महिलाका पहिरनमा राजनीति

महिलाका पहिरनमा राजनीति

हालै एक नायिकाको पहिरनलाई लिएर विभिन्न सञ्चारमाध्यमका साथै सामाजिक सञ्जालमा निकै चहलपहल देखियो। उनको पहिरन र उमेरलाई लिएर सहमति, विमति, छेडछाड, व्यंग्य निकै चल्यो। गजबको थियो त्यो सामाजिक सञ्जालीय तानातान र हानाहानको अवस्था। तर सतहमा देखिएको पहिरन विवाद केवल कपडाको सन्दर्भ थिएन। त्यसभित्र नेपाली समाजले महिलालाई हेर्ने दृष्टिकोण र मानसिकताको अभिव्यक्ति पनि थियो। महिलामाथि हाम्रो समाजले लादेको मान्यताकै उपज हो यो मानसिकता। जसकै जगमा चलिरहेछ पहिरन राजनीति।

पहिरन चिन्तन

विश्व क्रसड्रेसिङको अभ्यासमा छ, जहाँ लोग्नेमानिस र स्वास्नीमानिसको पहिरनको दूरी विस्तारै मेटिँदो छ। चाहेजस्तो लगाउन र नचाहेको नलगाउन पनि मानिस स्वतन्त्र छ। एकातिर हामी वैश्विक नागरिक बन्ने अभ्यास गरिरहेछौं। अर्कोतिर भने हाम्रो समाज महिलाको मामिलामा एक कदम पछाडि हटिहाल्छ। आज पनि एउटी महिलाले लगाएको कपडा र बोली व्यवहारबाट उनीबारे धारणा बनाउने गरिन्छ। किनभने समाजले पहिरन, बोलीवचन, चालढाल एउटी असल महिलाका लागि पहिरनदेखि, बोलीवचन, चालढाल सबैमा पितृसत्तात्मक समाजले तोकिदिएको एक निश्चित मापदण्ड छ। ती सारा घेराबन्दीभित्र रहने एकदमै सुशील, शालीन, भद्र महिला भनिन्छ। त्यसभन्दा बाहिर गए सुरु हुन्छ टीकाटिप्पणी।

अघिल्लो पुस्ताका अधिकांश महिलाले लवाइखवाइदेखि बोलीव्यवहारसम्म मान्यताका दायराभित्र रही जीवन बिताए। देख्दा सौम्य र सबैतिर ढाकिने खालका पहिरन नै लगाए। सजिलो छैन सधैंभरि सारी-फरियामा सजिइबस्न। कहिलेकाहीं लगाउँदा पनि महसुस हुन्छ सारीको सकस। लगाउन समय लाग्ने मात्र हैन, नजान्दा खुट्टामा बेरिएर हिँड्नै पनि असहज। सजिलो गरी हिँड्न नसकिने पहिरन नै पितृसत्तात्मक निरंकुश समाजले तोकिदिएको थियो महिलाका लागि।

 महिला कतै दौडी भागी जान नसकून् भन्ने पुरुष मान्यताले काम गरेको थियो त्यसपछाडि। पहिरन मात्र हैन, असंख्य नियम कायदा पनि लादिए महिलामाथि। आम महिला तिनै पहिरनलगायतका अनेकन जड मान्यताले बाँधिएका छन् आजसम्म पनि। गहिरिएर नियाल्दा देखिन्छ महिलाको पहिरन र सौन्दर्यसँग जोडिएको समाजको विभेदकारी मनोविज्ञान।

सहज र छरितो लुगा कामकाजी महिलाको रहर मात्र नभई आवश्यकता पनि हो। तर आफूलाई सहज लुगा लगाउँदा पनि पितृसत्ताको पुरानो मान्यता सतहमा आइहाल्छ र सुरु हुन्छ टीकाटिप्पणी।
 

बानी लागेपछि त पीडा पनि सहज व्यहोरिन्छ। अघिल्लो पुस्ताका महिलाले समाजको बन्धनमा पनि आपूmलाई सहज बनाउने प्रयास गरे, तर समय अघि बढिसकेको छ। महिलाहरू अब घरआँगनबाट निस्किइसकेका छन्। उनीहरू अनेकन् पेसा-व्यवसायमा छन्। त्यसैले सहज र छरितो लुगा उनीहरूको रहर मात्र नभई आवश्यकता पनि हो। तर आपूmलाई सहज लुगा लगाउँदा पनि पितृसत्ताको पुरानो मान्यता सतहमा आइहाल्छ र सुरु हुन्छ टीकाटिप्पणी। पहिरनबारे हुने टीकाटिप्पणीले अरू केही होइन, महिलालाई हेर्ने दृष्टि नै अभिव्यक्त गर्छ।

पहिरन विभेद

परिवर्तनका लामा इतिहास बनाइसक्दा पनि नेपाली समाजमा दोहोरो मापदण्ड कायम नै छ। महिलाको पहिरनबारे पनि त्यस्तै दोहोरो मापदण्ड देखिन्छ। एउटी महिला बिहे अघिसम्म जति स्वतन्त्र हुन्छे, बिहे पनि हुन पाउँदिनँ। बुहारी भएपछि उसको निम्ति अर्को दायरा तयार हुन्छ। सासूससुरा अघि लगाउन हुने र नहुने फेहरिस्त बन्छ। यो त केवल सुरुवात हो। आमा भइसकेपछि ती महिलाका लुगामाथि थप बन्देज थोपरिन्छ। यो लुगामाथिको प्रतिबन्ध यत्तिकैमा सकिँदैन। उमेर बढेपछि पनि यदि केही महिलाले फेसनलाई निरन्तरता दिई भने टिप्पणी गरिन्छ, ‘उमेर पचपन...’। यही टिप्पणी किन लोग्नेमान्छेको हकमा हुँदैन ?

