गोलाप्रथाबाट टुंग्याइयो सांसदको कार्यकाल

गोलाप्रथाबाट टुंग्याइयो सांसदको कार्यकाल

काठमाडौं : राष्ट्रियसभाका ५९ सदस्यको कार्यकाल गोलाप्रथाबाट टुंगो लगाइएको छ । राष्ट्रियसभा सदस्यको पदावधि २, ४ र ६ वर्षको हुने संवैधानिक व्यवस्थाअनुसार सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा गोलाप्रथाबाट सांसदको कार्यकालको अन्तिम टुंगो लगाइएको हो । अब २० जनाको छ वर्ष, २० जनाको चार वर्ष र १९ जना सदस्यको पदावधि दुई वर्ष भएको छ । सांसद आफैंले गोला तानेर आफ्नो कार्यकालको फैसला गरेका हुन् ।

६ वर्षको हुने राष्ट्रियसभामा पूरा कार्यकाल काम गर्न पाउनेमा रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, रामबहादुर थापा, गणेशप्रसाद तिमिल्सिना, खिमलाल भट्टराई, भैरवसुन्दर श्रेष्ठ र हरिराम चौधरी छन् । यस्तै बिना पोखरेल, प्रमिलाकुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटा, नन्दा चपाईं, इन्दु कडरिया, नरपति लोहार, सिंहबहादुर विश्वकर्मा, प्रकाश पन्थ, महेशकुमार महरा, रामचन्द्र राई र विमला राई पौडेलको पनि पदावधि ६ वर्ष कायम भएको छ ।

चार वर्ष कार्यकाल हुनेमा परशुराम मेघी गुरुङ, सुमनराज प्याकुरेल, राधेश्याम अधिकारी, दीनानाथ शर्मा, चन्द्रबहादुर खड्का, खगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, रामनारायण बिँडारी र नैनकला ओझा छन् । यस्तै शशिकला दाहाल, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल ओली, कविता बोगटी, तारादेवी भट्ट, खिमकुमार विक, चक्र स्नेही, रामलखन चमार, जीवन बुढा र अगम वान्तवा राई चार वर्षका लागि राष्ट्रियसभा सदस्य चयन भएका छन् ।

गोलाप्रथाबाटै दुई वर्षको कार्यकाल टुंगो लाग्ने राष्ट्रियसभा सदस्यमा हरिचरण शिवाकोटी, रमेशप्रसाद यादव, बलरामप्रसाद बाँस्कोटा, सुरेन्द्रराज पाण्डे, दुर्गाप्रसाद उपाध्याय, कालीबहादुर मल्ल र बद्रीप्रसाद पाण्डे छन् । यस्तै डा. युवराज खतिवडा, सरिता प्रसाईं, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले, मीना बुढा, युटोल तामाङ, कमलाकुमारी ओली, खेमराज नेपाली, रामप्रीत पासवान, राजकुमार कुँवर र वृषेशचन्द्र लालले अब दुई वर्ष मात्र राष्ट्रियसभा सदस्यका रूपमा काम गर्न पाउने टुंगो लागेको छ ।

राजपाका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका वृषेशचन्द्र लाल र रमेश यादवको कार्यकाल दुई वर्षको हुनेछ । फोरमबाट सांसद रहेकी प्रमिला यादव ६ वर्ष र रामप्रीत पासवान दुई वर्ष राष्ट्रियसभा सदस्य रहनेछन् ।

गोलाप्रथा गर्ने क्रममा पाँच समूहमा राष्ट्रियसभाका सदस्यलाई विभाजन गरिएको थियो । पहिलो समूहमा सातै प्रदेशका तीनतीन गरी गरी २१ महिला सदस्य, त्यसपछि सातै प्रदेशका एकएक गरी सात दलित सदस्य, सात अपांगता भएका वा अल्पसंख्यक समूहका सदस्यले गोलाप्रथामा भाग लिएका थिए । अन्तिममा सातै प्रदेशका तीनतीन गरी २१ खुला सदस्य र राष्ट्रपतिद्वारा मनोनीत तीन सदस्यले गोला तानेका थिए ।

खोल्न मिल्ने गोलाकार बलमा सेतो कागजमा रातो अक्षरले २ वर्ष, ४ वर्ष, ६ वर्ष लेखिएका चिठ्ठा पट्याएर राखिएको थियो । सांसदले गोला तानेपछि संघीय संसद्का महासचिवले बल तानेपछि महासचिवले खोलेर चिठ्ठा देखाएका थिए ।


कांग्रेसका चार सदस्यको कार्यकाल ६ वर्ष

राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल कांग्रेसका तर्फबाट १३ सांसद रहेकोमा ४ जनाले मात्र पूरा कार्यकाल काम गर्ने अवसर पाएका छन् । गोलाप्रथाअनुसार ७ जना सांसदको पदावधि दुई वर्ष भएको छ भने दुईजनाको कार्यकाल चार वर्षको हुनेछ ।

६ वर्ष कार्यकाल हुनेमा रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ छन् । यस्तै ४ वर्षका लागि राधेश्याम अधिकारी एवं तारादेवी भट्ट र २ वर्षको पदावधि हुनेमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, धनाकुमारी खतिवडा, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र बिन्दादेवी आले राना छन् । कांग्रेसका तर्फबाट राष्ट्रियसभामा दल नेता सुरेन्द्र पाण्डे र प्रमुख सचेतक सरिता प्रसाईं दुवैको कार्यकाल दुई वर्षको मात्र भएको छ । ‘गोलाप्रथाबाट भएको हो, अरूले जस्तै हामीले पनि गोला तान्दा यस्तो नतिजा आयो । यसलाई अन्यथा मान्ने कुरा आउँदैन’, प्रसाईंले भनिन् । सांसद बद्री पाण्डेले भने गोलाप्रथाले पनि कांग्रेसलाई साथ नदिएको टिप्पणी गरे ।


गृहमन्त्री ६ वर्ष, अर्थमन्त्री दुई वर्ष

राष्ट्रियसभामा सरकारका तर्फबाट मनोनीत तीनमध्ये दुई जना सरकारका मन्त्री छन् । गृहमन्त्री रामबहादुर थापा ६ वर्ष र अर्थमन्त्री डा. युवराज खतिवडा दुई वर्षका लागि सदस्य बन्नेछन् । अर्का मनोनीत सदस्य रामनारायण बिडाँरीको कार्यकाल चार वर्षको हुने भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल भने ६ वर्षको हुनेछ ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.