा जार काट्छन्।
जंगबहादुरको मृत्यु त्यही युवकको खुकुरी प्रहारबाट भयो या अरू केही कारणले ? किंवदन्ती मौन छ। त्यसो त स्वंय जंगबहादुरको मुत्युसम्बन्धी तथ्य र कथ्य रहस्यमय नै छन्। कसैले सेतो बाघले झम्टेको उल्लेख गरेका छन् त कसैले अधिक अफिम सेवन गरेर। उनकै छोरा पद्मजंग राणाले लेखेको पुस्तकमा जंगबहादुरको मृत्यु अचानक रगत छादेर भन्ने उल्लेख छ।
युमाश कटाक्षद्वारा लिखित, स्पेस टाइम्स दैनिक २०५७ मा प्रकाशित डाँकाको बासमा परिणत हुँदै श्री ३ जंगेको समाधि आलेखमा जंगबहादुरलाई तामाङ जारले काटेको सन्दर्भ छ। त्यस्तै अन्य तामाङ लोककथामा पनि यो सन्दर्भ छ। यसैलाई आधार मानेर नाटकले तामाङ संस्कार, संस्कृति र बदलिँदो समयको कथा पस्केको देखिन्छ। किंवदन्तीको अन्त्यमा जंगबहादुरलाई प्रहार गर्ने युवक सोनाम घाइते भएका हुन्छन्। पछि सायद उनको मृत्यु भएको हुनुपर्छ। त्यसैले ग्याल्मो सती जान्छिन्।
महोत्सव लगातार तीन दिनसम्म शिल्पी थिएटरमा चल्नेछ। आइतबार गोपाल फ्युबा निर्देशित ‘ताचेमा’ र शान्ति वाइबा निर्देशित ‘ङाला फ्रेङ्बा धोङला टा’ मञ्चन गरिनेछ भने सोमबार निशा पाख्रिन र सन्तोष तामाङको ‘चारदाम’ र रोशन फ्युबाको ‘ल्हालिमो’ नाटक मञ्चन हुनेछ।
नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र सेलो फाउन्डेसनको संयुक्त प्रयासमा भएको महोत्सवको उद्घाटन पूर्वमन्त्री आनन्द पोखरेलले गरेका थिए। कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका कुलपति सरुभक्तले तामाङ जातिको कलासंस्कृतिको उत्थानमा प्रतिष्ठानको सहयोग रहने बताए।