महिलाका लागि यसरी हरेक थोकमा प्रत्यक्ष-परोक्षरूपमा समाजले लगाउने बारका पछाडि निश्चित नै एउटा चिन्तन हावी छ। त्यो हो, निरंकुश पितृसत्तात्मक चिन्तन जसले महिलालाई पुरुषभन्दा तल्लो दर्जाको ठान्छ। आफूभन्दा तल्लो दर्जालाई दबाउन-कज्याउने सामन्ती मानसिकताले त्यहाँ काम गर्छ। आखिर शक्तिले जहिले कमजोरलाई अनेक तरिकाबाट दबाएकै हुन्छ। महिलाको हकमा पनि यस्तै भएको छ।

महिलालाई आफ्नो सम्पत्तिसरह ठान्ने पितृसत्तात्मक चिन्तनले गर्दा अरूले आफ्नो स्त्रीमाथि आँखा नलगाओस् भनेर ती सक्दो ढाकिएर बस्न बाध्य पारियो। त्यसैको नतिजा हो स्वतन्त्र र स्वावलम्बी महिलामाथिको प्रहार। मुस्लिम देशमा यस्तो बन्देज अझ बढी देखिन्छ। तर नबिर्सौं बुर्का केवल पहिरनमा मात्र हुँदैन। चिन्तनमा बुर्का ओढेपछि हरेक स्वतन्त्र महिलाको खिल्ली उडाउन सुरु हुन्छ।

पहिरन स्वतन्त्रता

प्रोफेसर न्यान्सी हेन्ली भन्छिन्, ‘शक्तिशालीले आफ्नो विशेष अवस्थालाई एक विशिष्ट तरिकाले व्यक्त गर्छन् जबकि त्यही कुरा अधीनस्थलाई भने बन्देज गरिन्छ।’ पितृसत्तात्मक समाजमा महिलाको हकमा यही प्रवृत्ति लागू हुन्छ। पुरुषलाई खान, लाउन, हिँड्न, आफूलाई अभिव्यक्त गर्नेजस्ता मामलामा समाजले त्यस्ता कुनै दायरा तोकिदिएको छैन जबकि महिलाका लागि भने अनेकन घेराबन्दी छन्। जब कोही महिला ती निश्चित दायराभन्दा बाहिर निस्कन खोज्छिन् तब उनीमाथि अनेकन् आरोप-प्रत्यारोप खनिन थाल्छ। पहिरन र चालढाललाई नै लिएर पनि उनको चरित्रबारे टिप्पणी गरिन्छ।

पहिरन केवल कपडाको टुक्रा नभई स्वतन्त्रता र सामाजिक रूपान्तरणको प्रतीक पनि हो। फेसनले ल्याएको महिला सशक्तीकरणको एउटा उदाहरण हुन सक्छ सन् १९८० का पछिल्ला वर्षमा पप क्विन म्याडोनाले आफ्ना गीतका भिडियोमा लगाएका लुगा। अमेरिकी पुरुषको ठूलो जमात वेश्यालयतिर धाउन थालेका भए पनि त्यस पेसाका महिलालाई समाजले स्विकारिसकेको अवस्था थिएन। म्याडोनाले समाजको त्यही पाखण्डीपनको धज्जी उडाउँदै वेश्यालयभित्र महिलाले लगाउने खालका लुगामा आफूलाई भिडियोहरूमा प्रस्तुत गरिन्। जसले विस्तारै देहव्यापारलाई सामान्यीकरण गर्न मद्दत पुगेको थियो। यसले देहव्यापारमा लागेका महिलाको अधिकारको मुद्दालाई सतहमा ल्याइदियो। साथै उनीहरूलाई सामाजिक रूपमा स्वीकार्य हुन ठूलो टेवा भयो।

हिजोआज हाम्रा सहरहरूमा छरितो पहिरनमा दौडिरहेका महिला प्रशस्तै देखिन्छन्। पहिरनसँग समाजको गति पनि जोडिएको हुन्छ। समाजको गतिसँगै महिलाको, शिक्षा, आत्मनिर्भरता र सशक्तीकरणको पाटो पनि जोडिएको हुन्छ। नेपाली महिला सामाजिक-सांस्कृतिक मान्यताले ठडाएको पर्खालमा लामै समय कैद थिए। आज पनि त्यो पर्खाल पूरै भत्केको छैन। तर कतिपय काम नलाग्दा मान्यताका साङ्ला चुँडाएर महिलाहरू स्वतन्त्रताको बाटोमा लम्किरहेका छन्। यस्तो अवस्थामा मिडियाजस्तो संवेदनशील निकाय महिलाका विषयमा बोल्दा या लेख्दा अलि गम्भीर हुन जरुरी छ।

- लामा निबन्धकार हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.