आफ्नो भाषा र लिपी सिक्दै अल्पसंख्यक लेप्चा युवा
इलाम : अल्पसंख्यक लेप्चाको भाषा लिपी प्रयोग घट्दै गएको अवस्थामा इलामको सुर्योदय नगरपालिका – ८ कजेनीका युवो लेप्चा लिपी सिक्न व्यस्त छन् । युवा पुस्तालाई आफ्नो भाषा र लिपीकोबारेमा चासो जगाउन अढाई महिने भाषा कक्षा सञ्चालन गरेको लेप्चा उत्थान मञ्चकी उपाध्यक्ष रोजी लेप्चाले बताएकी छन् ।
अन्तरजातीय विवाह, पश्चिमा संस्कृतिको प्रभावलगायतका कारण लेप्चा युवा युवती भाषा र लिपी प्रयोग गर्न छोडेको अवस्थामा कजेनीका ३२ युवाले भाषा प्रशिक्षण लिइरहेको उपाध्यक्ष रोजीले बताइन् । इलामको सुर्योदय नगरपालिका , इलाम नगरपालिका, रोङ गाउँपालिका र माइजोगमाई गाउँ पालिकामा करिव ३६ सयको हाराहारीमा बसोवास गर्ने लेप्चा युवाको भाषा लिपीको संरक्षणका लागि नगरपालिकाको वडा कार्यालयको सहयोगमा भाषा पाठशाला सुरु गरेको सहभागी यादवकुमार लेप्चाले बताए ।
उनले भने,‘आफ्नो भाषा लिपीमा नाम लेख्ने भएका छौं,’ उनले लेप्चा भाषामा कुरा गरेपनि लेख्न नजान्नेहरुका लागि भाषा पाठशाला उपयोगी भएको सहभागीहरुले बताएका छन् ।
पछिल्लो समयमा लेप्चाको विरासत रक्षाका लागि विभिन्न प्रयास भइरहेका छन् । हालै इलामका ‘लेप्चा जाति र स्थान नाम’ नामक पुस्तक प्रा.डा.नोबलकिशोर राई र डा.नेत्रमणी दुमी राईले प्रकाशनमा ल्याएका छन् । पुस्तकमा लेप्चाको ऐतिहासिक थाकथलो, नेपाल प्रवेश, उनीहरुको संस्कार संस्कृति पहिचानदेखि लेप्चा भाषामा राखिएका स्थानको सूचीपनि समाबेस गरिएको छ ।
पुस्तकमा लाप्चा जातिको जीवन शैली, संस्कार संस्कृति, सामाजिक संरचना, वंशको उत्पति बसोबासदेखि स्थान नाम समेत समावेस गरिएको छ । पुस्तकमा प्रकृतिप्रेमी लेप्चा समुदायले आफ्नो उद्गमस्थल इलाम जिल्ला र त्यी क्षेत्र अन्तरगतका ऐतिहासिक स्थलहरु, नदिनाला, तालतलैया, खोला खोल्सी, भीरपहरा, वनजंगल, आदिको नाम लाप्चा भाषाबाट राखेको पाइएको उल्लेख छ ।
कुनै समय नेपाल, भुटान, सिक्किम र दार्जिलिङमा लेप्चाको सघन बसोबास थियो । मालाय ल्याङ भनिने सो क्षेत्रलाई लाप्चाको देश पनि भनिने गरेको प्रा.डा.राजेन्द्रकुमार रोंगोंगले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘इतिहासको क्रममा तिब्बती आक्रमण, नेपाल एकीकरण तथा अंग्रेजहरुको साम्राज्य विस्तारकाकारण मायाल ल्याङको अस्तित्व नै मेटियो।’
देश ठानिएको एउटा भुगोल नेपाल र भारतको राजनीतिक सिमानामा विभाजित भएपनि लेप्चा समुदाय भने सधै उही एकताको शुत्रमा रहेको पुस्तकमा उल्लेख छ । सामाजिक र आर्थिक कारणलेपछि पारिएका लेप्चा समुदायको लेख्य परम्परा कमजोर छ । उनीहरुको बारेमा अहिलेसम्म कथ्य रुपमानै कुराहरु आउने गरेका छन् ।
इलामबाहेक झापा, पाँचथर र ताप्लेजुङमा पनि बसोबास गर्ने गरेका छन् । इलामको पर्यटकीय स्थल अन्तुडाँडा अथु कोङ (लग्लो डाँडा) बाट अन्तु डाँडा भएको पुस्तकमा उल्लेख छ । यस्तै इलाम,कन्याम, करफोक, नाम्सालिङ, फिक्कलदेखि नेपाल शब्दसमेत लाप्चा भाषाबाट नै राखिएको उल्लेख छ । भाषा र लिपीको रक्षाकालागि संस्थागतरुपमा प्रयास जारी रहेको उपाध्यक्ष लाप्चाले जानकारी दिइन् ।