प्रचण्ड निवास अगाडी कालोपत्रे, पछाडी विजोग
ललितपुरः ललितपुर महानगरपालिका–१५ ढोलाहिटीमा बस्दै आएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास अगाडीसम्म सडक कालोपत्रे भए पनि उनकाे निवास पछाडी भने सडकको हालत निकै खराब छ ।
आइतबार बिहान सबेरै खोटाङको दिक्तेल जान भनेर हिडेका मणीकुमार रार्इको स्कोरपियो गाडी हिलोमा फसेपछि उनी अलपत्र परे । करीब चार घण्टापछि क्रेन ल्याएर तानी उनको गाडी निकालियो । गाडी फसेको ठाउँ प्रचण्ड निवासभन्दा करीब ७० मिटरको दूरीमा पर्छ ।
हिलोमा फसेको राईको गाडी स्थानीयहरुसमेत मिलेर डोरी लगाएर तान्दा पनि निकाल्न सकिएन । गाडी निकाल्ने सबै प्रयास असफल भएपछि क्रेन झिकाएको मणीकुमार राईले बताए ।
यस सडकमा दिनहुजसो कुनै न कुनै सवारी फस्ने गरेको स्थानीय राम केसी बताउछन् । केसी भन्छन–‘हिजो मात्रै तीनवटा गाडी फसेका थिए, फराकिलो बनाउने नाममा खनिएका र माटोले पुरेका कारण हिनहुँ गाडीहरु फस्दै आएकाछन्।’
सडक बिग्रिएपछि यसक्षेत्रमा एम्बुलेन्स, विद्यालयका बस आवत–जावत गर्न सकेका छैनन । खाद्यान्न ढुवानी गर्ने सवारी साधनसमेत आउन नसकेको स्थानीयको गुनासो छ । दुई पाङ्ग्रे सवारी साधन पनि यहाँ चल्न सक्ने अवस्था छैन ।
आवत–जावतका लागि यस सडकको विकल्प नभएका कारण स्थानीयहरु निकै पीडित बनेका छन् । उनीहरु सरोकारवाला निकायप्रति आक्रोश पोखिरहेकाछन् ।
यस वडाका अध्यक्ष सुरेश महर्जनले सडकको दुईतिर रिटेनिङ वाल लगाउँदा बजेट सकिएकाले हाललार्इ ग्राभेल गर्न नसकिएको जनकारी दिए । वडा अध्यक्षले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै स्थानीयहरु असहत छन् ।
यसै क्षेत्रमा बसोबास गर्दै आएका प्रदेश सांसद राजकाजी महर्जनले आफनो क्षेत्रमा ढल व्यवस्थापनका लागि बजेट छुट्याएको र सडक पनि बिस्तारै बन्ने आश्वासन दिएका छन् ।