ब्राजिलले विश्वकप जित्ने दाबी, कसको कति सम्भावना ?
एजेन्सी/न्युयोर्कः ६ दिनपछि रुसमा विश्वकप फुटबलको २१औं संस्करण सुरु हुँदै छ । यद्यपि संसारभरका फुटबलप्रेमीबीच आगामी विश्वकपको उपाधि कसले जित्ला भन्ने विषयमा तर्कवितर्क निकै अघिदेखि सुरु भइसकेको छ ।
विश्वभरका फुटबलप्रेमी आआफ्नो रोजाइको टोलीको जर्सी लगाएर हिँड्न सुरु गरेको पनि लामै समय बितिसकेको छ । समग्रमा भन्नुपर्दा संसारभरिका खेलकुदप्रेमीलाई यतिबेला विश्वकपको ज्वरोले मज्जैले तताएको छ ।
यसै क्रममा खेलकुद र मनोरञ्जनको क्षेत्रमा सक्रिय एक चर्चित अमेरिकी संस्था ‘ग्रासनोट’ले आगामी विश्वकपमा सहभागी टोलीहरूको विभिन्न पक्षको विश्लेषणपछि आफूले गरेको एउटा अध्ययनको नतिजा सार्वजनिक गरेको छ ।
उक्त संस्थाको विश्लेषणलाई पत्याउने हो भने रूसमा आयोजना हुने विश्वकप फुटबलको उपाधि ब्राजिलले जित्नेछ । उक्त संस्थाले गरेको विश्लेषणको नतिजा छ, विश्वकपको फाइनलमा ब्राजिल र स्पेन भिड्नेछन् । तर उपाधि भिडन्तमा ब्राजिलले स्पेनलाई हराउँदै छैटौं पटक उपाधि चुम्नेछ ।
आगामी विश्वकपमा सहभागी ३२ वटै टोलीको यसअघिको प्रदर्शन, विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको वरीयता, विभिन्न टोलीमा सहभागी खेलाडीको क्षमता, फुटबल विश्लेषकको धारणाजस्ता विषयलाई आधार बनाएर यस्तो निष्कर्ष निकालिएको ‘ग्रेसनोट’को दाबी छ ।
उक्त संस्थाले यसअघि पनि विश्वकपलगायत विभिन्न ठूला प्रतियोगिताको विश्लेषण र पूर्वानुमान गरेको थियो, जुन धेरै हदसम्म मिल्दै पनि आएको छ ।
आगामी विश्वकपको विश्लेषणका लागि ‘इलो प्रविधि’लाई प्रयोगमा ल्याइएको सो संस्थाले जनाएको छ । यो प्रविधि खासगरी बुद्धिचाल खेलाडीको वास्तविक क्षमता पत्ता लगाउन प्रयोग गरिन्छ । अमेरिकी बेसबल टोलीको क्षमता र वरीयता निर्धारण गर्न पनि यो प्रविधि प्रयोग गरिन्छ । रुस विश्वकपको विश्लेषण गर्ने संस्थाका सिमोन ग्लेभका अनुसार ब्राजिलले छैटौं पटक विश्वकप जित्ने सम्भावना २१ प्रतिशतभन्दा बढी देखिएको छ ।
ब्राजिलपछि स्पेन, जर्मनी र अर्जेन्टिनाको सम्भावना देखिएको छ । स्पेनको सम्भावना १० प्रतिशत देखिएको छ भने जर्मनी र अर्जेन्टिनाको सम्भावना आठ÷आठ प्रतिशत देखिएको छ । ‘ब्राजिल र स्पेनको सम्भावना बलियो देखिएको छ । तर फाइनलमा ब्राजिलले स्पेनलाई हराउनेछ’, अन्तर्राष्ट्रिय समाचार संस्था एपीसँगको कुराकानीमा ग्लेभनले भनेका छन् ।
उक्त संस्थाका अनुसार, समूह ‘ए’ बाट उरुग्वे (७७ प्रतिशत सम्भावना) विजेता र रुस (६० प्रतिशत) उपविजेता, समूह ‘बी’बाट स्पेन (७६ प्रतिशत) विजेता र पोर्चुगल (५८ प्रतिशत) उपविजेता, समूह ‘सी’बाट फ्रान्स (६९ प्रतिशत) विजेता र पेरु (६८ प्रतिशत) उपविजेता, समूह ‘डी’बाट अर्जेन्टिना (८२ प्रतिशत) विजेता र क्रोएसिया (५७ प्रतिशत) उपविजेता, समूह ‘ई’बाट ब्राजिल (९० प्रतिशत) विजेता र स्विट्जरल्यान्ड (५१ प्रतिशत) उपविजेता, समूह ‘एफ’बाट जर्मनी (७९ प्रतिशत) विजेता र मेक्सिको (६० प्रतिशत) उपविजेता, समूह ‘जी’बाट इङ्ल्यान्ड (७१ प्रतिशत) विजेता र बेल्जियम (७१ प्रतिशत) उपविजेता तथा समूह ‘एच’बाट कोलम्बिया (७७ प्रतिशत) विजेता र पोल्यान्ड (५० प्रतिशत) उपविजेताका रूपमा प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्नेछन् ।
