कति गम्भीर हो नेमारको चोट ? फर्केलान् मैदानमा ?
काठमाडौँ: रसियामा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत कोस्टारिका विरुद्ध शुक्रबार हु्ने खेलका लागि अभ्यासका पीडा महसुस गरेपछि ब्राजिलका सुपर स्टार नेमार खुट्टा खोच्याउँदै मैदानबाट बाहिरिए । मंगलबारको अभ्यासका क्रममा दायाँ खुट्टाको गोली गाँठोमा पीडा महसुस गरेपछि नेइमार खोच्याउँदै प्रशिक्षण मैदानबाट बाहिरिएका थिए ।
ब्राजिलियन टोलीका प्रवक्ता भिनिकिउस रोड्रिग्वेजले नेमारले प्रशिक्षणका क्रममा पीडा महसुस गरेपछि तत्कालै प्रशिक्षणबाट बाहिर निकालिएर फिजियोको निगरानीमा राखिएको बताए । गोलीगाँठोको चोटका कारण उनी सोचीमा ब्राजिलियन टिमले गरिरहेकको बुधबारको प्रशिक्षणमा सहभागी हुन सकेनन् । ब्राजिलले यो शुक्रबार समूह ई को आफ्नो दोस्रो खेलमा कोस्टारिकासँग खेल्दैछ ।
पेरिस सेन्ट जर्मेनबाट खेल्ने क्रममा खुट्टो भाँचिएपछि नेमार तीन महिना मैदान बाहिर थिए । उनले विश्वकपको अभ्यास खेलमा क्रोएसियाविरुद्ध पुनरागमन गरेका थिए । त्यसपछि विश्वकपको समूह चरणको पहिलो खलेमा नेमारले स्विटजरल्यान्डविरुद्ध प्रतिस्पर्धा गरेका थिए । तर १-१ गोलको बरारबरीमा सकिएको खेलमा उनी गोल गर्न असफल भएका थिए ।
त्यही खेलका क्रममा विपक्षी खेलाडीको ट्याकलबाट नेमारको गोलीगाँठोमा चोट लागेको थियो । उनको दायाँ गोलीगाँठोको उपचार ब्राजिलियन टोलीका चिकित्सकहरुले रुसको सोचीमा गरिरहेका छन् ।
मंगलबार प्रशिक्षणका क्रममा खुट्टा खोच्याउँदै बाहिरिएका नेमारबारे उनका सहयात्री फिलिपे कोटिन्होले सञ्चारकर्मीहरुसँग बोलेका छन् । उनले नेमार शुक्रबार कोस्टारिकाविरुद्ध हुने खेलमा मैदान फर्किने कुरामा आफू ढुक्क रहेको बताएका छन् ।
'आत्तिनुपर्ने त्यस्तो केही छैन', उनले भनेका छन्, 'नेमार कोस्टारिकाविरुद्धको खेलमा मैदानमा हुनेछन् ।' कोटिन्होले नेमार प्रशिक्षणमा नबसेको बताउँदै तर सबै कुरा साधरण रहेको पनि स्पष्टिकरण दिए ।
कोटिन्होले स्विटजरल्यान्डविरुद्ध ब्राजिलका लागि सुरुवाती तथा उत्कृष्ट गोल गरेका थिए । 'जब नेमार मैदानमा ओर्लिन्छन् तब उनलाई विपक्षीले घेरेर आक्रमणको कोशिश गर्छन्', उनले भनेका छन्, 'तर नेमार दिन दिनै अझ मजबुत भइरहेका छन् ।'
नेरलाई अहिले टिमका फिजियोले हेरिरहेका छन् । उनी एक दिनपछि प्रशिक्षणमा फर्किने छन् । गत फेब्रुअरीमा पेरिस सेन्ट जर्मेनबाट खेल्ने क्रममा नेमारको दायाँ खुट्टा भाँच्चिएको थियो ।