नमस्ते झरना जान रोक
इटहरी : तीन वर्षअघि मलेसिया गएका सुनसरीको इटहरीका विक्रम तामाङ हालै बिदामा घर आएका थिए। यही असार १४ गते फर्किने तयारीमा रहेका उनी शुक्रबार दिउँसो धनकुटाको साँगुरीगढीस्थित नमस्ते झरना पुगेका थिए। दिउँसो १ बजेतिर त्यहाँ पुगेका उनको टाउकोमा १० मिनेटमै ढुंगा वज्रियो।
एक छोरीका बुवा उनी पत्नी र आफन्तसहित घुम्न निस्किएका थिए। ढुंगा लागेर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर, त्यहाँ प्रतिष्ठान पु¥याउँदा–नपु¥याउँदै उनको मृत्यु भइसकेको थियो।
विक्रमका दाइ सुरेन्द्र तामाङले पर्यटकीय स्थलको सुरक्षा भरपर्दो नभएकोमा रोष प्रकट गरेका छन्। ‘त्यति धेरै पर्यटक पुग्ने ठाउँमा सुरक्षाको कुनै प्रबन्ध गरेको पाइएन’, उनले भने, ‘न बाटो व्यवस्थित छ न त झरना क्षेत्र नै।’
उनले भनेझैं झरना भएको ठाउँ निकै भिरालो र चिप्लो छ। साँघुरो बाटो भएर झरनासम्म आवतजावत गर्नुपर्छ। झरनामा पनि साँघुरो ठाउँ छ, जहाँ कति जना प्रवेश गर्ने भन्ने प्रावधान छैन। भीड भएका बेला टेक्ने ठाउँ पनि हुँदैन।
‘एक पटकमा कति मानिस जाने हो ? ’, उनले भने, ‘कोही बिरामी भयो, दुर्घटनामा प¥यो भने तुरुन्त उपचारका लागि केही व्यवस्थित योजना पाइएन। लोकप्रियता र प्रचार मात्र खोज्ने कि व्यवस्थित पनि बनाउने ? ’
धनकुटाको भेंडेटारभन्दा पाँच किलोमिटर उत्तरमा पर्ने नमस्ते झरनामा यो घटनापछि पर्यटकलाई रोक लगाइएको छ। झरना वरिपरि ढुंगा खस्न सक्ने ठाउँमा तारजाली लगाइने भएको छ। सर्वपक्षीय छलफलले शनिबार तारजालीको काम सुरु गर्ने निर्णय गरेको हो। तारजालीका लागि तीनदेखि चार साता लाग्ने भएकाले त्यतिन्जेल प्रवेशमा रोक लगाइएको झरना व्यवस्थापन समितिले जनाएको छ।
लोकप्रिय पर्यटकीय गन्तव्यका रूपमा उदाएको यो ठाउँमा विशेषगरी भारतीय पर्यटक अत्यधिक आउने गरेका छन्। झरना व्यवस्थापन समितिका अध्यक्ष दिलीप राई सदस्यसँग मिलेर आइतबार साँझसम्म भारतीय पर्यटकलाई सम्झाउँदै थिए। ‘आज मात्र १० हजारभन्दा बढी पर्यटक आए, तीमध्ये धेरै भारतीय थिए’, अध्यक्ष राईले भने, ‘उनीहरू सबै झरनातिर जान चाहन्थे तर हामीले मूलगेटमै रोकेपछि उनीहरू निराश बनेका थिए।’
झरनामा जान रोक लगाइएपछि प्रवेश शुल्क मात्र होइन, वरपरका व्यवसायीदेखि किसानसमेतको आम्दानीमा प्रभावित भएको छ। ‘आज ६० हजार रुपैयाँ उठ्थ्यो, वरपर १८ वटा पसल, होटलको कारोबार प्रभावित बन्दै छ’, उनले भने, ‘पर्यटकले स्थानीय कृषिजन्य वस्तु किन्थे, दैनिक झन्डै १ लाखको तरकारी बिक्थ्यो।’ झरनालाई २०७० सालदेखि विकास गर्न थालिएको थियो। सो क्रममा बाटो, चर्पी, रेलिङ, पुल बनाइएका छन्।