ब्राजिल, स्पेन, जर्मनी र अर्जेन्टिना प्रतियोगिताको सेमिफाइनलमा पुग्ने संस्थाको दाबी छ । सेमिफाइनलमा ब्रजिलले अर्जेन्टिनालाई र स्पेनले जर्मनीलाई हराउनेछ । समूह ‘ए’बाट इजिप्टको ३६ र साउदी अरेबियाको २७ प्रतिशत दोस्रो चरणमा पुग्ने सम्भावना देखाइएको छ । यसैगरी समूह ‘बी’बाट इरानको ३५ र मोरक्कोको ३०, समूह ‘सी’बाट डेनमार्कको ३५ र अस्ट्रेलियाको २७, समूह ‘डी’बाट आइसल्यान्डको ३५ र नाइजेरियाको २७, ‘ई’बाट कोस्टा रिकाको ३१ र सर्बियाको २८, समूह ‘एफ’बाट स्विडेनको ३४ र दक्षिण कोरियाको २७, समूह ‘जी’बाट ट्युनिसियाको ३२ र पानामाकोे २६ तथा समूह ‘एच’बाट सेनेगलको ४५ र जापानको २९ प्रतिशत दोस्रो चरणमा पुग्ने सम्भावना देखाइएको छ ।
यसैगरी इङ्ल्यान्ड, पोर्चुगल र बेल्जियमको विश्वकप जित्ने सम्भावना केवल चार प्रतिशत देखाइएको छ भने कोलम्बिया र पेरुको पाँच प्रतिशत सम्भावना देखाइएको छ । फ्रान्सले विश्वकप जित्ने सम्भावना भने ६ प्रतिशत देखाइएको छ ।
विश्वकपको २०औं संस्करणसम्म केवल आठ राष्ट्रले विश्वकपको उपाधि जित्न सकेका छन् । आगामी विश्वकपमा पनि नयाँ टोलीले उपाधि जित्ने सम्भावना केवल चार प्रतिशत मात्र रहेको देखाइएको छ ।
विश्वकप जित्ने कसको कति सम्भावना ?
विश्वकप जित्ने कसको कति सम्भावना ?
ब्राजिल : २१ प्रतिशत
स्पेन : १० प्रतिशत
जर्मनी : ८ प्रतिशत
अर्जेन्टिना : ८ प्रतिशत
फ्रान्स : ६ प्रतिशत
कोलम्बिया : ५ प्रतिशत
पेरु : ५ प्रतिशत
इङ्ल्यान्ड : ४ प्रतिशत
बेल्जियम : ४ प्रतिशत
पोर्चुगल : ४ प्रतिशत
सेमिफाइनलदेखि अनुमान
(१) ब्राजिल, स्पेन, जर्मनी र अर्जेन्टिना सेमिफाइनलमा पुग्ने ।
(२) सेमिफाइनलमा ब्राजिलले अर्जेन्टिनालाई हराउने ।
(३) अर्को सेमिफाइनलमा स्पेनले जर्मनीलाई हराउने ।
(४) फाइनलमा ब्राजिलले स्पेनलाई हराउने ।
दोस्रो चरण पुग्ने अनुमान (प्रतिशतमा)
समूह ‘ए’ : उरुग्वे (७७), रुस (६०), इजिप्ट (३६) र साउदी अरेबिया (२७) ।
समूह ‘बी’ : स्पेन (७६), पोर्चुगल (५८, इरान (३५ र मोरक्को (३०) ।
समूह ‘सी’ : फ्रान्स (६९, पेरु (६८, डेनमार्क (३५) र अस्ट्रेलिया (२७) ।
समूह ‘डी’ : अर्जेन्टिना (८२), क्रोएसिया (५७), आइसल्यान्ड (३५) र नाइजेरिया (२७) ।
समूह ‘ई’ : ब्राजिल (९०), स्विट्जरल्यान्ड (५१), सर्बिया (३१) र कोस्टा रिका (२८) ।
समूह ‘एफ’ : जर्मनी (७९, मेक्सिको (६०, स्विडेन (३४) र दक्षिण कोरिया (२७) ।
समूह ‘जी’ : इङ्ल्यान्ड (७१), बेल्जियम (७१), ट्युनिसिया (३२) र पानामा (२६) ।
समूह ‘एच’ : कोलम्बिया (७७), पोल्यान्ड (५०), सेनेगल (४५) र जापान (२९) ।
प्रतिक्रिया दिनुहोस !