अन्नपूर्ण ब्याडमिन्टन : सामना र सेस्माको दोहोरो जित
वीरेन्द्रनगर : वीरेन्द्रनगरमा जारी अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन छनोट प्रतियोगितामा सोमबार ६ जना विजयी भएका छन् । सोमबार सम्पन्न तीनवटा फाइनल खेलबाट ६ जना काठमाडौंमा हुने प्रतियोगिताका लागि छनोट भएका हुन् ।
सोमबारको खेलमा सामना भट्टराईले दोहोरो जित निकालिन् । उनी १९ वर्षमुनिको समूह चरणमा र महिला एकल दुवै प्रतियोगितामा पहिलो भइन् । उनले १९ वर्षमुनि अग्रिमा भण्डारीलाई २१-१४, २४-२२ को सोझो सेटमा हराइन् । दोस्रो भएकी भण्डारी पनि छनोट भएकी छन् । यसैगरी सामनाले महिला एकल प्रतियोगितामा पनि जित हात पारिन् । उनले सुर्खेतकै सेस्मा श्रीपालीलाई २१-९ र २१-६ ले हराइन् । उपविजेता सेस्मा पनि काठमाडौंमा हुने प्रतियोगिताका लागि छनोट भएकी छन् ।
सोमबार नै भएको मिक्स युगलमा नगेन्द्र खत्री र सेस्मा श्रीपालीको जोडी पहिलो भयो । उनीहरूले सुर्खेतकै नगेन्द्रबहादुर थापा र पुष्पा शाहीको जोडीलाई २१-१७, २०-२२,२१-१७ ले हराए । उपविजेता पनि फाइनल चरणका लागि छनोट भए ।
प्रतियोगिताअन्तर्गत मंगलबार पुरुष एकल र युगलको फाइनल खेल हुने मुख्य प्रशिक्षक अजित भाटले बताए । प्रतियोगिताका विजेतालाई मेडल र सहभागी सबै खेलाडीलाई प्रमाणपत्र प्रदान गरिनेछ ।