डा. उपेन्द्रकी भान्छे भन्छिन् : मलाई 'आमा' भन्नुहुन्थ्यो
काठमाडौं : प्रख्यात न्युरो सर्जन प्राध्यापक डा. उपेन्द्र देवकोटाको निधनले चिकित्सा क्षेत्र गहिराे शाेकमा छ। पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका देवकोटाको साइनो राजनीतिक नेतृत्वसँग समेत उत्तिकै प्रगाढ थियो। सामाजिक सञ्जाल देवकोटालाई दिएका श्रद्धाञ्जलिले भरिएका छन्। सहकर्मी र जुनियर डाक्टरसँग मिलेर काम गर्न सक्ने देवकोटा घरभित्र पनि उत्तिकै समझदार थिए।
प्रदेश ३ की प्रमुख अनुराधा कोइराला डा. देवकोटा पेशाप्रति समर्पण र अनुशासन भएको व्यक्तित्वको रुपमा लिन्छिन्। देवकोटासँगै मन्त्रिमण्डलमा बसेर काम गरेकी कोइराला उनको समन्वय गर्नसक्ने क्षमताको प्रशंसा गर्छिन्।
‘उहाँलाई सम्झिदा सबैलाई आदर गर्ने ‘बोल्ड व्यक्तिको रुपमा लिन्छु। एक अर्कामा समन्वय गर्नसक्ने क्षमतालाई बिर्सनु हुँदैन’, कोइराला भन्छिन्, ‘उहाँमा भएको पेशाप्रतिको समर्पण र अनुशासनलाई सबैले अनुसरण गर्नुपर्छ।’ प्रदेश प्रमुख कोइराला डा. देवकोटा स्वास्थ्य र विज्ञान तथा प्रविधिमन्त्री हुँदा महिला बालबालिका तथा समाजकल्याण सहायक मन्त्री थिइन्। देवकोटा २०५९ असोज २५ लोकेन्द्रबहादुर चन्द नेतृत्वको नौ सदस्यीय मन्त्रिमण्डलको सदस्य थिए।
सोमबार निधन भएका देवकोटाको अन्तिम श्रद्धाञ्जलि मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म बाँसबारीस्थित न्युरो अस्पतालमा राखिएको थियो। दिउँसो ३ बजे देवकोटाको अन्तिम संस्कार पशुपति आर्यघाटमा गरिएको छ।
देवकोटा सहकर्मीसँग मात्र समझदार थिएनन्। घरभित्र परिवारका सदस्यसँग पनि उनी उत्तिकै समझदार थिए। त्यत्तिमात्र होइन सहयोगीलाई पनि उत्तिकै माया गर्थे। उनको घरमा सहयोगीको रुपमा लामो समय काम गर्दै आएकी कान्छी थापा देवकोटाको निधनले गहिरो शोकमा छिन्। देवकोटाको घरमा भान्छेको रुपमा करिब दुई दशक काम गरेकी थापा देवकोटाले आमा भन्ने गरेको र त्यही अनुसार व्यवहार गरेको सम्झिन्छिन्।
‘उहाँले घरभित्र बोलाउँदा 'आमा' भन्नुहुन्थ्यो। व्यवहार पनि त्यस्तै गर्नुहुन्थ्यो’, न्युरो अस्पताल परिसर बाँसबारीमा भावविह्वल अवस्थामा भेटिएकी थापाले भनिन्, ‘अहिले उहाँको अनुहार देख्दा रुनमात्र मन लाग्छ।’
पढ्नुहाेस्
- डा. उपेन्द्र देवकोटालाई देख्दा... (भिडियो)
- डा. उपेन्द्र देवकोटालाई जन्मघर लगियो
- जन्मघरको पिँढीमा डा. उपेन्द्र देवकोटा (फोटो र भिडियो)
- वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाको मृत्यु
- डाक्टर उपेन्द्र देवकोटाको निधन
- उपेन्द्र देवकोटाको काजक्रिया सात दिन
- उपेन्द्रका सहपाठी बाबुरामले स्कुलको फोटोसहित लेखे - प्रिय उपेन्द्र....