पार्टी एकता गर्न दुई राप्रपाबीच छलफल सुरु

पार्टी एकता गर्न दुई राप्रपाबीच छलफल सुरु

काठमाडौं : पार्टी एकताका लागि राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच औपचारिक छलफल सुरु भएको छ। दुवै पार्टीद्वारा गठित वार्ता समितिबीच मंगलबार पहिलो चरणमा छलफल भएको छ। बालुवाटारस्थित एउटा रेस्टुरेन्टमा दिउँसो करिब दुई घण्टा भएको छलफल सकारात्मक रहेको वार्तामा सहभागी दुवै पार्टीका नेताले जानकारी दिए।

राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष एवं वार्ता टोलीका संयोजक दीपक बोहोराले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए। ‘हामीबीच कुनै सैद्धान्तिक मतभेद छैन। तल्लो तहबाट पनि पार्टी एकता गर्न दबाब आइरहेको छ’, उनले भने, ‘प्रारम्भिक चरणको वार्ता भयो, सकारात्मक छ।’

राप्रपाका नेता एवं वार्ता समिति सदस्य टंक ढकालले पार्टी एकता गर्नुपर्नेमा सबै नेता एकमत रहे पनि एकताको आधार खोजी गर्ने गरी आगामी वार्तामा छलफल हुने जानकारी दिए। ‘पहिलो बैठक भएकाले सबै नेताले आआफ्नो धारणा राख्ने काम भयो’, वार्ता समिति सदस्य ढकालले भने, ‘आगामी बैठकमा पार्टी एकताको आधार के हो भन्नेमा छलफल केन्द्रित गर्ने सहमति भएको छ तर जसरी भए पनि पार्टी एकता हुनुपर्ने सबैको निष्कर्ष छ।’

आगामी साता दोस्रो चरणको वार्ता हुने र त्यसले एकताका आधार तयार पार्ने राप्रपा वार्ता कमिटी संयोजक बुद्धिमान तामाङले बताए। राप्रपाका तर्फबाट गठित वार्ता समितिमा उपाध्यक्ष बुद्धिमान तामाङ, राजेन्द्र लिङदेन र टंक ढकाल छन्। राप्रपा प्रजातान्त्रिकका तर्फबाट भने वरिष्ठ उपाध्यक्ष दीपक बोहोरा, उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री सुनील थापा र अर्का नेता ठाकुर शर्मा छन्।

२०७३ मंसिरमा पार्टी एकता गरी फागुनमा एकता महाधिवेशन गरेका दुई दल राप्रपा र राप्रपा प्रजातान्त्रिक प्रदेश र संघीय निर्वाचनको संघारमा विभाजित भएका थिए। निर्वाचनमा लज्जास्पद हार बेहोरेका दुवै दलले पार्टी विभाजनलाई पराजयको प्रमुख कारण भएको निष्कर्ष निकाल्दै एकतामा जोड दिँदै आएका छन्।

पञ्चायती व्यवस्था अन्त्यसँगै पूर्वपञ्च मिलेर राष्ट्रिय प्रजातन्त्र पार्टी गठन प्रक्रिया सुरु भएको थियो। सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर राणा, राजेश्वर देवकोटा, कमल थापालगायत पञ्चायती पृष्ठभूमिका नेता राप्रपा गठनमा जुटेका थिए। २०४७ जेठ १५ गते राप्रपा स्थापना भयो र पार्टी स्थापना भएकै दिन विभाजित पनि भयो। छुट्टाछुट्टै दुई समूहले राप्रपा स्थापनाको घोषणा गरे। स्थापनाकै दिन चन्द र राप्रपा थापा गरी राप्रपा दुई समूहमा विभाजित भयो।

२०४८ सालमा एकीकृत भएको राप्रपाले २०५१ सालको मध्यावधि निर्वाचनमा १९ सिट जित्यो। पार्टीका नेताद्वय सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने। २०५४ सालमा फेरि विभाजित भयो। विभाजनसँगै २०५६ सालको आम निर्वाचनमा थापा समूहले ११ सिट जित्यो। चन्द पक्षले भने एउटै सिट नजितेपछि सोही वर्ष राप्रपा एकीकरण भएको थियो। तर एकताप्रति असन्तुष्टि जनाउँदै नेता राजेश्वर देवकोटाले राप्रपा राष्ट्रवादी गठन गरे।

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका बेला २०६२ सालमा कमल थापाले पार्टी विभाजन गर्दै राप्रपा नेपाल गठन गरे, जुन राप्रपाको तेस्रो फुट थियो। लगत्तै राप्रपाभित्र पनि सूर्यबहादुर थापा र पशुपतिशमशेर राणाबीच असन्तुष्टि बढ्दै जाँदा थापाले नयाँ पार्टी गठन गरे, राष्ट्रिय जनशक्ति पार्टी। २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा तीनै दलले नराम्ररी पराजय भोगेपछि फेरि एकीकरण अभ्यास सुरु भयो र २०७० सालमा राप्रपा र राजपाबीच एकीकरण भयो।

२०७३ मंसिरमा राप्रपा र राप्रपा नेपालबीच एकीकरण भयो। तर सरकारमा सहभागिताको विषयमा अघिल्लो वर्ष साउनमा अध्यक्ष कमल थापा र वरिष्ठ नेता राणाबीच विवाद बढ्दै गएपछि राणाले राप्रपा प्रजातान्त्रिक गठन गरे। अर्का नेता डा.प्रकाशचन्द्र लोहनीले एकीकृत राप्रपा राष्ट्रवादी गठन गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.